ओझेलमा परेको जीतपुर गढी “हुस्लाङकोट”

देव बस्न्यात

विषय प्रवेश

‘हुस्लाङकोट’ साविक धरम्पानी गाविस-१ हाल बन्दीपुर गाउँपालिकाको वडा नं. ६ मा पर्दछ । दमौली बजारबाट पोखरीभञ्ज्याङ, केशवटार, सुखौरा हुँदै हुस्लाङकोट पुग्न सकिन्छ भने अर्कोतर्फ बन्दीपुर झप्री हुस्लाङ, धरम्पानी हुँदै हुस्लाङकोट पैदलै एवं गाडीबाट पनि पुग्न सकिन्छ । यसै गरी दमौली बेलवास, सराङघाट, धरम्पानी हुँदै हुस्लाङबजार पुग्न सकिन्छ । हुस्लाङलाई हुस्लाङकोट, हुस्लाङमाझथर र रानी बजार नामले चिनाउने गरिन्छ । हुस्लाङ बजारलाई पहिले पहिले रानीबजार पनि भन्ने गरिन्थ्यो ।

बाइसे चौबीसीकालमा तनहुँका राजा हरकुमारदत्त सेनकी रानी यस ठाउँमा आइपुग्दा रानीको स्वागतका लागि स्थानीयको जमघट हुन पुग्यो। हुस्लाङमा मानिसहरुको ठूलो जात्रा लाग्यो । रानीआउँदा प्रशस्त मानिसहरु जम्मा भएको हुनाले यस ठाउँलाई रानीबजार भन्ने गरिएको स्थानीय रेशमलाल थापा बताउँछन् । हुस्लाङ बजारबाट उकालो लागियो भने १५ मिनेटमा नै हुस्लाङकोट पुग्न सकिन्छ । हुस्लाङकोट तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेनको सैनिकगढी र मुकाम दरवार रहेको ठाउँ हो ।

वि.सं. १८३४ मा तनहुँको चितवन खण्ड पुनः १८३६ को बैशाख १५ गतेका दिन गोरखाली सेनाले उपरदाङगढीमा कब्जा गरेपछि राजा हरकुमारदत्त सेन सिधै बन्दीपुरको हुस्लाङकोटमा आइ बसेका वि.सं. १८३७ मा बन्दीपुरबाट जारी गरेको स्याहामोहरले प्रमाणित गर्दछ । वि.सं १८३९ कार्तिक १७ गतेका दिन तनहुँका राजा हरकुमारदत्तसेन लमजुङका राजा वीरमर्दन शाहलाई भेट्न गएका थिए । त्यसैको भोलीपल्ट तनहुँ र लमजुङको संयुक्त सेना गोरखाली सेनासंग तार्कुघाटको युद्धमा पराजित भएपछि दुबै राजा मनाङ मुस्ताङको बाटो भई पर्वत पुगेको मानिन्छ ।

त्यही बेला तनहुँसुर भेगको माथिल्लो पहाडी खण्ड विशाल नेपालमा मिलाइएपछि राजा हरकुमारदत्त सेन बन्दीपुरको कछार खण्डमा आइबसेका हुन् । बन्दीपुर कछारखण्डको चन्द्रकोटमा पनि गोर्खाली सेनापति अम्मरसिंह थापा, काजी अभिमान सिंह बस्न्यात लगायतले दखल दिन थालेपछि बन्दिपुरको पुरानकोट खण्डबाट पलायन भइ यहाँ आएर शासन गरेका थिए । हुस्लाङकोट खण्ड पनि गोर्खाली सेनाले हात पारेपछि राजा हरकुमारदत्त सेन सिंच्याङगढी, घण्टाचुली सोमेश्वरगढी हुँदै रामनगर पुगेर सन्तोषका सास फेरेका थिए ।

भुरेटाकुरे राज्य

विशाल तनहुँ राज्यमा मिल्नु पूर्व हुस्लाङकोट र सिञ्चाङगढी दुबै स्वतन्त्र थुमथुमे मगरराज्यको रुपमा रहेका थिए । भुरे टाकुरे राज्यको रुपमा रहेका हुस्लाङकोट र सिञ्चाङगढी राज्यको बीचमा बेलबेलामा युद्ध भइरहने गर्दथ्यो । दुइ पक्षबीचको युद्धमा हुस्लाङको राजाले सिञ्चाङगढीको राजालाई जितेको हुनाले हुस्लाङकोटलाई अहिले पनि जितपुरगढी भनेर सम्वोधन गरिन्छ । अर्को तर्फचन्द्रकोट विजय गरी हुस्लाङकोट हान्न आएका गोरखाली सेनालाई पनि हराएकोले हुस्लाङलाई जितपुरगढी भन्ने गरिएको हो भन्ने किंवदन्ती रहेको छ । हुस्लाङकोट राज्य कहिले स्थापना भयो र कहिले पाल्पा राज्यमा विलय भयो भन्ने विषय भेटिएको छैन ।

हुस्लाङ नाम रहनाका कारण

क) हुस्सु (धुवाँजस्तो पातलो कुहिरो)बाट हुरुलाङकोट

हुस्लाङकोट सेतीनदीको किनारमा अवस्थित सराङघाट नजिकै रहेको छ । दमौलीलाई कुहिरोको सृष्टि भएको स्थान मानिन्छ । यहाँ मत्स्यागन्ध्यासंग सहवास गर्ने समयमा महर्षि पराशर ऋषिले कुहिरोको उत्पति गरेका हुन् भनी काशीराम सुरी रचित गण्डकी महात्म्यम्ले पुष्टि गरेको छ । दमौली, साराङघाट र हुस्लाङकोट पनि सेतीनदीको तटीय क्षेत्र भएकाले हुस्लाङमा पनि धुवाँजस्तो पातलो कुहिरो तथा हुस्सु लाग्ने गर्दछ । धुवाँ जस्तो पातलो कुहिरो तथा हुस्सु समेत लाग्ने चुचुरो भएकोले उक्त कोटलाई हुस्सुलाङकोट भन्न थालियो । त्यही हुस्सुलाङ शब्द अपभ्रंश भइ हुस्लाङकोट भन्ने गरिएको हुन सक्दछ ।

भोटबर्मेली भाषामा मानिस बसोबास गर्ने स्थानको नामको अन्त्यमा ङ, बाङ, हाङ, लाङ (ल्हुङ) पाङ, राङ र लुङ्ग आउने गर्दछ । जस्तै छाङ, दाङ (बिना उपकरण अर्को ठाउँ हेर्न सकिने चौर), लिबाङ (बाँसैबाँसको चौर), हाङ (समथर पर्वत, समथर थुम), सर्वलाङ, मिर्लुङ (ठूलोढुङ्गा), मनपाङ, सराङकोट, तनहाङ (सैनिक परेड खेल्ने चौर), सेटाङ (माहुरी चौर), भन्ने जनाउँछ । यसैगरी लाङ शब्दले भन्ने शिखर तथा चुचुरा भन्ने जनाउँछ । धुँवा जस्तो पातलो हुस्सु लाग्ने स्थान भएकाले हुस्सुलाङ भन्न थालियो । कालान्तरमा त्यही शब्द अप्रभंश भइ हुस्लाङ हुन गएको हो भन्न सकिन्छ ।

(ख) हुस्सु (होस नभइको) र लाङ शब्दबाट हुस्लाङकोट

बनेपाली शब्दकोष अनुसार हुस्सुलाई होस नभएको, सुद्धि नभएको तथा मुर्ख बेबकुफ भन्ने पनि जनाउँछ भने लाङ शब्दले पर्वतको शिखर भन्ने जनाउँछ । तनहुँका राजा कामारीदत्त सेनले आफ्ना भाइ हरकुमारदत्त सेनलाई चौबिसे राज्यहरुसंग गठबन्धन गरी गोरखासंग युद्ध गर्न अह्राएकोमा उल्टै दाजुसंग दगा गरी गोर्खाली सेनालाई उक्साएर तनहुँमाथि आक्रमण गर्न लगाई स्वयं गोरखाको अधिनस्थ तनहुँको राजा बन्ने दाउपेचमा लागे (श्रोतः नेपालको बृहत इतिहास-डा. बम बहादुर अधिकारी) । छँदाखाँदाको मुलुक तनहुँराज्य मारी गोरखालाई आक्रमण गर्न उक्साउने राजा हरकुमारदत्त सेनको चालामाल देखेर यहाँका राजा हरकुमारदत्त सेनलाई हुस्सु राजा र निज बसेको रजस्थललाई हुस्सुलाङकोट भन्न थालिएको हो भन्ने किंवदन्ती रहेको छ । कालान्तरमा त्यही हुस्सुलाङकोट शब्द अपभ्रंश भइ हुस्लाङकोट हुन गएको हो भनि अनुमान गर्न सकिन्छ ।

(ग) होसे-लामकोटबाट हुस्लाङकोट

पहिला बन्दीपुर, हुस्लाङ, धरम्पानी, सराङघाट, सिञ्चाङगढी हुँदै ठोरी पुगेर नुन तेल ल्याउने बटुवाहरुको चल्ती फिर्तिको बाटो थियो । झिसमिसेमै सराङघाटबाट आएका बटुवाहरुले धरम्पानी जाने बाटो कता हो भनेर बेसी झर्दै गरेका एक युवालाई सोधे रे । मगरात क्षेत्रमा बसेको उक्त मगर युवाले खस भाषा बुझे पनि खसभाषा दोहोरिएर बोल्न जान्दैनथ्यो रे । बटुवाहरुले सोधेको प्रश्नको जबाफमा मगर कान्छाले आफ्नै मगर भाषामा “होसे-लाम” भनेर जवाफ दियो रे । स्थानीय मगरभाषामा “होस्से” भनेको त्यो र “लाम” भनेको बाटो भन्ने जनाउँने गर्दछ । कालान्तरमा त्यही “होसे-लाम” शब्द अपभ्रंश भइ हुस्लाम हुँदै हुस्लाङ बन्न गएको हो भनेर हुस्लाङका रेशमलाल थापा बताउँछन् ।

हुस्लाङकोटको स्थापना

तनहुँका राजा कामरीदत्त सेनले राजकुमार हरकुमारदत्त सेनलाई बन्दीपुर क्षेत्र हेर्न प्रशासक नियुक्त गरी खटाएका थिए । आफु प्रशासक छदैमा तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनले हुस्लाङकोट बनाएका हुन । यो कोटको दक्षिण पश्चिमपट्टी सैनिक टुडिखेल पनि देख्न सकिन्छ । यस कोटमा राजा बस्ने दरवार, सेनहरुको आरध्यदेवी खड्गदेवी मन्दिर, शिद्धथान नागथान र सृष्टिभयेंरीको थान रहेको छ । हुस्लाङकोट आसपासमा गुरुङहरुको १७ घरधुरी र मगरहरुको ३१ घरधुरी रहेको पाउँदछौ । यहाँको ऐतिहासिक एवं पुरातात्विक महत्वको हरकुमारदत्त सेनको दरवार र सैनिक गढीमा रहेका अन्य संरचना भत्किएर खण्डहर बन्न पुगेका छन् । त्यही खण्डहरमा अहिले जनजाति संग्रहालय बनाउँदा छापावाल सुनको रुपमा रहेको हुस्लाङकोट पित्तलमा रुपान्तरित हुन पुगेको छ । यस खण्डहर स्थलमा पुरातात्विक महत्वको सेनकालीन दरवार बनाई ऐतिहासिक सम्पदाको संरक्षण गर्न स्थानीय गाउँपालिका सचेत रहनै पर्दछ ।

टुँडीखेल

हुस्लाङ माझथरबाट सिधै पूर्व तर्फ गइयो भने हुस्लाङकोट दरवार पुगिन्छ । दरवारकै पश्चिम भागमा सैनिकहरुले परेड खेल्ने सैनिक टुंडिखेल रहेको छ । दरवारकै वरिपरी खड्गकाली, शिद्धथान (महादेव), नागथान र विष्णुको मन्दिर देख्न पाउँदछौ । समयमै सार्वजनिक जग्गा सार्वजनिककरण गर्न सकिएन भने यस्ले विकराल रुप लिन सक्दैन भन्न सकिन्न ।

बुढ्ध्याङ्ग्राको रुखमा शिद्धको निवास

भोटबर्मेली भाषा बोल्नेहरुमा नेपालका गुरुङ (हुण), मगर, (गोरर्पा, शेरर्पा), तामाङ, राइ, लिम्बु र दनुवार लगायतका जातजातिहरु पर्दछन् । खैवरघाँटी मार्ग हुँदै नेपाल पसेका खामपाङभाषी र ढुटभाषी मगरहरु सराङघाट वरपर बसोबास गरेका छन् । यस वरपरका साविक धरम्पानी, बन्दीपुर, केशवटार, पोखरी भञ्ज्याङ, देउराली, सिञ्च्याङगढी, वैदी, छिपछिपे, काहुँ शिवपुर, भिरकोट र ऋषिङ लगायतका स्थानहरु मगर बाहुल्य क्षेत्रहरु हुन । भोटबर्मेली मध्येको मगर भाषामा शिद्ध र तमाङभाषामा ल्हाछेन्पो (महादेव)को अर्थ बृद्ध, बुर्जुवा तथा वरिष्ठ अभिभावक भन्ने जनाउँछ । यस बारेमा एक लोक कहावत रहेको छ ।

एक पटक भारत वर्षमा अन्याय अत्याचार बढ्यो । अन्याय अत्याचारबाट लोकलाई त्राण दिन शिद्ध (महादेव) कैलाश पर्वतबाट दक्षिण भारत जाने बिचार गरे । यही बेलामा शिद्ध (महादेव)ले आफ्ना जटाबाट शक्तिशाली व्यक्ति मगर भाषामा झाँक्री (तमाङ भाषामा खेप्पा) र वराहको उत्पति गरे । हिमाल उत्तरको भूभागको सुरक्षाको जिम्मेवारी पार्वतीलाई सुम्पेर महादेव झांक्रीलाई लिएर तल झरे । विध्नवाधा हटाउँदै उनीहरु मादीनदीको किनार किनारै सेतीमादी नदी हुँदै सराङघाट पुगेर महादेवले झाँक्रीलाई त्यही बस्न आदेश गरे । तर झाँक्री त्यहाँ बस्न मञ्जुर भएनन् । झाँक्रीले आकाश धर्ती ढाक्नेगरि महादेवको जाने बाटो छेके । हे झाँक्री यहाँका सबै स्थानीय वासिन्दाहरु वोनधर्माका अनुयायीहरु हुन् । वोन परम्परा मान्ने तिनै मगर र गुरुङ जातिका अगुवाइहरुले सिद्धदेवतालाई(बाजे-बज्यै) कुलकुलायन सम्झेर पूजा आरधना पनि गर्ने गर्दछन् । उनीहरु अझै पनि झाँक्रीपथमा नै विश्वास गर्दछन् । अहिले पनि झाँक्रीवादको धेर थोर प्रभाव कायमै रहेको छ । (श्रोतः नेपालमा आदिवासी मगर जातिको ऐतिहासिक विवेचना-बाबुराम थापा-अतुल्य बिशाल नेपाल) ।

महादेवले भन्नु भयो हे शिद्धपुरुष यहाँका आदिवासी जनजातिहरु पनि हाम्रा आफ्ना शुभेच्छुक मित्रहरु हुन । तिमी यहीं स्थानमा बसेर आदिवासीहरुको संरक्षण एवं सेवा गर भनेर फकाए । उनै झाँक्री यही बसेर महाभारत पर्वत क्षेत्रका निवासीहरुलाई शिद्ध -महादेव) र झाँक्री, शिद्ध, वाराही र नागको पूजाको साथ साथै दहीमा चामल मुछेको रातो टिका लगाएर सराङ -दशैं) पर्व मान्न सिकाए । बिस्तारै क्षत्री बाहुनले पनि मगरको संस्कृति मान्न थालेका हुन ।

ऐतिहासिक महत्व बोकेको यस गढी नजिकै सिद्ध बाबाको मन्दिर छ । उक्त मन्दिरमा हरेक महिनाको पूर्णिमा तिथि अर्थात पहिलो मंगलवारका दिन पूजाआजा हुने गर्दछ । शिद्धको मन्दिरमा पूजाआजा गर्दा धुपदीप र बाबरको रोटी चढाउने गरिन्छ । यसै गरी शिद्धबाबाको थान नजिकै रहेको नाग थानमा पनि पञ्चमीका दिनहरुमा पूजाआजा हुने गर्दछ । हुस्लाङकोटको रुखमा कुनै एक जना शिद्धपुरुष रुखमा बस्ने गरेको किंवदन्ती रहेको छ । उही शिद्धपुरुषको बलले हुस्लाङकोटले सिञ्चाङगढीलाई हराएर विजय हात लगाएको हो भन्ने गरिन्छ ।

नेपालका नायव राजा रणबहादुर शाह, काका बहादुर शाह र आमा राजेन्द्रलक्ष्मीको आन्तरिक कलह भएको मौका छोपि तनहुँका काजी गरुडध्वज पन्तको नेतृत्वमा गएको चौविसीहरुको संयुक्त सेनाले पटक पटक गोरखाको सिरानचोक माथि आक्रमण गरी रहे । सेनापति अम्मर सिंह थापा, रामकेशर बस्न्यात र अभिमानसिंह बस्न्यातहरुले नेतृत्व गरेको सेनाले यस्ता आक्रमणहरुलाई निस्फल बनाइ दिए । पटक पटक तनहुँ र लमजुङले गोरखालाई दुःख दिइ रहेकाले नायवरानी राज्यलक्ष्मीले तनहुँलाई सबक सिकाउन गोरखाको धुँवाकोट र देउरालीको भञ्ज्याङ तनहुँको सत्रसय आँबु हुँदै बाहुनभञ्ज्याङसम्म आफ्नो सेना पठाइन । बन्दीपुरकै बाहुनभञ्ज्याङ निवासी बाहुनहरुको सदासयताले गोरखालीहरुले चन्द्रकोटलाई सहजै नियन्त्रणमा लिन सफल भएतापनि हुस्लाङकोटमा तनहुँका सेनाहरुले गोर्खाली सैनिकलाई पराजएको स्वाद चख्याएको हुनाले यसकोटलाई जितपुरी गढी भन्ने गरिएको किंवन्दी भेटिने धरम्पानी गाउँ विकास समितिका पूर्व वडाअध्यक्ष यमबहादुर थापा बताउँछन् ।

हुस्लाङकोटमा मौला पूजा

मन्दिरमा १३ वर्ष मुनिका कन्यकुमारहरु मात्र (महिलासंग यौन सहवास नगरेका कन्याकुमारहरु-बास्टे) पुजारीको रुपमा छनौट हुने गर्दथे। पुजारीमा छनौट भएका किशोरहरु नङ केश गरी मन्दिरमा प्रवेश गर्ने अनुमती पाउँदथे । तिनै किशोरहरु हरेक दिन बिहान नुवाइ धुवाइ गरी एक छाक चोखो खाइ उपवास बसी शिद्धबाबा (महादेव)को पूजाआजा गर्दथे । अल्पज्ञान भएका किशोरहरुबाट पूजाविधिमा त्रुटी हुने भयले समाजका बूढापाकाहरु समेत उपस्थित भइ किशोरहरुलाई अह्राइ सिकाइ गर्दथे । कोटमा पूजा सुरु हुने भएपछि छनौट गरिएका पुजारी केटाहरु मन्दिर प्राङ्गण भित्रै बस्ने गर्दथे । किशोर केटाहरु डराउलान भनेर लोर्के केटा तथा बूढापाकाहरु पनि कोटमा पालो गरेर संगसंगै बस्ने गर्दथे । दैनिक पूजाआजा र फूलपातीको शोभायात्रा कसरी अगाडि बढाउने भन्ने विषयमा बृद्धहरुले युवाहरुलाई अरापराइ गर्दथे ।

थुमथुमे राजाको पालादेखि नै सराङघाट पुगेर शुभसाइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ति, अशोकको फूल र अन्य नयाँपालुवा समेत लिएर आएको फूलपाती सहितको डोली धरम्पानीको चण्डीमन्दिरमा बिसाउने गरिन्थ्यो । त्यही फूलपातीको डोली, बारीमा रोपिएका उखु, बगैंचामा भेटिएका फलफूलहरु टिपेर डोलीमा सजाएर राख्ने गरिन्थ्यो । त्यही फूलको डोली खड्ग, निसान कलश फूलपाती शोभायात्राको शोभा बन्ने गर्दथ्यो । हरेक घरबाट एकजना व्यक्ति फूलपाती शोभायात्रामा सहभागी हुने परम्परा रहेको थियो । १०/१२ वर्षअगाडिदेखि यो परम्पराले पूर्णत विश्राम पाएको छ । मौलामा हरेक बडादसैं र चैतेदसैंमा नियमित पूजाआजा हुने प्रचलन रहेको छ । यस मौलामा मगरहरुले बोका र गुरुङहरुले राँगा बलि दिने गर्दथे । मन्दिरमा गरिने पूजाआजामा कुनै सानो गल्ती हुन गयो भने गाउँ घरमा बाघ डुलेर गाउँलेको गाईबस्तु हराउने गर्दथ्यो । पूजाविधिमा तल वितल नहोस भनेर विशेष ध्यान पुर्‍याउन बूढापाकाहरुले सघाउने गर्दथे । तलवितल परी बाघ गर्जदै गाउँमा हिंडेमा पुनः पूजाआजा गर्ने परम्परा रहेको थियो ।

हुस्लाङकोटमै सृष्टी भयेरीको थान रहेको छ । यहाँ हरेक वर्षो फागुपूणिर्माको दिन पूजा गर्ने परम्परा रहेको छ । सृष्टि भयेंरीथानमा गुरुङहरु कुखुराको बलि दिएर र मगरहरु सुंगुर -वाक)को बलि दिएर पूजाआजा गर्दछन् । बलि दिएको सुंगुरलाई तलको चौरमा लगेर रैबन्दी भाग लगाइने गरिन्थ्यो । वाकस्या (सुंगुरको मासु) भाग लाउनेचौर भएकोले यसस्थानको नाम वाक्से रहन गएको हो भन्ने गरिन्छ ।

प्रकृतिले सजिएकी हुस्लाङकोट

पहाडकी रानी बन्दीपुरबाट नजिकै रहेको हुस्लाङकोटबाट माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमश्रंखला, धौलागिरी हिमश्रृंखला, लमजुङ हिमाल, बौद्ध हिमाल एवं रामकोट, मुकुन्देश्वरी, छिम्केश्वरी सिञ्चाङगढी, छिपछिपे, बैदी, चिसापानीगढी जस्ता पर्वत श्रृंखलाहरु, शेरा, सुखौरा, झप्रि जस्ता मलिला फाँट, मनकामना र बन्दीपुरबजार जस्ता अनुपम व्यापारिक केन्द्रका साथसाथै सूर्योदय र सूर्यास्तको मनोरम दृष्यहरु सहजै अवलोकन गर्न सकिन्छ ।

अन्त्यमा सैनिक दृष्टिकोणले र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण स्थान रहेको हुस्लाङमा पुरातात्विक महत्व रहेका दरवार एवं पुराना हातहतियार तथा खरखजनाको संग्राहालय बनाउन स्थानीय निकायले पहल गर्नुपर्ने देखिन्छ ।

श्रोत सन्दर्भ :

– नेपालको बृहत इतिहास- डा बमबहादुर अधिकारी
– नेपालको उद्भव तथा विश्लेषणात्मक इतिहास- ढुण्डीराज शास्त्री
– तनहुँ राज्यको इतिहास- डा. सूर्यमणी अधिकारी
– तनहुँसुर सेरोफेरो- देब बस्न्यात
– बन्दीपुरकी आरध्यदेवी खड्गदेवी- डा. विष्णु बहादुर माझी
– अतुल्य विशाल नेपाल- डा. बाबुराम थापा
– प्रत्यक्ष वार्ता- हुस्लाङ निवासी यम बहादुर थापा र रेशमलाल थापा, व्यास-२ का श्रीप्रसाद भट्टराइ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker