व्यास नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले चुस्तदुरुस्त काम गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सुझाव दिएका छन । व्यास नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको संयोजनमा नगरपालिकाको आर्थिक बर्ष २०७८/२०७९ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीहरुले नगरको योजना बाडँफाड, कार्यावन्यन, विविध शाखाको कार्य सम्पादन र कामका बारेमा सुझाव दिएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सचिव श्रीराम कार्कीले फोहरमैला व्यवस्थापन, घाट र शव बहानको व्यवस्थापनमा जनप्रतिनिधिको ध्यान जान सकेको बताए । त्यस्तै गरी तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले उद्योग, व्यापार व्यवसाय र पर्यटन प्रवर्द्धनका क्षेत्रमा न्युन योजनाहरु ल्याइएको बताउदै समृद्ध नगरको लागि दीर्घकालिन योजना आवश्यक रहेको सुझाव राखेका थिए ।

प्रश्नको जवाफ दिदै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले आफ्नो कार्यकाल सकिन भन्दा पहिल्यै फोहरमैलाको स्थायी व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । फोहोरमैला व्यवस्थापनको लागि व्यास-५ स्थित रानीपानी वन क्षेत्रमा जग्गा हेर्ने, वातावरणीय प्रभाव मुल्यांकन गर्ने लगायतका कार्य अघि बढाइ सकिएकाले छिट्टै समस्या समाधान हुने न्यौपानेले बताए । त्यस्तै घाट व्यवस्थापनको लागि अघिल्लो आर्थिक वर्षा २५ लाख बजेट व्यवस्थापन गरिएको र यस आर्थिक वर्ष पनि बजेट छुटाइएको उनले जानकारी दिए ।

कार्यक्रममा व्यास-६ का कृषक नवराज न्यौपानेले कृषि अनुदान विवरण न्यायोचित नभएको, ग्रामीण वडाहरुमा बिकासको अनुभूति गर्न नपाइएको लगायतका गुनासो गरेका थिए । उनको गुनासो सम्बोधन गर्दै नगरप्रमुख न्यौपानेले भने ‘सबै वडाको आम्दानी जस्तो सुकै भएपनि वडाहरुमा समानुपातिक ढंगले बजेट बिनियोजन गरिएको छ । तपाइहरु ग्रामीण वडा बिकास भएनन् भन्नुहुन्छ हामीले अझै धेरै योजना त गाउँलाई नै लक्षित गरी ल्याएका छौँ’ ।

कार्यक्रममा बैदेशिक रोजगारबाट फर्केका युवाहरुको सीप प्रवर्द्धन तथा परिचालन, शुन्य पोलिथिन अभियान, नगर क्षेत्रको सडकको अवस्था, घर निर्माण गर्दाको मापदण्डमा एकरुपता नभएको, नाली व्यवस्थापन लगायतका जिज्ञासा राखेका थिए।

कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नगरपालिकाले सम्पादन गरेका काम प्रति नागरिकको सन्तृष्टि वा असन्तुष्टि बुझन तथा कार्यसम्पादन प्रति नागरिकको सुझाव र गुनासो सुन्न नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको बताए ।

पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारीले कार्यक्रममा १४ वटै वडामा नागरिक मत सर्वेक्षणबाट प्राप्त अभिमत राखेका थिए । कार्यक्रममा महासंघको कोषाध्यक्ष बिमला कंडेलले अचारसंहिता प्रस्तुत गरेकी थिइन भने कार्यक्रम सहजीकरण सचिव प्रताप रानाले गरेका थिए । कार्यक्रममा नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख र नगरकालिकाको १४ वटै वडाका वडाध्यक्षहरु जवाफदेहीका रुपमा रहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker