भूमि आयोग तनहुँका सदस्यद्वारा शपथग्रहण
भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय भूमि आयोग तनहुँको सदस्यमा नियुक्त भएका तीन जनालाई शपथग्रहण गराइएको छ । मन्त्रिपरिषद्को गत फागुन १६ को निर्णयानुसार आयोगको जिल्ला सदस्यमा नियुक्त भएका श्रीराम कार्की, कृष्ण गुरुङ र सर्वदा खनाललाई शुक्रबार एक कार्यक्रमका बीच शपथग्रहण गराइएको हो ।
जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले उनीहरुलाई शपथग्रहण गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रादेवी पौडेल, नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्य, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमकुमारी पौडेल, प्रदेश कमिटी सदस्य अतिन्द्रकेशरी न्यौपाने लगायत सहभागी थिए ।
आयोगको सदस्यमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व हुने गरी सदस्य नियुक्त भएका हुन् । त्यसमध्ये कार्की नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव, गुरुङ जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष र खनाल नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन् ।
मन्त्रिपरिषद्को गत फागुन १६ को निर्णयानुसार तीन जना सदस्यमा नियुक्त भएका हुन् । राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ को दफा ८ को उपदफा (१) को खण्ड (च) बमोजिम सदस्य नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।
आयोगको जिल्ला अध्यक्षमा नेपाली कांग्रेसका नेता रामचन्द्र अधिकारी नियुक्त भइसकेका थिए । भूमि आयोगले जिल्लाका सबै पालिकासँग सम्झौता समेत गरिसकेको छ ।
आयोगले गत फागुन २६ गते सूचना प्रकाशित गरी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा प्राप्त गर्नका लागि सूचना जारी गरिसकेको छ । फागुन २६ देखि ३५ दिनभित्र स्थानीय तहका वडामा छुट भएकाले निवेदन दिन सक्ने बताइएको छ ।










