पोखरा–मुग्लिन सडक : रेखाङ्कन गरिएको करिब ५५ वर्षपछि चार लेनमा विस्तार हुँदै

पृथ्वीराजमार्गको आँवुखैरेनी–जामुने खण्डको काम अन्तिमचरणमा, जामुने–पोखरा खण्डको कामले गति लिदैं

तनहुँ : वि.सं. २०२६ सालमा रेखाङ्कन भएको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड करिब ५५ वर्षपछि विस्तार भइरहेको छ । दुई लेनमा रहेको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाले तनहुँको सदरमुकाम दमौली बजारक्षेत्रमा कालोपत्र गर्ने कार्यलाई तीब्रता दिइरहेको छ भने पूर्वी खण्डका अधिकांश स्थानमा कालोपत्र सकिएको छ । पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)को सडक विस्तार कार्य लगभग अन्तिम चरणमा पुगेको छ भने पश्चिम खण्ड (जामुने–पोखरा)को सडक विस्तार कार्यको कामलाई पनि तीब्रता दिइएको छ ।
पोखरालाई काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक खण्डलाई चार लेनमा विस्तार कार्यलाई अहिले तीब्र गतिमा अगाडि बढाइएको छ। जामुनेदेखि पोखरासम्म र जामुनेदेखि मुग्लिनसम्मको सडक दुई खण्डमा विभाजन गरेर चार लेनमा विस्तार भइरहेको सडकलाई सहरी क्षेत्रमा भने ६ लेनमा विस्तार गरिदै छ ।
सम्झौता भएको सुरूआती दुई वर्ष ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा विस्तारले गति लिन नसकेको सडक विस्तार कार्य आगामी असारदेखि भने यात्रुले हिलो र धूलो खेप्नुनपर्ने गरी काम भइरहेको योजनाले जनाएको छ ।
योजनाका पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेका अनुसार असारसम्म जामुने–मुग्लिन सडक विस्तारको काम सकिनेछ । त्यस्तै जामुने–पोखरा एकतर्फी कालोपत्र गरेर सकिने र अहिलेकै गतिमा काम भए आगामी मध्य पुससम्म पश्चिम खण्डको काम पनि सकिने पश्चिम खण्डका इन्जिनियर कृष्णबहादुर कुँवरले बताए ।
‘पूर्वी खण्डमा यात्रुलाई अहिले पनि खासै समस्या छैन । समस्या पश्चिम खण्डको पोखरादेखि जामुनेसम्म हो’, उनले भने, ’अहिलेकै गतिमा काम भइरहे असारसम्म यात्रुले हिलो र धूलो खानुपर्दैन । एकतर्फी कालोपत्र सकिन्छ ।’
पहिलेभन्दा दोब्बर फराकिलो हुने सडकको बीचमा डिभाइडर राख्ने र यसमा हरियाली बनाउने सम्झौतामा उल्लेख छ । डुम्रे, दमौली, खैरेनीटार, दुलेगौंडा, पोखरा लगायत सहरी क्षेत्रमा सडक ६ लेन फराकिलो हुने इन्जिनियर कुँवरले जानकारी दिए। पश्चिम खण्डमा मात्र २० किलोमिटर सडक सहरी क्षेत्रमा पर्छ । उनले भने, ‘अहिले कालोपत्र भएको ठाउँमै पनि अझै ४ सेन्टिमिटर बाक्लो आसफाल्ट प्रविधिबाट कालोपत्र गरिनेछ । यो प्रविधि महँगो छ तर टिकाउ हुनेछ ।’
मुग्लिन–पोखरा सडकमा पर्ने सबै पुल पनि नयाँ बनिरहेका छन् । पुल बनाउने कामले पनि गति लिएको र अधिकांश बनिसकेको योजनाले जनाएको छ । दुइटा बाहेक सबै पुल ठेकेदार कम्पनीले नै बनाइरहेका छन् ।
पूर्वी खण्डमा कम्पनीले २०७७ माघ १७ गते सम्झौता गरेर २०७८ वैशाख २ गतेदेखि काम थालेको थियो । सरकारले तीन पटक गरी आउँदो असार मसान्तसम्म म्याद थपेको छ ।
यो खण्डका इन्जिनियर पाण्डेका अनुसार आँवुखैरेनी–जामुने खण्डमा सडकको ७८.९५ प्रतिशत काम सकिएको छ । ४१ किलोमिटरमध्ये ३४.९ किलोमिटर सडक दुईतर्फी कालोपत्र पूरा भएको छ ।
१७ वटा पुलमध्ये डुम्रे पुल अन्तिम चरणमा पुगेको र अरू बनिसकेका छन् । यो सडक विस्तार गर्न चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड रूपैयाँमा (मादी पुल बाहेक) ठेक्का पाएको छ । मादी नदीमाथिको पुल बनाउन एक अर्ब २० करोड रूपैयाँमा छुट्टै ठेक्का लगाइएको छ । यो पुलको पनि आधाभन्दा बढी काम सकिएको योजनाले जनाएको छ ।
त्यस्तै पश्चिम खण्डको सडक विस्तार गर्न २०७८ जेठ ३ गते सम्झौता भएको थियो । तोकिएको समयमा काम नसकिएपछि आगामी मध्य पुससम्म म्याद थपिएको पश्चिम खण्डका इन्जिनियर कुँवरले बताए ।
उनका अनुसार यो खण्डमा ४१.४९ प्रतिशत काम सकिएको छ। जामुने–पोखरा ३८ किलोमिटर सडक विस्तारका लागि पनि चिनियाँ कम्पनी एनहुई केयुयन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रूपैयाँमा (सेती पुलबाहेक) ठेक्का सम्झौता गरेको थियो । सेतीमा हाल भएको पुलमाथि र तल दुई÷दुई लेनका दुइटा पुल बनाउन एक अर्ब ७ करोड रूपैयाँमा छुट्टै सम्झौता भएको छ । यसको पनि करिब ५० प्रतिशत काम सकिएको छ ।
सेती पुलबाहेक पश्चिम खण्डमा चार वटा ठूला र १२ वटा साना पुल पर्छन् । यीमध्ये विजयपुर खोलाको पुलको काम आधाभन्दा बढी सकिएको छ भने बाँकी अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ । ‘अहिलेकै गतिमा सडक र पुलको काम भयो भने आगामी पुस दोस्रो सातासम्म पोखरा–मुग्लिन सडक विस्तार सकिन्छ’, इन्जिनियर कुँवरले बताए ।
पश्चिम खण्डमा पर्ने २१ सय वटा बिजुलीका खम्बामध्ये ३५० वटा हटाउन बाँकी छ । नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएर काम अघि बढिसकेको उनले बताए । त्यस्तै चार किलोमिटर पुरानो कालोपत्र भत्काउन बाँकी छ ।
सुरूका दुई वर्ष ठेकेदार कम्पनीको ढिलासुस्तिका कारण समयमा काम नसकिएको पनि उनले बताए । सडक विभाग त ठेक्का तोड्ने चरणमै पुगिसकेको थियो । पछि समस्याहरू समाधान गरेर काम अगाडि बढाउने सहमति भएको हो । पोखरा–मुग्लिन सडक बनिसकेपछि पोखराबाट काठमाडौं जाने यात्रा समय घट्नेछ भने दुर्घटना पनि न्यूनीकरण हुने आयोजनाले जनाएको छ । त्यस्तै पर्यटन चलायमान हुने व्यवसायीहरुको अपेक्षा छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker