प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसमा अवसरमा फलफूल वितरण
भञ्ज्याङ समाचारदाता/दमौली

प्रेस चौतारी नेपालको २५औ स्थापना दिवसको अवसरमा तनहुँ शाखाले ज्येष्ठ नागरिक आश्रममा फलफूल वितरण गरेको छ । शाखाले व्यास-५ स्थित राष्ट्रिय परोपकार महासंघ नेपालले सञ्चालन गरेको ज्येष्ठ नागरिक आश्रममा आइतबार फलफूल वितरण गरेको हो ।
ज्येष्ठ नागरिकलाई फलफूल हस्तानतरण गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोग सदस्य नारायण खड्का, तनहुँ शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठ, अध्यक्ष राजकुमार श्रेष्ठ विवि लगायतले श्रमजीवि पत्रकारको ठूलो संगठन प्रेस चौतारी भएको चर्चा गरेका थिए ।
राष्ट्रिय परोपकार महासंघ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले दाताको सहयोगले आश्रम सञ्चालन भइरहेको र हामीले कोही नभएका वृद्धवृद्धालाई आश्रममा राख्ने गरेको बताए । यस्तै, स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपालद्वारा स्थापित हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईलाई प्रदान गरिएको छ ।
अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा), सावित्रीदेवी-पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराइ (सुनसरी) र चन्द्र न्यौपाने-शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट(डडेलधुरा)लाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार २५औ प्रेस चौतारी दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
प्रेस चौतारीले आफ्ना अग्रजको सम्मान तथा क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा संगठनका उपाध्यक्ष देवीका घर्ती मगर र महासचिव हीरामान लामा सदस्य रहेको छनोट समितिले पुरस्कृतको नाम चयन गरेको थियो ।










