एमाले तनहुँको नवौं अधिवेशन : तयारी तीब्र, सर्वसम्मत नेतृत्व चयन गरिने
भञ्ज्याङ समाचारदाता/दमौली

वडा र पालिका तहको अधिवेशन सम्पन्न गरेको नेकपा एमाले तनहुँले जिल्ला कमिटीको नवौं अधिवेशनको तयारी तीब्र पारेको छ । यही पुस २३ र २४ गते तनहुँको दमौलीमा गर्न लागिएको अविधेशनको तयारी तीब्र पारिएको र तयारी अन्तिम चरणमा पुगेको पार्टी कार्यालयले जनाएको छ । पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी अधिवेशन भव्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको प्रचार विभागका प्रमुख एवं कार्यवाहक सचिव विष्णुभक्त सिग्देलले जानकारी गराए ।
प्रचार विभागको आयोजना तथा प्रेस चौतारी नेपाल तनहुँको संयोजनमा गरिएको पत्रकार सम्मेलनमा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले जिल्ला अधिवेशनका लागि ८५ वटै वडाबाट प्रतिनिधि छनौट गरिएको बताए । ‘अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि करिब पाँच हजार बढी प्रतिनिधिहरु सहभागि हुन्छन्’, अध्यक्ष सिग्देलले भने, ‘सबै वडाबाट खुल्ला, महिला, मजकदुर, दलित, अल्पसंख्यक तथा विभिन्न जनवर्गीय संगठनबाट प्रतिनिधि छनौट सम्पन्न गरिसकिएको छ ।’
वि.सं. २०६९ चैत २९ गते आठौ अधिवेशन सम्पन्न गरेको एमाले तनहुँले पुस २३ र २४ गते नवौं अधिवेशनका लागि प्रतिवेदन, आर्थिक, प्रचारप्रसार, मञ्च व्यवस्थापन, खाना, स्वयंसेवक परिचालन लगायतका उपसमिति गठन गरेको छ । अधिवेशनका लागि जिल्ला कमिटीलाई मुल आयोजक कमिटीमा रुपान्तरण गरिएको छ ।
एक वडा बाहेक सबै वडा अधिवेशन सर्वसम्मत गरिएको र वडाबाटै सर्वसम्मत प्रतिनिधि छनौट भएकाले जिल्ला नेतृत्व पनि सर्वसम्मत रुपमै चयन गर्ने तयारी भएको अध्यक्ष सिग्देलले बताए । ‘नेतृत्वको विकास गर्नुपर्छ भनेर म पुनः अध्यक्षमा दोहोरिने छैन’, सिग्देलले भने, ‘क्रियाशीलता, पार्टी भित्रको योग्यता र योग्दान लगायतलाई मापदण्ड बनाएर सर्वसम्मत नेतृत्व चयन गर्ने हाम्रो तयारी छ ।’
यस्तै, प्रचार विभागका प्रमुख एवं एमाले कार्यवाहक सचिव सिग्देलले सर्वसम्मत नेतृत्व चयन गरी एकताको सन्देश दिने बताएका छन् । ‘दमौलीस्थित खुल्लामैदानमा उद्घाटन र दमौली पार्टी प्यालेसमा बन्दसत्र गरिने छ’, सचिव सिग्देलले भने, ‘अधिवेशनको प्रचारप्रसारका लागि स्वागतद्वार, बजार क्षेत्रमा झण्डा राख्ने कामलाई तीव्रता दिन आवश्यक तयारी भएको छ । सभ्य र भव्य रुपमा महाधिवेशन सम्पन्न गर्न हाम्रो सबै संयन्त्र परिचालित भएको छ ।’ अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने हुँदा नेतृत्वको आकांक्षा व्यक्त गर्दै जिल्लाका नेताहरुले आ-आफ्नो इच्छा व्यक्त गर्दै सार्वजनिक रुपमा बहस चलाउन थालेका छन् ।










