सम्पादकीय : स्वास्थ्य सेवा प्रभावकारी बनाउने बन्दीपुर अस्पतालको अभियान

स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । तर स्वास्थ्य संस्था नजिकै भएर पनि त्यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा धेरै नागरिक उपचारको अवसरबाट वञ्चित भइरहेका हुन्छन् । विशेषगरी ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रमा बिरामीका लागि अस्पतालसम्म पुग्नु नै ठूलो चुनौती बन्ने गरेको छ । यस्तो अवस्थामा तनहुँको बन्दीपुर अस्पतालले सुरु गरेको सहुलियतपूर्ण विद्युतीय माइक्रो सेवा केवल यातायातको सुविधा होइन, स्वास्थ्य सेवाको पहुँच विस्तारतर्फको महत्वपूर्ण कदम हो । बन्दीपुर गाउँपालिकाको पुरानो सदरमुकाममा रहेको बन्दीपुर अस्पतालले संविधान दिवसको अवसर पारेर विद्युतीय माइक्रो सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालसम्म आउन कठिन हुने बिरामीलाई लक्षित गरी सुरु गरिएको यो सेवाअन्तर्गत ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिले निःशुल्क यात्रा गर्न पाउनेछन् । अन्य बिरामीले पनि निर्धारित भाडामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । आर्थिक रूपमा कमजोर परिवारका लागि यस्तो सुविधा उपचारमा पहुँच बढाउने महत्वपूर्ण माध्यम बन्न सक्छ । हामीकहाँ स्वास्थ्य सेवाबारे चर्चा गर्दा प्रायः अस्पतालको भवन, चिकित्सक, उपकरण र औषधिको उपलब्धतालाई प्राथमिकता दिइन्छ । यी सबै आवश्यक विषय हुन् । तर बिरामी अस्पतालसम्म कसरी पुग्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । गाउँमा सडक भए पनि नियमित सार्वजनिक यातायात नहुनु, निजी सवारी महँगो पर्नु, बिरामीलाई लामो दूरीसम्म बोकेर लैजानुपर्ने अवस्था आउनुजस्ता समस्या अझै ग्रामीण क्षेत्रमा विद्यमान छन् । यस्तो अवस्थामा अस्पतालले नै सहुलियतपूर्ण यातायातको व्यवस्था गर्नु व्यवहारिक र नागरिकमुखी पहल हो ।

बन्दीपुर अस्पतालले पछिल्लो समय सेवा विस्तारमा देखाएको सक्रियता पनि सकारात्मक पक्ष हो । सातै दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म विस्तारित ओपिडी सञ्चालन हुनु दैनिक काम गर्ने नागरिकका लागि उपयोगी बनेको देखिन्छ । दैनिक ज्यालादारी मजदुर, शिक्षक, कर्मचारी र विद्यार्थीले नियमित कार्यालय तथा अध्ययनको समय नछाडीकन स्वास्थ्य सेवा लिन पाउने अवस्था सिर्जना हुनु सामान्य देखिए पनि यसको सामाजिक महत्व ठूलो छ । गत आर्थिक वर्षमा बन्दीपुर अस्पतालको ओपिडीबाट २३ हजार ९८० जनाले सेवा लिनु र त्यसमध्ये ११ हजार ८०९ जनाले नियमित समयबाहेकको अतिरिक्त समयमा उपचार सेवा लिनुले पनि विस्तारित सेवाको आवश्यकता देखाउँछ।

स्वास्थ्य संस्था नागरिकको जीवनशैली र आवश्यकताअनुसार खुल्न सक्नुपर्छ भन्ने यसबाट स्पष्ट हुन्छ । अस्पतालको समय बिरामीको सुविधाअनुकूल बनाउन सकिए उपचारका लागि काम वा पढाइ छाड्नुपर्ने बाध्यता कम हुन्छ । अस्पतालले परीक्षण सेवामा समेत विस्तार थालेको छ । बन्दीपुरमै थाइराइड, भिटामिन–डी र भिटामिन बी–१२ परीक्षण सुरु हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण सुविधा हो । यसअघि सामान्य परीक्षणका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता थियो भने यस्ता सेवा स्थानीयस्तरमै उपलब्ध हुँदा समय र खर्च दुवै बचत हुन्छ । आकस्मिक उपचारका लागि डिफिब्रिलेटरको व्यवस्था तथा रेबिजविरुद्धको खोप नियमित उपलब्ध गराउने प्रयास पनि आवश्यकतामा आधारित सेवा विस्तारका उदाहरण हुन् ।

चालु आर्थिक वर्षभित्र फिजियोथेरापी, पोस्टमार्टम, डायलायसिस, अपरेसन थिएटर, ब्लड बैंक, थ्री–डी भिडियो एक्सरे तथा क्याबिनसहितको भर्ना सेवा सञ्चालन गर्ने योजना अघि सारिएको छ । यी सेवा सञ्चालनमा आएमा बन्दीपुर र आसपासका नागरिकले सामान्यदेखि विशिष्टीकृत उपचारका लागि अन्यत्र धाउनुपर्ने अवस्था केही हदसम्म कम हुन सक्छ। तर प्रत्येक सेवा सञ्चालनअघि आवश्यक जनशक्ति, उपकरण, सुरक्षा मापदण्ड र आर्थिक स्रोतको दीर्घकालीन सुनिश्चितता गर्नुपर्छ । अस्पतालको विकास केवल अस्पताल प्रशासनको जिम्मेवारी होइन ।

स्थानीय सरकार, प्रदेश सरकार, स्वास्थ्य संस्था, निजी क्षेत्र, दाता र समुदायबीचको सहकार्यबाट मात्रै स्थानीय अस्पताललाई दिगो र भरपर्दो बनाउन सकिन्छ। बन्दीपुर अस्पतालमा यातायातदेखि उपचारसम्म सेवा विस्तार गर्ने प्रयासले यही सहकार्यको आवश्यकता पनि देखाएको छ। अझ महत्वपूर्ण कुरा, अस्पतालको सेवा विस्तारसँगै यसको उपयोगबारे समुदायमा जानकारी पुर्याउन आवश्यक छ । बन्दीपुर अस्पतालको सहुलियतपूर्ण इभी माइक्रो सेवा एउटा सुरुवात हो । यसको सफलता बिरामीको वास्तविक पहुँच, नियमितता र सेवाको प्रभावकारिताबाट मापन हुनेछ। सेवा आवश्यक ठाउँमा समयमै पुग्न सके मात्र यसको उद्देश्य पूरा हुन्छ। त्यसैले यातायात सेवा नियमित र भरपर्दो बनाउँदै ग्रामीण बस्तीलाई अस्पतालसँग जोड्ने मार्ग विस्तार गर्नुपर्छ ।

स्वास्थ्य सेवा भनेको अस्पतालको ढोकाभित्र मात्र सीमित विषय होइन । बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउने सहज व्यवस्था, समयअनुकूल सेवा, आवश्यक परीक्षण, दक्ष जनशक्ति र उपचारपछि आवश्यक परामर्शसम्मको समग्र व्यवस्था नै प्रभावकारी स्वास्थ्य सेवा हो । बन्दीपुर अस्पतालले सुरु गरेको पहल यही व्यापक सोचतर्फको कदम बन्न सकेमा यसको लाभ बन्दीपुरका नागरिकमा मात्र सीमित रहने छैन, आसपासका ग्रामीण क्षेत्रका नागरिकले पनि प्रत्यक्ष लाभ लिन सक्नेछन् । अस्पताल बनाउनु पहिलो आवश्यकता हो, तर अस्पतालसम्म पुग्ने बाटो सहज बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ । बन्दीपुरले सुरु गरेको सहुलियतपूर्ण यातायात सेवा यही सन्देशको व्यवहारिक उदाहरण हो । अब यसलाई नियमित, व्यवस्थित र दिगो बनाउँदै अस्पतालका विस्तारित सेवाको गुणस्तर कायम गर्नु आवश्यक छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker