पल शाह प्रकरण : अदालतमा जवर्जस्ती करणीको मुद्दा दर्ता, कस्ले के बयान दिए ? (अभियोगपत्रसहित)
भञ्ज्याङ न्यूज

नावालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा चर्चित अभिनेता पल शाह भन्ने पूर्ण विक्रम शाह अहिले प्रहरी हिरासतमा छन् । अधिकारप्राप्त अधिकारीले उक्त अभियोगमा अनुसन्धान गरी मंगलबार दिउँसो १२ बजे तनहुँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले मुलुकी फौजदारी कार्यविधि संहित, २०७४ को दफा ३२ बमोजिम यस घटनासंग जोडिएका वादी र प्रतिवादीहरुसंग वयान कागज गरी कारवाही शुरु गर्न अनुरोध गर्दै अभियोगपत्र दर्ता गरेसंगै मंगलबारै दिउँसा ३ बजेदेखि प्रतिवादी पल शाहको बयान लिइएको थियो ।
अभियोगपत्रमा पल शाह भन्ने पूर्ण विक्रम शाह र कृष्ण जोशी भन्ने कृष्ण प्रसाद जोशीलाई प्रतिवादी बनाई तनहुँ जिल्ला अदालतमा जवर्जस्ती करणीको मुद्दामा अभियोग पत्र दर्ता गरिएको छ ।
अधिकार प्राप्त अधिकारीले गवाह जाहेरवाला परिवर्तित नाम ०७८/७९ त कुमार, पीडित परिवर्तित नाम ०७८/७९ व्यास १२, पक्राउ परेका प्रतिवादी पल शाह र कृष्ण जोशी र यस घटनासंग जोडिएका देख्ने/सुन्ने १६ जनासंग लिइएको वयान कागज सरकारी वकिलको कार्यालयले अदालतमा पेश गरेको छ । यस्तै, यीसंगै घटनासंग सम्बन्धित ११७ वटा दसी प्रमाण तथा कसुरसंग सम्बन्धित चिज वस्तु समेत अदालतमा पेश गरी कारवाही शुरु गर्न अनुरोध गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी गराएका छन् ।
सरकारी वकीलको कार्यालय तनहुँले तनहुँ जिल्ला अदालतमा दर्ता गराएको अभियोग पत्रको पूर्णपाठ (स्रोत : सरकारी वकीलको कार्यालय, तनहुँ)
तनहुँ जिल्ला अदालतमा अभिनेता पल शाहविरुद्ध सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गरी बयान लिइएको छ । सरकारी वकिलको कार्यालयले मंगलबार दिउँसो १२ बजे अभियोगपत्र दर्ता दिउँसो ३ बजेदेखि शाहसंग बयान लिइएको थियो । सो क्रममा अभिनेता शाहले पीडित नाबालिका हुन् भन्ने आफूलाई थाहा भएको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय, तनहुँले गरेको अनुसन्धानका क्रममा सरकारी वकिलसमक्ष बयान दिँदै उनले पीडित १८ वर्षन्दा कम उमेरको भएको थाहा भएको उल्लेख गरेका छन् ।
शाहले सार्वजनिक भएको अडियो रेकर्डमध्ये ‘ब्वाइ र्प|mन्ड र गर्ल र्प|mन्ड बीच हुनु नर्मल हो’ भन्ने आवाज पनि आफ्नै हो भनेका जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ । तर उनले जबरजस्ती करणी गरेको अभियोग चाहिँ स्वीकारेका छैनन् ।
घटना भएको भनिएको दिन आफू पीडित सुतेको कोठामा गएर ढोका धकेलेर भित्र पसेको उनले स्वीकारेका अभियोगपत्रमा उल्लेख छ। तर वियर खान दिएर फेसवास लिएर कोठामा गई कमल खत्रीसँग सुतेको भनेका छन् । पीडितले २०७८ सालको जेठ महिना अन्तिमतिर फोन गरेर आफूहरुको सम्बन्धबारे अरुले थाहा पाएको बताएको उनले भनेका छन् ।

‘मलाई गाह्रो भयो, महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नुपर्छ भन्ने म्यासेजहरु मलाई प्रेसित गरेकी थिइन्’ उनले भनेका छन्, ‘छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ ।’
शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँले मंगलबार जबर्जस्ती करणीको मुद्दा दर्ता गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरित उपदफा (२) को परिभाषित कसूर अपराध भएको देखिदा निज प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहलाई सोही संहिताको दफा २१९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन अभियोग मागदावी लिईएको छ ।
अभिनेता शाहको बयान सकिएपछि वादी र प्रतिवादीका तर्फाट अदालतमा बहस हुनेछ । दुवै पक्षका वकिलले बहस गरेपछि थुनछेक आदेश हुने प्रावधान रहेको छ । थुनछेकमार्फ् शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश सुनाइन्छ । दुवै पक्षबाट बहस गर्ने वकिलको संख्या धेरै रहेकाले अदालतमा कम्तिमा एक सातासम्म बहस चल्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर राय सहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
यस्तै, शाहका म्यानेजर भनिएका कृष्ण जोशीविरुद्ध सरकारी वकीलको कार्यालय तनहुँले प्रस्तुत मुद्दामा अर्का प्रतिवादी कृष्ण जोशी भन्ने कृष्ण प्रसाद जोशीबाट वारदात अघि पीडित र प्रतिवादी पल शाह बीचमा सम्बन्ध राख्न, नजिक हुन वातावरण मिलाएको, प्रदिप थापाको घरमा मिति २०७८/०१/१४ गते राती अं.१२:०० बजे पीडित परिवर्तित नाम ०७८/७९ व्यास १२ लाई प्रतिवादी पल शाहले करणी गरे पछि अर्थात वारदात पछि निज मुख्य प्रतिवादी पल शाह भन्ने पूर्ण बिक्रम शाहलाई कसूरबाट जोगाउन उक्त घटना पीडितबाट प्रकाशमा ल्याउन नदिने, पल शाह विरुद्ध उजुरी नगर्न दबाब दिने, फोनमा डर, त्रास देखाउने, अनुचित प्रभावमा पार्ने, धम्काउने जस्ता कार्य गरेको मिसिल संलग्न तथ्यहरुबाट देखिएको उल्लेख गरेको छ ।
मतियाराका रुपमा देखिएका कृष्ण जोशी भन्ने कृष्ण प्रसाद जोशीले गरेको उक्त कसूरजन्य कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरित उपदफा (२) को परिभाषित कसूर तथा (३) (ग) अनुसारको कसूर सजायमा सोही संहिताको दफा ३६(१) विपरित (२) अनुसारको परिभाषित कसूर अपराध भएकोले निज प्रतिवादी कृष्ण जोशी भन्ने कृष्ण प्रसाद जोशीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) को खण्ड (ग) बमोजिम हुने सजायमा मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ (३) (ख) बमोजिम सजाय हुन अभियोग मागदावी गरिएको छ ।
तनहुँमा गत फागुन ११ गते नाबालिगकले शाह विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् । त्यसपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मर्समर्पण गरेका थिए । सोही दिन प्रहरीले शाह विरुद्ध सात, २१ गते १२ र चैत ४ गते पाँच दिनको म्याद थप गरेको थियो ।
यस्तै, शाहविरुद्ध पूर्वीनवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ । पीडित भनिएकी नाबालिगले दुइ ठाउँमा शाहविरुद्ध जाहेरी दिएकी थिइन् । तनहुँ जिल्ला अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पूर्वीनवलपरासीको मुद्दाको प्रकृया अगाडि बढाउने बताइएको छ ।
तनहुँ अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाए पूर्वी नवलपरासी अदालतमा उनको बयान मात्र हुने र फैसलाको प्रकृया अगाडि बढ्न सक्ने बताइएको छ । पूर्वीनवलपरासी जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षम्म कैद सजाय माग गर्दै अभियोग दर्ता गरेको छ ।










