पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका

के.बि. मसाल

पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन सगठनको परिभाषा अनुसार पर्यटकले आफ्नो सामान्य परवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरु उद्देश्यका लागि यात्रा गर्ने मानिसहरुलाई जनाउँछ । अहिले विश्वमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ । यसरी देश विदेश घुम्ने, महत्वपूर्ण स्थलहरुको भ्रमण गर्ने, संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन, जीवनशैलीको अध्ययन गर्ने, ऐतिहासिक पुरातात्विक एवम धार्मिक स्थलहरुमा अध्ययन अनुसन्धान गर्ने, प्रकृति सौन्दर्यमा रमाउने जस्ता विभिन्न उद्देश्य बोकेर भ्रमण गर्नेहरु पर्यटक हुन ।
सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिहरुका बीच सूचना, बिचार, अनुभव, भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ । एक अर्काबीच सूचना, विचार, धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझन सकिन्छ। सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो । तसर्थ सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो । नेपालको सन्दर्भमा पर्यटन अर्थतन्त्रको मेरुदण्ड नै हो। पर्यटन क्षेत्रको विकासले नै मुलुकको अर्थतन्त्रलाई सबल र सक्षमता बनाउन सक्दछ । पर्यटन विकासमा विभिन्न पक्षको भूमिका रहन्छ। जसमा सञ्चार क्षेत्रको पनि अहम भूमिका रहन्छ । सञ्चारको सहयोग विना पर्यटन प्रवर्द्धन गर्न सकिदैंन ।
पर्यटन व्यवसायलाई मूर्तरुप दिन र यस व्यवसायलाई प्रवद्र्धन गर्न सकारात्मक प्रचार–प्रसारमा सञ्चारको भूमिका बढी रहन्छ। स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चार माध्यमले पर्यटकीय स्थलहरुको पहिचान, खोज र तीसँग सम्बन्धित समाचारहरुलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरी पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा सञ्चारको महत्वपूर्ण भूमका रहन्छ । नेपालका हरेक प्रदेश र जिल्लामा मनोरम ताल तलैया, धार्मिक आस्थाका मन्दिरहरु, झरनाहरु, गुफा, संग्रहालय लगायतका स्थलहरु प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै आएका छन । यस्ता पर्यटकीय सम्भावना बोकेका स्थल र क्षेत्रहरुको प्रचार–प्रसार गर्न सकेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्दछन । त्यसैले ओझेलमा परेका पर्यटकीय स्थलहरुको बारेमा समाचारलाई प्रथामिकताका सााथ प्रकाशन प्रशारण गरी त्यहाँको सम्रग पक्ष र प्राकृतिक सुन्दरता, विशेषता, पशुपक्षी, भेषभूषा, खानपान, संस्कृति आदिबारे फरक–फरक तवर र तरिकाबाट समाचार बनाएर विश्वव्यापी प्रचार रणनीति अपनाउन सके बाह्य पर्यटकहरुको लागि पनि नेपाल आकर्षणको गन्तव्य बन्न सक्दछ ।
अहिलेसम्म नेपालमा पर्यटनको विकास गर्दा केही उच्च हिमशिखर, धार्मिक वा ऐतिहासिक महत्वको स्थानहरु वा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानहरुलाई नै महत्व दिने गरिएको छ । तर पर्यटनको विकासका सन्दर्भमा एउटा अर्को पक्षप्रति पनि ध्यान जानुपर्ने आवश्यकता छ । त्यो हो ग्रामीण पर्यटन । ग्रामीण पर्यटनलाई विकास गर्ने प्रयत्न गरियो भने त्यसले पर्यटनको विकासमा एउटा नयाँ आयाम थप्ने छ । अर्को शब्दमा त्यसले पर्यटनको विकासमा गुणात्मक फडको नै ल्याउने छ । ग्रामीण पर्यटनले दुरदजारका ग्रामीण क्षेत्रहरुको विकास पुग्नुका साथै आम जनताहरुलाई प्रत्यक्ष रुपले लाभ पुग्नेछ । सरकारले ग्रामीण पर्यटनको विकासका लागि कुनै ठोस योजना बनाइएको देखिदैन । अहिले पर्यटनको क्षेत्रमा ग्रामीण पर्यटन प्रति पर्यटकहरुको रुचि बढदै गएको छ। नेपाल गाउँनै गाउँको देश हो । प्रत्येक गाउँका आ–आफ्ना बेग्लाबेग्लै प्रकारका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक विशेषताहरु छन । ती सबै पर्यटनका विषयहरु हुन । ती सम्पदाहरुलाई व्यवस्थित गरेर पर्यटनको विकास गर्न सकिन्छ । पर्यटनसंग गाउँहरु जोडिएपछि पर्यटनको विकास हुन जान्छ । त्यसको अर्थ यो पनि हो ग्रामीण पर्यटनको विकास हुनुनै गाउँहरु पनि विकास हुँदै जानु हो । त्यसरी ग्रामीण पर्यटनले पर्यटन क्षेत्रमा एउटा नयाँ आयाम थप्ने र त्यसमा गुणात्मक फडको ल्याउने छ ।
मानिसको व्यक्तिगत पहिचान भनेको उसले अवलम्बन गरेको धर्म र संस्कृति हो । भौगोलिक प्रभाव वा धार्मिक कारणले त्यो एक ठाउँको मानिसको भन्दा अर्को ठाउँको मानिसको भिन्दै हुन सक्छ । कतिपय अवस्थामा एकैधर्मका मानिसहरुको परम्परा र संस्कृति फरक पनि हुनसक्छ। धर्म, संस्कृति, परम्परा, खानपान, चाडपर्व, संगीत, मानिसका चासोका विषय हुन भने त्यस विषयसँग सम्बन्धित धार्मिक, सांस्कृतिक ऐतिहासिक र पुरातत्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरु  पर्यटकीय रुपमा कहिलै पुराना हुँदैनन । यिनीहरुले मानिसका लागि त्यत्तिकै दर्शनीय महत्व बोक्दछन । विशेष गरी विकसित देशहरुभन्दा अविकसित देशहरुले बढी महत्व राखेका छन । विकासले ल्याएको परिवर्तन र व्यस्तता अविकसित देशहरुमा कम भएकाले यस्तो देखिएको हो । पर्यटनको महत्वका कारण अहिले पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक स्थलहरुको खोजी संरक्षण र विद्यमान संस्कृति एवं परम्परालाई  पर्यटकीयस्थल को रुपमा बिकास गर्न पर्दछ ।
पर्यटन र वातावरण एक–अर्कामा ज्यादै नगिचको सम्बन्ध राख्दछन । किनभने मानिस अनुकूलको वातावरण भएन भने त्यो स्थानमा पर्यटनको कुनै सम्भावना रहँदैन । प्रकृतिबाट प्राप्त वातावरणलाई व्यवस्थित गरी पर्यटनको विस्तार गर्न भने सकिन्छ । डाँडा, पर्वत, हिमाल, वन जंगल, जीवजन्तु, वनस्पति, ताल, झरना, नदी, हावापानी आदी सबै कुराहरु वातावरणभित्र पर्दछ । सामान्यतया पर्यटकहरु आफ्नो व्यस्त र भीडभाडको वा बेफुर्सदी जीवनबाट समय निकालेर केहीबेर केही दिन त्यस्तो स्थानमा यात्रा गर्न चाहन्छन जहाँ गएर उसले कुनै शारीरिक एवं मानसिक यातना वा दुःखकष्ट बेहोर्नु पर्दैन । स्वास्थ्य अनुकूलको वातावरणमा मनोरञ्जन गरी खुशी प्राप्त गर्नु नै उसको मुख्य उद्देश्य हुन्छ । त्यसैले पर्यटनका लागि अनुकूल वातावरणमा मात्र पर्यटनको कल्पना हुन सक्छ । पृथ्वीका विभिन्न क्षेत्रमा विभिन्न किसिमका प्राकृतिक वातावरण पाइन्छन । कतिपय अवस्थामा जो आफै मानवका लागि अति रोमाञ्चक, आनन्ददायी, अनौठो मनमोहक र चुनौतीपूर्ण हुन सक्छन । जसमा सबैखाले पर्यटकहरु रमाउन सक्दछन । कतिपय स्थानहरु त पर्यटकहरुले स्वस्थ्य पर्यटनका रुपमा पनि उपयोग गरिरहेका हुन्छन ।
