एमालेलाई भोट माग्ने कुनै अधिकार छैन : श्रममन्त्री श्रेष्ठ

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले नेकपा एमालेलाई जनता माँझ गएर भोट माग्ने कुनै अधिकार नभएको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका-३, वनकेवामा शनिबार नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले दुइ-दुइ पटक संसद विघटन गरेर जनताको अभिमतलाई अपमान गर्ने एमालेलाई भोट माग्ने कुनै अधिकार नभएको बताए ।

‘२०७४ सालको निर्वाचनमा देशभरका जनताले करिब दुइ तिहाइको मत दिएर कम्युनिष्ट पार्टीलाई सरकारमा पुर्‍याएपनि घमण्डी, पाखण्डी हाम्रा नेताले दुइ दुइ पटक संसद विघटन गरेर जनताको अभिमतलाई अपमान गर्ने काम गर्‍यो र नेकपा एमालेलाई गाउँगाउँमा गएर भोट माग्ने कुनै अधिकार छैन ।’ ‘जनताले विश्वास गरेर जिताइ सकेपछि दुइ-दुइ पटक संसद विघटन गरेको हुनाले उहाँहरुलाई संसद चाहिएको छैन । उहाँहरु (एमाले)लाई जनताको विश्वास चाहिएको छैन । चाहिएको छ त, कुम्भ मेला चाहिएको छ’। उनले भने ।

दुलेगौंडा-हर्कपुर मोटर मार्ग कालोपत्रे कार्यमा भइरहेको ढिलाइप्रति चासो राख्दै मन्त्री श्रेष्ठले काम नगर्ने ठेकेदारलाई थुन्नेसम्मको चेतावनी दिए । श्रेष्ठले अहिलेसम्म ठेकेदार जतिदिन लुकेर वा लुटेर भागे पनि अब कृष्ण श्रेष्ठको फेला परेको भन्दै काम नगरी सुख्खै नहुने चेतवनी दिए ।

मन्त्री श्रेष्ठले एमाले नेता किरण गुरुङ र केदार सिग्देललाई इङ्गित गर्दै चुनावमा भोट माग्न आउन सक्नेले हर्कपुर-मोटरमार्गलाई किन समयमा सम्पन्न गर्न नसकेको भन्दै आक्रोश पोखे । उनले यो ठाउँको विकासका लागि आफु आएको जनतालाई आश्वासन दिए । उनले भने, ‘किसान श्रेष्ठ जे बोल्छ, गर्न सक्ने मात्रै बोल्छ, बोलेपछि गर्छ भन्ने कुरा विश्वास दिलाउन चाहान्छु, यो बाटो कालापत्रेको जिम्मा एकिकृत समाजवादीले लिन्छ, किसान श्रेष्ठले लिन्छ।’

उनले धेरै कुरा बोलेर भन्दा पनि काम गरेर देखाउने र युवा शक्तिलाई रोजगारीको अवसर सिर्जना गर्ने प्रतिवद्धता जनाए । मन्त्री श्रेष्ठले अब छिट्टै हुने निर्वाचनमा जसले साँच्चै जनताको काम गर्छ, जनताको मन जित्छ त्यतैतिर लाग्न स्थानीयवासीलाई आग्रह गरे ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीयवासीको बेवास्ताका कारण दुलेगौडा हर्कपुर मोटरमार्गमा ढिलाइ भएको भन्दै जनता पनि जागुरुक हुनुपर्ने बताइन् । आफुले जनतालाई दोष दिन नखोजेको बताउँदै कोइरालाले सडक निर्माणमा जनताले सहयोग नगरेको गुनासो बाहिर आएको बताएकी थिइन् ।

‘यो बाटो निर्माण जति ठेकेदारले लापारबाही गरेको छ, त्यसमा स्थानीय जनताले पनि असहयोग गरेको भनेर आलोचना सुनेको छु’, उनले भनिन्, ‘कसैले मेरो जग्गा मिचियो भनेर बाटो बनाउन रोक्दिने, कसैले मेरो गिटी बालुवा किनेन भनेर कामदार रोक्दिने, कसैले पैसा पाइन भनेर कामदार फिर्ता गराइदिने जस्ता यहाँ यावद कुराहरु भएका छन् । यस्ता विषयहरुमा जनताको चासो र खबरदारी हुनुपर्दछ । वडाध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य रेखा बस्याल थापा, पार्टीका तनहुँ इन्चार्ज चित्रबहादुर थापा, व्यास नगरपालिकाका-४ का वडाध्यक्ष विश्वराज न्यौपाने, नेपाली काँग्रेस शुक्लागण्डकीका सभापति गोपीबहादुर गुरुङ, जनता समाजवादी पार्टी शुक्लागण्डकी नगर समितिका अध्यक्ष देउनारायण श्रेष्ठ, वडा सदस्य विष्णु गर्तौला, वडासचिव शालिकराम भट्टराइ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए । यस्तै, सञ्चालनमा आइसकेको वडा भवन मन्त्री श्रेष्ठले उद्घाटन गरेका थिए ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन्। नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफू प्रतिनिधिसभामा निर्वाचित भएपछि तीन वर्षको अवधिमा धेरै काम भएको उल्लेख गरे । ‘साढे तीन वर्षको अवधिमा विकास निर्माणको कामले छलाङ मारेको छ, तर त्यसबाट म सन्तुष्ट छैन’, मन्त्री श्रेष्ठले भने, ‘जति गर्नुपर्ने हो त्यति गर्न सकिएन, अझै पनि विकास निर्माणलाई तीव्रता दिन्छौँ ।’ मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा तनहुँमा नेकपा (एकीकृत समाजवादी)ले जित्ने दाबी गरे । उनले भने, ‘तनहुँमा हाम्रो पार्टीको प्रभाव शून्य छ भनेर हल्ला फैलाइएको छ, आगामी निर्वाचनबाट थाहा हुन्छ, कसको पार्टीको हैसियत के छ भनेर।’ उनले मादी-मर्स्याङ्दी, डुम्रे-चाम्बास सडकको बोलपत्र भइसकेको र काम सुरु भएको बताए । मन्त्री श्रेष्ठले करिब दुइतिहाइको मत प्राप्त गरे पनि नेकपा (एमाले) नेतृत्व सरकारले त्यसको सदुपयोग गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले पार्टी फुटाउने रहर नभई बाध्यता भएको उल्लेख गर्दै अब पार्टी सङ्गठन विस्तारमा जोड दिइने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker