दमौली बजार क्षेत्रको तारलाई भूमीगत गराइने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रका वडाहरुमा रहेका विद्युत तथा अन्य सेवा प्रदायक संस्थाका तारहरुलाई भूमीगत गराउने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नगरपालिकाको मुख्य बजार क्षेत्रका वडा नं. १, २, ३, ४ का विद्युत लाइन र दुरसञ्चार सेवा प्रदायक संस्थाका तारहरुलाई भूमीगत गर्न नेपाल विद्युत प्राधिकरण र सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालले जानकारी गराए ।

कार्यपालिका बैठकले पत्रकार महासंघ तनहुँको सिफारिसका आधारमा यस अघि गरिएको पत्रकार स्वास्थ्य वीमालाई निरन्तरता दिने निर्णय गरेको छ । नगरपालिकाले नगर क्षेत्रका टोल विकास संस्थाहरु बाट सञ्चालित लिफि्टङ खानेपानी र सडक बत्तिको विद्युत महसुलको ५०% नगरपालिकाले सम्बन्धित टोल विकास संस्थालाई अनुदान दिने निर्णय गरेको छ । उक्त बैठकले आर्थिक ऐन, २०७९/०८० को व्यवस्था अनुसार भवन निर्माण कन्सल्टेन्सीमा लाग्ने दस्तुर कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

त्यस्तै, नगरपालिकाले वडा नम्बर १० स्थित मंगली गैह्रामा सरसफाई केन्द्र बनाउने निर्णयबाट पछि हटेको छ । स्थानीयको विरोध भएपछि नगरपालिकाले उक्त ठाउँमा सरसफाई केन्द्र बनाउने निर्णय स्थगित गर्ने निर्णय गरेको छ ।

उक्त स्थानमा सरसफाई केन्द्र बनाउनका लागि नगरपालिकाले जग्गा खरिद प्रकृया अगाडी बढाएको थियो । त्यसका लागि संघ सरकारसँग स्वीकृति समेत मागिएको थियो । तर स्थानीयवासीले कुनै पनि हालतमा सरसफाई केन्द्र बनाउन नदिने अडान लिएका थिए ।

नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले स्थानीयहरुको गुनासोका आधारमा सो जग्गा खरिद प्रकृया स्थगितगरि वैकल्पिक जग्गा खरिद प्रकृया अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए ।

त्यस्तै, नगर कार्यपालिकाका सदस्यहरु र स्थानीय प्रतिनिधि समेत सफल सरसफाई केन्द्रमा यस महिनाभित्र अध्ययन अवलोकन भ्रमणमा जाने निर्णय बैठकले गरेको छ । नगरपालिकाले नगरका शैक्षिक बेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवा व्यवसायीहरुलाई अनुदान दिने प्रकृया अघि बढाउने भएको छ ।

व्यास नगरपालिका भित्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका वडाहरुमा सुरक्षित आवास अन्तरगत २०० घर थप भएकाले सो घरहरु छनौट प्रकृया अघि बढाउने निर्णय गरेको छ । नगरपालिकाले हिमालय आँखा अस्पताल पोखरासँग सहकार्य गरी नगरपालिकाको स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker