हाटबजार संचालन गर्दै शुक्लागण्डकी नगरपालिका
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा समस्या देखिएपछि शुक्लागण्डकी नगरपालिकाले हाटबजार संचालन गर्ने भएको छ । स्थानीय वडा तथा टोलवासीहरुसंगको समन्वयमा संचालन गर्ने नगरपालिकाले हाटबजार व्यवस्थापनको कार्य अगाडी बढाएको छ । कृषकलाई लगानी उठाउन पनि धौ धौँ हुने तर बिचौलियाले मनग्य फाइदा लिने गरेको पाइएपछि नगरपालिकाले उत्पादित बस्तु विक्री तथा वितरण गर्ने उद्धेश्यले १२ वटै वडामा हाटबजार संचालन गर्ने अवधारणा ल्याएको हो ।
पहिलो चरणमा वडा नं. ३, ४ र ५ लाई समेटने गरी वडा नं. ३ को सन्तेडाँडामा हाटबजार संचालन गर्न भवन निर्माणको कार्य अगाडी बढाइएको छ । त्यस्तै वडा नं. ६ र ७ एवं सेती पारीका ४ वडाहरुलाई लक्षित गरी वडा नं. ८ को ढोरफिर्दीमा पनि पहिलो चरणमै हाटबजार संचालन हुने भएको छ । तर, हाटबजारका लागि स्थान तोकिएको छैन । नगरपालिकाले प्रत्येक वडामा हाटबजार संचालन गर्ने जनाएको छ । पहिलो चरणमा परेका तीन स्थानको हाटबजार संचालनार्थ नगरपालिकाले प्रत्येक भवनका लागि १० लाखको दरले ३० रुपैयाँ बजेट विनियोजन गरेको छ । सटरसहितको भवन सात कोठाको हुनेछ ।
बुधबार वडा नं-३, पौवाडाँडामा दुलेगौँडा हाटबजार भवनको शिलान्यास गरिएको छ । वडा नं. ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले भवनको शिलान्यास गर्दै हाटबजार संचालनमा आएपछि फुटपाथका कारण अव्यवस्थित भएको बजार व्यवस्थित हुने बताए । उनले हाटबजार संचालन भएपछि कृषकले उत्पादन गरेको कृषि उपज सोझै हाटबजारमा ल्याएर बिक्री गर्नसक्ने बताए । तर, वडाध्यक्ष श्रेष्ठले हाटबजारको भवन निर्माणका लागि १० लाख मात्र विनियोजन भएकाले त्यति बजेटले भवन पुरा हुनेमा आशंका व्यक्त गरे ।
‘गतबर्षको दरभाउमा प्राविधिकले भवनको स्टीमेन्ट गरेको छ, अहिले बजार भाउ बढेको छ, भवन पुरा गर्न नागरिकसंग उठाउनुपर्ने अवस्था छ, यसले गर्दा समयमै भवन पुरा गर्न समस्या देखिन्छ’, उनले भने, ‘यसतर्फनगरपालिकाले ध्यान दिनुपर्छ । तीन ठाउँको भवनका लागि बजेट बाँडफाँट गरेर योजना अलपत्र पार्नुभन्दा एकै ठाउँमा लगानी गरेर निर्माण सम्पन्न गर्नु उपयुक्त हुन्छ।’
त्यस्तै, वडा नं. ५ का वडाध्यक्ष दीर्घबहादुर थापाले हाटबजार संचालन गर्ने नगरपालिकाको वृहृत योजना भएको बताए । उनले यस योजनामार्फत् स्थानीय जनताको आयआर्जनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै भवनमा मात्र सिमित राख्न नहुने बताएका थिए । ‘फाइदा जति सबै विचौलियाले खाने अवस्था छ, किसानको लगानी पनि उठ्दैन, उपभोक्ता पनि महंगोमा खरिद गर्न बाध्य छन्’, उनले भने, ‘प्रत्यक्ष रुपमा किसान र उपभोक्तालाई फाइदा पुर्याउने गरी हाटबजार संचालन गर्न लागिएको हो । किसानले उत्पादनलाई जोड दिनु पर्दछ । हाटबजारसंगै हरेक वडामा शितभण्डारणको समेत आवश्यकता रहेको हुँदा यस तर्फ हाम्रो ध्यान पुगेको छ ।’
पौवा टोल विकास संस्थाका अध्यक्ष शंकर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका शुक्लागण्डकीका नगर सभापति माधव भट्टराइ, नेपाल कम्युनिष्ट पार्टी माआवादी केन्द्रका शुक्लागण्डकी नगर कमिटीका सचिव परशुराम भण्डारी, पौवा टोल विकास संस्थाका सचिव इश्वर कुमार श्रेष्ठ लगायतले हाटबजार व्यवस्थित रुपमा संचालन गर्न सके टोल, वडा र नगरकै विकास हुने बताउँदै बजारको प्रवर्द्धन र विकासका स्थानीयवासीकै भुमिका महत्वपूर्ण हुने चर्चा गरेका थिए ।









