भोट माग्दै खेतबारीमा पुगेका उम्मेदवारलाई मतदाताले भने : “अब भोट हाल्दा विचार गर्र्छौ”
भञ्ज्याङ समाचारदाता/तनहुँ
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएको छ । जाँडोका कारण चिसिदै गएको मौसमलाई चुनावी गतिविधिले तताउँदै पनि लगेको छ। मंसिर ४ गते हुने निर्वाचनको अन्तिम तयारीमा निर्वाचन कार्यालय जुटेको छ भने उम्मेदवारहरु भोट माग्न र मतदाताहरु पाकेको खेती थन्काउन व्यस्थ भएका छन् ।
निर्वाचनका लागि तनहुँमा आवश्यक कर्मचारी नियुक्ति पश्चात तालिम सम्पन्न गरी निर्वाचन सामग्री बुझाउने तयारीमा जिल्ला निर्वाचन कार्यालय लागि परेको छ । यता उम्मेदवारहरु मतदाताको घरदैलोमा भोट माग्न पुगेका छन् । निर्वाचन आयोगले आचारसंहितालाई कडाइ गरेपश्चात उम्मेदवारहरु तडकभडक नगरिकन मतदाताको घरदैलो तथा खेतबारीमा पुगेर आ-आफ्ना चुनावी प्रतिवद्धता जानकारी गराउँदै भोट माग्न व्यस्थ छन् ।
पाकेको खेती थन्काउने चटारोमा रहेका कृषकको खेतमै पुगेका उम्मेदवारलाई कृषकहरुले जनतालाई भ्रममा नपार्ने, देशका लागि राम्रो काम गर्ने उम्मेदवार पहिचान गरी भोट दिने बताउन थालेका छन् । तनहुँको व्यास नगरपालिका-५, रानीटारका कृषक बिस्मिल्ला मियाँ भन्छन्, ‘नेताहरुले जनतालाई धेरै भ्रममा पारे, देका लागि राम्रो काम गरेनन् ।
अब हामी पनि सचेत भएका छौं । राम्रा उम्मेदवार छानेर भोट हाल्छौं ।’ ‘बुढा होइन अब युवालाई अवसर दिनुपर्छ’, कृषक मियाँ भन्छन्, ‘नयाँ सोच, भिजन भएको, युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने अनि हाम्रा आधारभूत आवश्यकतालाई सहज बनाउने उम्मेदवार खोजिरहेका छौं ।’
यस्तै, खेतमा धानको कुन्यो लगाउँदै गरेका म्याग्दे गाउँपालिका-७ पवरका गोवर्धन काफ्ले पनि युवा र सक्षम उम्मेदवारको खोजीमा रहेको बताउँछन् । उनले भने, ‘भोट माग्दै धेरै उम्मेदवारहरु हाम्रो घर तथा खेतबारीमा आइपुग्नु भएको छ । सबैलाई हुन्छ त भनेका छौं । तर, हामी अहिले भोट हाल्न भने सोचविचार गर्र्छौ ।’
‘आधारभूत आवश्यकतालाई सहज रुपमा उपभोग गर्ने वातावरण बनाइदिने, उत्पादित कृषि उपजको उचित मूल्य र बजारीकरणको व्यवस्था मिलाउने प्रतिवद्धता जनाउने उम्मेदवारलाई मात्र भोट दिने हो’, काफ्लेले भने, ‘चुनावका बेला घरआँगनमा आएर लोभलाग्दा आश्वासन बाढेर जितेर जाने तर जितेपछि फर्किएर गाउँ नआउने नेता हामीलाई चाहिएको छैन् । हामीले जिताएका नेता हाम्रो आवश्यकाता र समस्यासंग हातेमालो गर्ने खालको हुनुपर्छ ।’
तनहुँका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा अहिले उम्मेदवारहरु आ-आफ्नो पक्षमा भोट माग्दै घरदैलो अभियान तथा चुनावी सभालाई तीब्र बनाएका छन् । २ प्रतिनिधिसभा सदस्य पदका लागि ४ जना स्वतन्त्र र विभिन्न राजनीतिक दलका गरी १५ जना चुनावी मैदानमा उत्रिएका छन् ।
तनहुँ-१ को प्रदेश १ मा २ जना स्वतन्त्र गरी ११ जना, प्रदेश २ मा ७ जना उम्मेदवार छन् । तनहुँ-२ को प्रदेश १ मा ८ जना र प्रदेश २ मा ६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभाका उम्मेदवारहरु पनि अहिले मतदाताको घरदैलो र खेतबारीमै पुगेर चुनावी घोषणापत्र र प्रतिवद्धता सहित आ-आफ्नो पक्षमा भोट माग्न व्यस्थ छन् ।
यस्तै, तनहुँमा २ लाख ४८ हजार चार सय ९५ मतदाता छन् । स्थानीय तह निर्वाचनपछि तनहुँमा ४ हजार १५५ मतदाता थपिएका छन् । तनहुँ क्षेत्र नं. १ तर्फ १ लाख २३ हजार ४९० र क्षेत्र नं. २ तर्फ १ लाख २५ हजार ५ मतदाता छन् । तनहुँ क्षेत्र नं. १ प्रदेशसभा १ मा ६७ हजार १४४ र प्रदेशसभा २ मा ५६ हजार ३४६ मतदाता छन् । क्षेत्र नं. २ प्रदेश १ मा ६७ हजार ३२ र प्रदेश २ मा ५७ हजार ९७३ मतदाता छन् ।
यी निर्वाचन क्षेत्र र मतदाताको घर दैलोमा अहिले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु पनि पुगेका छन् । उम्मेदवारहरुले बिगतमा आफुले गरेका काम, पुरा गर्न नसकेका योजना तथा जनताका मागलाई पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै, उम्मेदवारहरुले जिल्लाको विकास निर्माणसंगै, आर्थिक, सामाजिक क्षेत्रको विकास, पर्यटन तथा कृषि क्षेत्रलाई विशेष रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
यस्तै, निर्वाचन सम्पन्न गर्नका लागि तनहुँ क्षेत्र नम्बर १ मा ३०४ र क्षेत्र नम्बर २ मा ३०६ जना मतदान र सहायक मतदान अधिकृत खट्टएिका छन् । निर्वाचनका लागि ३ हजार ३६० कर्मचारी खट्टनिुका साथै सम्बन्धित मतदान केन्द्रमा एक हजार २२० जना स्वयंसेवक नियुक्त गरिने भएको छ ।
मतदान अधिकृतहरुलाई कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे तालिम प्रदान गरिएको छ । मंसिर १ गते सबै मतदान केन्द्रमा कर्मचारी पुग्ने गरी कात्तिक २९ गतेबाट मतदान अधिकृतलाई निर्वाचन सामाग्री उपलब्ध गराइने मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ । निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा ६१ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हर्रि्रसाद ढकालले बताए ।
तनहुँमा निर्वाचन लक्षित सुरक्षा व्यवस्था पनि कडा बनाउँदै लगिएको छ । १४२ वटा मतदान स्थललाई तीन वर्गमा वर्गीकरण गरी आवश्यक सुरक्षा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुद बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन उनले आग्रह गरे ।
‘मतदान केन्द्रमा सुरक्षाको अवस्था मजबुद बनाइएको छ, सुरक्षामा कुनै कसर बाँकी राखिँदैन’, उनले भने, ‘ढुक्क भएर निष्पक्षरुपमा जिम्मेवारी बहन गर्नेतर्फ ध्यान दिनुहोला । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यरुपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको छ ।’
प्रजिअ अर्यालका अनुसार तनहुँका ६ वटा मतदान स्थल अतिसंवेदनशिल, ५२ वटा मतदान स्थल संवेदनशिल र ८४ वटा मतदान स्थललाई सामान्यमा वर्गीकरण गरिएको छ । निर्वाचनका लागि ३३३ जना सशस्त्र प्रहरी, ४८६ जना नेपाली सेना, ७७८ जना नेपाल प्रहरी र १ हजार ३९२ जना म्यादी प्रहरी खटाइएको छ ।










