पहाड खोला मालेबगरवासीको दुःख : यहि वर्षबाट काम थाल्ने मन्त्री आचार्यको आश्वासन
राजकुमार आले

तनहुँ शुक्लागण्डकी नगरपालिका-९, मालेबगरवासीलाई पहाड खोलाले बर्षेनी दुःख दिन्छ। बस्ती माथिबाट बग्दै आएको पहाड खोला केही वर्ष यता स्थानीयवासीको दुःख बनेको छ । हिउँदमा कमिला हिड्ने खोला बर्खामा उर्लिएर आउँदा स्थानीय व्यापारीको सामान बगाउने, क्षति गर्ने, घरभित्रको भाँडाकुडा र बिस्तारा नै बगाएर लगेको स्थानीयवासी बताउँछन्।
खोलाले बस्तीमा पारेको प्रभावबारे अध्ययन अवलोकन गर्न बुधबार गण्डकी प्रदेशका उर्जा तथा जलश्रोतमन्त्री हरिशरण आचार्य मालेबगर आए। सोक्रममा मन्त्री आचार्यले स्थानीयबासीसंग अन्तरक्रिया गरे । स्थानीय नवप्रभात युवा क्लबका अध्यक्ष विक्रम कार्कीले पहाड खोलाबाट आफुहरु बर्षौदेखि पीडित भएको गुनासो गरे ।
यस खोलाका कारण मालेबगरको बस्ती विकास हुन नसकेको उनको भनाई थियो । ‘यहाँका घरघरेडी बिक्री हुदैनन् । मालेबगरमा घरेडी बिक्रीमा छ भन्दा त्यहाँ त पानी नै पानी हुन्छ भनेर कुदृष्टिले हर्ेर्ने गरिएको छ’, उनले भने ‘यो समस्या मन्त्री ज्यूले दीर्घकालिन रुपमा समाधान गरिदिनुपर्यो ।’
त्यस्तै, स्थानीय युवा प्रकाश अधिकारीले पहाड खोलाले बर्षोनी बस्ती डुबानमा पार्ने गुनासो गरे । यो खोलाले बर्षोनी स्थानीयवासीलाई रुवाउने गरेको भन्दै यस खोलाको प्रभावबाट बचाईदिन आग्रह गरे । उनले भने ‘यो बस्ती जोगाईदिनुस्, यसले बर्षौपिच्छे दुनियाँलाई रुवाएको छ । म पनि पीडित हुँ । मेरो पसलको तीन बोरा नुन नै बगाइदियो । बर्खामा यो सम्हाली नसक्नुहुन्छ । यसलाई जसरी हुन्छ नियन्त्रण गरिदिनुस् ।’
तालवेँशी माध्यमिक विद्यालयका अध्यक्ष डण्डबहादुर केसी विशालले खोला नियन्त्रणका लागि डिपिआर तयार गरी योजनाबद्ध रुपमा काम गर्न आवश्यक रहेको बताए । उनले औपचारिकताका लागि भन्दा पनि कार्यान्वयन हुने गरी काम गरिदिन आग्रह गरे ।
नेकपा माओवादी केन्द्र शुक्लागण्डकी-९ का इन्चार्ज रनबहादुर वि.कले वि.सं २०५५ सालमा आएको आयोगले आफुहरुलाई मारमा पारेको भन्दै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
स्थानीयसंगको छलफलमा मन्त्री आचार्यले खोला व्यवस्थापनका लागि यसै बर्षेखि काम गर्ने प्रतिवद्धता जनाए । उनले पक्की नहरको रुपमा खोलालाई पनि व्यवस्थित गर्नु पर्ने, सिँचाई पनि गर्नुपर्ने भएकाले यो अलि खर्चिलो भएकाले प्राविधिक हिसाबले अध्ययन गरी एकिकृत योजनासहित काम थाल्ने आश्वासन दिए । मन्त्री आचार्यले आफुहरु जे बोल्छौ, त्यो पुरा गरिछाड्ने दाबी गरे। उनले भने ‘बोल्दिए हुन्छ काम गर्न पर्दैन भन्ने संस्कार विकसित भइरहेको छ ।
ढुङ्गा गाड्दिए भयो, काम पुरा गर्नुपर्दैन । यसले गर्दा देश पछाडी परेको हो । तर हामी कम बोल्छौ, गर्नसक्ने कुरा गछौँ र पुरा गरेर छाड्छौँ ।’ मन्त्री र नेतालाई कस्तो बनाउने त्यो सचेत नागरिकको व्यवहारमा भर्रपर्ने उनको भनाई थियो। उनले भने, ‘भोट कमाउने हिसाबले नेताहरुबाट जनताहरु झुक्किरहेका छन्, नेता र मन्त्री भेट्न जनता जाने होइन । नेताको झोले बन्ने होइन । जनता भेट्न मन्त्री र नेता नै आउनुपर्छ ।’










