म्याग्दे गाउँपालिकाको थर्पुमा १० शय्याको अस्पताल निर्माण, स्वास्थ्यमन्त्री पौडेलद्वारा उद्घाटन

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकामा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने संघ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका–४ थर्पुमा निर्माण गरिएको भवनको मन्त्री पौडेलले उद्घाटन गर्दै सबै नागरिकलाई सहज रुपमा स्वास्थ्य पहुँच पु¥याउन सरकार कटिबद्ध रहेको बताए ।
अस्पताल भवन उद्घाटन कार्यक्रममा पूर्वप्रतिनिधिसभा सदस्य केदार सिग्देल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायतले समेत आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार अस्पतालमा एक जना करारमा डा नियुक्त गरिएको छ । त्यस्तै दुई जना ल्यावमा कर्मचारी नियुक्त गरिसकिएको छ ।
सात करोड ३४ लाख ५० हजार १९६ रुपैयाँको लागतमा भवन निर्माण गरिएको छ । भवन निर्माणका लागि विसं २०७८ जेठ २ गते ऋषि शक्ति होम निर्माण जेभीसँग सम्झौता भएको थियो ।
उक्त भवन विसं २०८० जेठ १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेपनि विविध कारणले काममा ढिलाइ भएको अधिकारीले बताए।










