तनहुँको दुलेगौँडामा २ करोडको लगानीमा अटोमोबाइल्स संचालन

- भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
तनहुँको शुक्लागण्डकी-४, दुलेगौँडामा करिब दुइ करोडको लगानीमा राम्जाली अटोमोबाइल्स संचालनमा ल्याइएको छ । दुइ पाङग्रे सवारी साधनलाई आवश्यक सबै किसिमको उच्चस्तरीय सेवा उपलब्ध गराउने गरी युवा व्यवसायी सुरज राम्जालीले अटोमोबाइल्स संचालनमा ल्याएका हुन् ।
त्यहाँबाट स्पेयर पार्टस्, डेण्टपेन्ट, मर्मत, रिकन्डिसन तथा स्वदेश तथा विदेशका ब्राण्डेट हेल्मेट उपलब्ध हुने संचालन राम्जालीले जानकारी दिए । ग्राहक वर्गको आवश्यकता र मागलाई मध्यनजर गर्दै एउटै छानामुनीबाट सवै किसिमको सेवा उपलब्ध गराउने गरी सेवा शुभारम्भ गरिएको संचालन राम्जालीले बताए ।
दुलेगौँडास्थित जागृतीटोलबाट सेवा दिन लागेको अटोमोबाइल्सको शनिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री गुरुङले उद्योग व्यवसाय संचालन गर्नाले राष्ट्रको समृद्धिको अभियानमा टेवा पुग्ने बताए । उनले उद्योग संचालन हुँदा युवाहरुका लागि रोजगारको अवसर सिर्जना हुने र देशको अर्थतन्त्र थप बलियो बनाउन सकिने बताउँदै राम्जालीलाई व्यवसायिक सफलताको शुभकामना दिए ।
उक्त अटोमोबाइल्समा हाल ६ जना युवाले रोजगारी पाएका छन् । अटोमोबाइल्समा हिरा, बजाज, होण्डा, टिभिएस, यामाहा, सुजुकी लगायतका सबै कम्पनीका मोटरसाइकल र स्कुटरका मर्मतदेखि सबै कामहरु हुने बताइएको छ ।










