जनसहयोगी माविले ६४औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

भानु : तनहुँको भानु नगरपालिका–१३ समजुरस्थित श्री जनसहयोगी माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सोमबार विविध कार्यक्रम गरी मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले शुभकामना व्यक्त गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले आवश्यक कार्यक्रमहरु प्रथमिकताका साथ अगाडि बढाएको बताए ।
कार्यक्रममा नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेल, वडा नं. १३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामशरण पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै अभिभावक, पूर्व प्रधानाध्यापक तथा शिक्षाप्रेमीहरुले विद्यायको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबैले हातेमालो गर्नुपर्ने बताउँदै शुभकामना व्यक्त गरेका थिए ।

यस्तै, कार्यक्रममा विद्यालयको भौतिक पूर्वाधार सन्तोषजनक रहेको, शिक्षकहरूको टिम–स्पिरिट अत्यन्त राम्रो भएको तथा एसईईसहित अन्य कक्षाहरूको शैक्षिक उपलब्धी पनि सन्तोषजनक रहेको जानकारी गराइएको थियो। विद्यालयलाई भानु नगरपालिका र सम्बन्धित वडाबाट आवश्यक सहयोग हुँदै आएको जनाइएको छ ।
वार्षिकोत्सव समारोहका अवसरमा विभिन्न खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिनुका साथै छात्रवृत्ति वितरण तथा सहयोगदाताहरूलाई सम्मान गरिएको थियो ।
यस्तै, विद्यार्थी कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो ।