बिश्वको कुनै पनि भूगोलको हरेक मानिस घुमफिर गर्न रमाउछ । नेपालमा वाह्य पर्यटकहरु हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन । नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र छन् । साना ठूला गरेर नदी, खोला–नालाको सख्या पनि छ हजारभन्दा बढी छन् । देशभरी गरेको अध्ययनका क्रममा पाँच हजार ३५८ वटा ताल भेटिएका छन् । संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा रहेका छन् । ती ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् । ताल क्षेत्रलाई सिमसार क्षेत्रका रुपमा पनि चिन्ने गरिन्छ । नेपालका तालतलैयालाई एसियाका ‘वाटर टावर’ पनि भन्ने गरिन्छ ।
नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ । पर्यटनको विकासले देशको अर्थतन्त्रमा सुधार आउन सक्छ ? यस विषयमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीयस्थल ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा भौतीक पूर्वाधार निर्माण गर्न पर्दछ  पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । पर्यटन ब्यवसाय निजी क्षेत्रबाट चल्ने हो । पछिल्लो समय पर्यटनको बिकासको लागि निजी क्षेत्रको लगानी हुन थालेको छ । निजी क्षेत्रको लगानीबाट पर्यटनलाई लक्षित गरी पर्यटन उद्योगहरु स्थापना भएका छन् । पर्यटनको क्षेत्रमा निजी क्षेत्रको लगानीमा फन पार्क, भ्युटावर, ड्रिमपार्क र होटलमा निजी क्षेत्रको लगानी भएको छ। पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षण हुन थाले पछि पर्यटनको पूर्वाधार बढेको छ । घुमफिरको संस्कृति विकास भएको छ । गाउँ गाउँमा घरबास अर्थात होमस्टे सञ्चालनमा आएका छन्। घुमफिरको संस्कृतिलाई ‘क्यास’ गर्दै निजी व्यवसायीहरुले फन पर्क निर्माण गर्न थालेका छन। पर्यटनको क्षेत्रमा यसलाई सकारात्मक कार्य मान्नु पर्दछ ।
मुलुकको पर्यटन प्रवर्द्धन र बिकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनिय भूमिका रहेको हुन्छ। जति धेरै प्रचार प्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्राउन सकिन्छ त्यसका लागि सञ्चार माध्यमले बिशेष योगदान गरेको छ र हाल संसारभरीकै लागि पर्यटन उद्योग सबैभन्दा ठूलो ब्यबसायका रुपमा परिणत भइसकेको छ । सञ्चारको तिब्र विकास र बिश्वब्यापीकरण हुनु, इन्टरनेटको सहज पहुँच हुनु, बिश्व एक गाउँ अर्थात संसार एउटा सानो गाउँ जस्तो बन्दै जानु, अन्तर्राष्ट्रिय संगठनहरु स्थापित र विकसित हुँदै जानु शिक्षा, खेलकुद, सभा–सम्मेलनको अन्तर्राष्ट्रिय सञ्जाल बन्दै जानु आदि कारणले पर्यटन उद्योग विश्वव्यापी र विशाल उद्योग बन्दै गएको छ । यो सूचनाको समय हो । सञ्चारको युग हो । आज हरेक क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सञ्चार अपरिहार्य भएको छ । पर्यटनको प्रवर्द्धनमा सञ्चारको भूमिका अझ महत्वपूर्ण हुन्छ । आन्तरिक हुन वा बाह्य पर्यटक, उनीहरुले सञ्चारको माध्यमबाटै कुनै पनि पर्यटकीय ठाउँको बारेमा जानकारी हासिल गरेर त्यहाँ पुग्ने इच्छा, चाहना र तत्परता राख्छन ।
यसले गर्दा पनि पर्यटन प्रवद्र्धनमा सञ्चार महत्वपूर्ण र नभई नहुने पाटो बनेको छ । अझ पत्रकारिताको द्रुत विकाससँगै समग्र पत्रकारितामा विटमा आधारित पत्रकारिता अघि बढेको छ। त्यसमा पर्यटन पत्रकारिता एउटा विट बनेको छ। पर्यटन प्रबद्र्धनमा सञ्चार क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ । सूचना दिनु, शिक्षा दिनु, मनोरञ्जन प्रदान गर्नु, उत्प्रेरित गर्नु र अभिप्रेरणा दिनु पत्रकारिताको उद्देश्य हुन । यी उद्देश्य पूरा गर्ने काम सञ्चारकर्मी अर्थात पत्रकारको हो । पर्यटन प्रवर्द्धन गर्ने कार्य पनि यिनै