देवघाटको मणिमुकुन्देश्वर नक्षत्र वाटिका उपेक्षामा

दमौली : देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा रहेको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वनभित्र निर्माण गरिएको नक्षेत्र वाटिका हाल संरक्षण अभावका कारण अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने यो वाटिका उचित व्यवस्थापन नहुँदा दिनानुदिन उजाड बन्दै गएको हो ।

शम्भु तपो धार्मिक वनअन्तर्गत करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको नक्षेत्र वाटिकामा प्रारम्भिक चरणमा धार्मिक महत्व बोकेका तथा औषधीय गुण भएका विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका थिए । तुलसी, श्रीखण्ड, बेल, बरपिपल, पारिजात, अमला, हर्रोबर्रो, आँप, डुम्री, टुनी, सिसौ, टाकीलगायत बोटबिरुवाले वाटिकालाई धार्मिक तीर्थस्थलको गरिमा झल्काउने उद्देश्य राखिएको थियो ।

तर समयसँगै उचित संरक्षण, नियमित स्याहारसम्भार र व्यवस्थापन नहुँदा वाटिकाको अवस्था दयनीय बन्दै गएको छ । हाल धेरै बिरुवा सुकिसकेका छन्भने बाँकी जीवित रहेका बोटबिरुवा झाडी र काँडाले घेरेका छन् । बोटबिरुवाको संरक्षणका लागि निर्माण गरिएको बारघेर जीर्ण अवस्थामा पुगेको छ, जसका कारण चौपायाको प्रवेश तथा अन्य क्षतिको जोखिम बढेको स्थानीय बताउँछन् ।

स्थानीयवासीका अनुसार वाटिका निर्माणको सुरुआती चरणमा आकर्षक, चिटिक्क र व्यवस्थित देखिन्थ्यो । तर निर्माणकार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेपछि संरक्षण र रेखदेखमा निरन्तरता नदिँदा समस्या उत्पन्न भएको हो । मल, पानी, जाल, नियमित गोडमेल तथा आवश्यक स्याहार नपाउँदा वाटिका पूरै उजाड बन्ने अवस्थामा पुगेको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत राजकुमार श्रेष्ठले वाटिका निर्माणपछि संरक्षणमा कमजोरी हुनु साझा समस्या रहेको बताउनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न भएपछि दीर्घकालीन संरक्षण र व्यवस्थापनको स्पष्ट जिम्मेवारी तोक्न नसक्दा यस्तो अवस्था आएको हो । समुदाय, आश्रम र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।

वन अधिकृत श्रेष्ठका अनुसार हाल सम्बन्धित समितिले वाटिकाको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक कार्ययोजना स्वीकृतिका लागि पेस गरिएको छ । चालु आर्थिक वर्षमा कार्यक्रम तथा बजेट स्वीकृत भए डिभिजन वन कार्यालयबाट प्राविधिक तथा आवश्यक सहयोग उपलब्ध गराइने उहाँले स्पष्ट पार्नुभयो ।

मुख्यतः मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वन र सम्बन्धित समितिमाथि वाटिकाको संरक्षण, रेखदेख र दीर्घकालीन व्यवस्थापनको जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले स्थानीय समुदायको सक्रिय सहभागिताबिना संरक्षण सम्भव नहुने धारणा राख्नुभयो । धार्मिक आस्थासँगै जैविक विविधता संरक्षण र हरियाली प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको मणिमुकुन्देश्वर नक्षेत्र वाटिकालाई जोगाउन तत्काल पहल आवश्यक देखिएको छ । स्थानीयवासी तथा सरोकारवालाले बजेट सुनिश्चितता, जिम्मेवारी स्पष्टता र नियमित अनुगमनको व्यवस्था गरी वाटिकालाई पुनः जीवन्त बनाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker