अहिलेको गठबन्धन मेरो बाध्यता हो : नेता पौडेल
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीति संयन्त्रका संयोजक रामचन्द्र पौडेलले अहिलेको गठबन्धनलाई अगाडि बढाउनु पर्ने मेरो बाध्यता भएको बताएका छन् । तनहुँको व्यास नगरपालिकाको ३०औं स्थापना दिवसका अवसरमा बुधबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकाताका साथै मेरो बाध्यता पनि भएको बताएका छन् ।
‘प्रतिगमनबाट देशलाई बचाउन अहिलेको गठबन्धन हो’, नेता पौडेलले भने, ‘अतिशक्तिहरु, प्रतिगमनकारी, पुराना शक्तिहरुलाई यहाँ खेल्ने ठाउँ चाहिएको र नयाँ परिवर्तन उनिहरुलाई सहज नभएको हुँदा यसलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ ।’
‘एमाले अध्यक्ष ओलीलाई बल्लियो बनाएर यहाँ के-के काम गराउनुछ, त्यो षड्यन्त्र पुरा हुन नदिने हाम्रो लक्ष्य हो’, उनले भने, ‘एमाले अध्यक्ष ओलीलाई प्रयोग गरी मुलुकलाई गलत बाटोमा जान नदिनका लागि यो गठबन्धन भएको हो, केवल सत्ताको लाग मात्र होइन । यो सत्ताका लागि मात्र बनेको गठबन्धन नभई देशको लोकतन्त्रको रक्ष गर्न, परिवर्तनको रक्षा गर्न, देशलाई लोकतन्त्रको बाटोमा अगाडि बढाउन, मूल्य मान्यतामा आधारित राजनीतिलाई अगाडि बढाउन राष्ट्रिय आवश्यकाताका साथ गठबन्धन गरिएको हो ।’
सबै नीतिको मुल नीति राजनीति भएको चर्चा गर्दै नेता पौडेलले आफु राजनीति ठिक राख्न केन्द्रमा अल्भिmए तर, जिल्लामा आएन भनेर मलाई तपाईहरुले हराइदिनु भयो भन्दै यो देशको राजनीति ठिक नभईकन देशको, गाउँको विकास र उन्नती नहुने बताए ।
यस्तै, नेता पौडेलले गठबन्धनका सदस्यहरुलाई आफ्नो हैसियत र क्षमता मूल्याङ्कन गरी स्थानीय तहका उम्मेदवारको पद माग गर्न आग्रह गरेका छन् । गठबन्धनमा धेरै माग बढाएर यो मेयर पनि मलाई, त्यो मेयर पनि मलाई चाहियो भन्ने कुर नगर्न आग्रह गर्दै नेता पौडेलले गठबन्धनलाई बचाएर आ-आफ्नो हैसियत र क्षमता अनुसार शेयरिङ्ग गरी मिलेर जान अनुरोध गरेका छन् ।
कांग्रेसका वरिष्ठ नेता पौडेलले देशले के दियो भन्दा पनि देशलाई के दिन सक्छौ भन्ने भावना सबैमा जागृत हुनुपर्ने बताएका छन् । उनले देशको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउँदै जनप्रतिनिधि सुविधाभोगी हुन नहुने, मैले कति सुविधा पाउँछु, मेरो कति उन्नति हुन्छ भन्ने सोच त्याग्दै देशको हितलाई मात्रै ध्यानमा राख्न आग्रह गरेका छन् ।
आफ्ना लागि मात्र सोच्न थालियो भने व्यवस्था बर्बादीमा जाने बताउँदै नेता पौडेलले राष्ट्रको स्वतन्त्रता र लोकतन्त्र बचाउने अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् । उनले दुइ ठूला देशको बीचमा रहेको नेपाललाई जोगाउनुपर्ने भन्दै त्याग र र्समर्पणको भावना जनप्रतिनिधिमा हुनुपर्नेमा जोड दिएका छन् ।
गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेल लगायतका वक्ताहरुले स्थानीय तहमा भएका विकास निर्माणका कामलाई जनताले मूल्याङ्कन गर्ने समय आएको चर्चा गरेका थिए ।
यस्तै, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पाँच वर्षको अवधिमा जनताको माग र आवश्यकतालाई ध्यानमा राखी काम गरिएको बताए ।
आफ्नो कार्यकालमा नगरपालिकाले आन्तरिक आम्दानी बढाउन सफल भएको र बाढीपहिरो, कोभिड-१९ जस्ता कारणले अपेक्षित कामहरु गर्न नसकेपनि विकासको गोरेटो खन्न आफु सफल भएको नगरप्रमुख न्यौनेले दाबी गरेका छन्। प्रजातन्त्रको पुनर्स्थापना पश्चात २०४८ चैत्र ३० गते घोषणा भई स्थापना भएको व्यास नगरपालिका तनहुँको सदरमुकाम दमौलीमा अवस्थित छ । यो नगरपालिका तनहुँको पहिलो नगरपालिका हो ।