उद्देश्य अन्तर्गत पर्दछ । अर्थात यिनै उद्देश्यमा केन्द्रित, आधारित रहेर पर्यटकीय क्षेत्र बारे प्रबद्र्धन, विकास र विस्तारको काम हुन्छ । ग्रामीण पर्यटन क्षेत्रको प्रवद्र्धनमा स्थानीय तथा क्षेत्रीय सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा स्थानीय सञ्चार माध्यमले जब पर्यटकीय क्षेत्रका बारेमा विषय उठान गर्दछन तब राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी तथा अन्य सरोकारवालाको पनि ध्यान तानिन्छ। यसरी सञ्चार क्षेत्रमा पनि तहगत रुपमा पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । जुन कारणले पर्यटन प्रवर्द्धनमा सञ्चारको महत्वपूर्ण भूमीका रहेको हुन्छ ।
पछिल्लो समय सबै सञ्चार गृहले सञ्चारकर्मीहरुलाई उनिहरुको इच्छा अनुसार  पत्रकारिता बिट दिने गरेका छन्। बिट पत्रकारिताले पर्यटन प्रबद्र्धनमा खोजी पत्रकारिताको बिकास भएको छ । लेखन क्षमता भएका सञ्चारकर्मीहरुले पर्यटनका क्षेत्रमा धेरै कलम चलाउदै आएका छन्। पर्यटकहरुका लागि गन्तब्य बनेका ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिकस्थलहरु मात्र होइन बिट पत्रकारिताले ग्रामीण क्षेत्रमा चर्चामा आउन नसकेका पर्यटकियस्थलहरुका बारेमा पनि खोज अनुसन्धान गर्दै पर्यटकहरुलाई आकर्षण गर्ने खालका महत्वपूर्ण समाचार, लेख र फिचर प्रकाशित भएका छन् । पर्यटनको क्षेत्रमा कलम चलाउने व्यक्तिहरुको संख्या पछिल्लो समयमा वृद्धि हुँदै गएको छ । बिटगत पत्रकारिताको विकासले पर्यटन क्षेत्रको सम्भावना र समस्यालाई उजागर गर्नका लागि सहयोग गरेको छ। सञ्चारमाध्यमले बिट छुट्टयाएर काम गर्न लगाउँदा पर्यटनको क्षेत्रमा बिषयगत गहिरो अध्ययन, सूष्म रुपमा जानकारी, मात्र होइन लामो समय पर्यटन बिटमा कलम चलाउने सञ्चारकर्मीहरु पर्यटन क्षेत्रको विशेषज्ञता प्राप्त गर्न सकेका छन् ।
पर्यटन प्रवद्र्धन गर्नका लागि सबै स्थानीय पालिका, समन्वय समिति, समाजसेवी र सबै दलहरु सक्रिय क्रियाशील हुनु पर्दछ । सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आकर्षित गरी अधिक लाभ लिनसक्ने क्षमता बढाउनु पर्दछ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा चिनिन्छ । प्राकृतिक सौन्दर्यलाई सञ्चारको माध्यमबाट देश विदेशमा प्रचार–प्रसार र प्रशिक्षण कार्यक्रम गरेमा देशमा वैदेशिक आम्दानीको स्रोत बढछ । देशमै रोजगारीको अवसर सिर्जना भइ युवाहरुले विदेशमा पसिना बगाउन जानुपर्ने बाध्यताको अन्त्य हुन सक्दछ । त्यसैले पर्यटन विकासमा सरकार गम्भीर हुन जति आवश्यक छ, भएका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।
विश्व पर्यटन संगठनले अंगीकार गरेको संकल्पलाई स्थानीय समुदायको जीवनस्तर उकास्न र उनीहरुको गौरव र स्वाभिमानपूर्ण जीवनयापनका लागि पर्यटनमा सरकारी लगानी बढाउदै जान पर्दछ। नेपाल प्राकृतिक सुन्दरताको धरोहर, पर्यटकको आकर्षणको केन्द्रविन्दु, पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको एउटा बैभवशाली मुलुक भएकाले, पर्यटन व्यवसाय अर्थ व्यवस्था वा समृद्धिको सुचक भएकोले यसको उचित विकास र व्यवस्थापन गरी सम्भावित चुनौतिलाई समाधान गर्ने पक्ष तर्फ सम्बन्धित सरोकारवालाको ध्यान केन्द्रित हुनु पर्दछ। यसका लागि सञ्चार क्षेत्र, सञ्चारकर्मी, सरोकारवाला सबैसंगको सहकार्य जरुरी छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker