बजार नपाउदा बारीमै थन्किए अदुवा : काँचो अदुवाले उचित बजारभाउ नपाउदा सुठो बनाउने तयारीमा कृषकहरु

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दक्षिणी क्षेत्रका कृषकले उत्पादन गरेको अदुवा बिक्री नहुँदा बारीमै थन्किएका छन् । काँचो अदुवाले उचित बजारभाउ नपाउँदा उत्पादित अदुवा बारीमै कुहिने हो कि भन्ने चिन्तामा कृषकहरु छन् । अदुवा खरिद गर्न ग्राहकहरु गाउँ नआएको र आएकाले पनि विभिन्न बाहाना बनाएर भाउ घटाउदा अदुवा बिक्री नगरेको ऋषिङ गाउँपालिका-४ भिरकोटका टंक श्रेष्ठ बताउँछन् ।

उनले भने, ‘बैशाखमा प्रति धार्नी दुइ सयमा विउ खरिद गरी अदुवा लगाएको हुँ र अहिले विचौलियाहरु विभिन्न बाहाना बनाएर प्रतिधार्नी ७०/८० रुपैयाँ दिन्छु भन्छन् । त्यसैले नबेचेको ।’ आफुले लगाएको भन्दापनि आधामा बेच्दा धेरै नै घाटा पर्ने हुनाले अदुवा नबेचेको उनी बताउँछन् । ‘करिव ४ सय धार्नी अदुवा खनिसकेको छु, २ सय धार्नी अझै बारीमै छ’, उनले भने, ‘म लगायत यस क्षेत्रका अन्य कषकहरुको अदुवाले उचित मोलभाउ नपाउदा अदुवा खनेका छैनौ, कतै बारीमै कुहिने त होइन भन्ने चिन्ता लाग्न थालेको छ ।’

गत वर्ष१२० रुपैयाँ धार्नीमा बेचिरहेको अदुवा यस वर्षमुल्य बढ्ला भन्दा झनै घटीघटाउमा माग्न आउदा निरास बनेका छन् अर्का कृषक पुष्प श्रेष्ठ । ‘करिव ५ सय धार्नी अदुवा छ अहिले त ग्राहकहरु किन्न आएको पनि देख्दिन’, उनले भने, ‘यसलाई न पोलेर खाना मिल्ने न उसिन्नेर, बिउ राखौं भने पनि यो धेरै हुन्छ । व्यापारीहरुले प्रत्यक्ष कृषकहरुसंग नभेट्दा हामी कृषकहरु मारमा परेका छौं।’

काँचो अदुवाले राम्रो बजार नपाएपछि सुठो बनाएर बिक्री गर्न गाउँका अदुवा कृषकबिच छलफल पनि भइरहेको श्रष्ठले बताए । उनले भने, ‘काँचो अदुवा घाटा खाएर बेच्नुभन्दा सुठो बनाएर बेच्दा मोलभाउ नि राम्रो पाइन्छ भन्ने सुनेका छौं, त्यसैले हामी सुठो बनाउने तयारीमा छौं ।’

यस्तै काँचो अदुवाले राम्रो बजार नपाएकै कारण करिव ३ वर्षदेखि सुठो बनाएर बिक्री गर्दै आएको घिरिङ गाउँपालिका-२ भरकोटका शेरबहादुर थापाले बताए । उनले भने, ‘काँचो अदुवाभन्दा सुठो बिक्री गर्दा फाइदा पनि भएको छ । गतवर्ष एक हजार रुपैयाँ धार्नीमा बेचेको थिए, अहिले ७ सय रुपैयाँ धार्नी मुल्य पाउने सुनेको छु । काँचो अदुवाले बजार नपाएको समयमा यहि पनि ठिकै होला भनेर सुठो बनाउने तयारीमा छौं ।’

काँचो अदुवालाई धुवाले ओलाएर डल्लो बनाएपछि सुठो बनाउने बताउदै थापाले भने, ‘घिरिङका अधिकांश कृषकहरुले अदुवा सुठो बनाएर नै बिक्री गर्ने गर्नुहुन्छ । नारायणघाट र विषेश गरी तर्राई क्षेत्रसंगै छिमेकी मुलुक भारतबाट समेत अदुवा खरिद गर्न आउने गर्छन्।’

यस्तै पुर्खौदेखि अदुवा खेती गर्दै आएका भिमाद नगरपालिकाका कृषक चुणामणी गर्जा पनि यस वर्ष सुठो बनाएर अदुवा बिक्री गर्ने तयारीमा रहेको बताउछन् । ‘वर्षभरीको आम्दानी यहि अदुवा नै हो, किन्नका लागि व्यापारी आएका छैनन्, बारीमै कुह्याउनुभन्दा सुठो बनाएपछि बिक्री हुन्छ कि भन्ने आशले यता तिर लागेका छौं ।’

‘स्थानीयहरु नै विचौलियाको काम गरी हामीबाट कम मुल्यमा खरिद गर्ने र उच्च मुल्यमा व्यापारीलाई बिक्री गर्ने गर्छन्’, उनले भने, ‘व्यापारीसंगै प्रत्यक्ष कुराकानी गरी बिक्री गर्न पाए हामी कृषकहरु पनि मारमा पर्ने थिएनौं ।’ स्थानीय सरकारले पनि कृषकका उत्पादन बजारीकारणमा त्यती चासो नदिएको कृषकहरुको गुनासो छ ।

जिल्लाको भिमाद नगरपालिका, ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाका ग्रामीण क्षेत्रका कृषकहरुले व्यवसायिक रुपमा अदुवा खेती गर्ने गरेका छन् । चालु आर्थिक वर्षमा अदुवा बिक्री नहुँदा अधिकांश कृषकहरुले अहिलेसम्म अदुवा खनेका छैनन् । यहाँका कृषकहरुले उत्पादन गरेको अदुवा स्थानीय बजार, पोखरा, नारायणघाट र बढी भारतमा बिक्री हुने गरेको छ ।

अदुवा खेतीतर्फ कृषकहरुको आकर्षण बढ्दो रहेतापनि पछिल्ला वर्ष अदुवाको बजारीकरण नहुँदा कृषकहरु निराश बन्दै गएको भिमाद कृषि शाखाका प्रमख शर्मिला अमगाई बताउँछिन् । उनले भनिन्, ‘चालु आर्थिक वर्षमा काँचो अदुवा बिक्री नहुँदा कृषकहरुले सुठो बनाएर बिक्री गर्ने तयारीमा छन् ।’

यस्तै, छिमेकी मुलुक भारतबाट अदुवाको माग कम भएको कारण उत्पादित अदुवाले बजार नपाएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । उनका अनुसार यस वर्ष कृषकहरुले ५१५ हेक्टर क्षेत्रफलमा अदुवा लगाएका छन् र करिव ७ हजार ६ सय मेटि्रकटन अदुवा उत्पादन हुने अनुमान गरिएको छ । त्यस्तै, गत वर्ष ५१२ हेक्टर क्षेत्रफलबाट करिव ७ हजार ५८० मेटि्रकटन अदुवा उत्पादन गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker