मितेरी गाउँ खोज्दै टुटेपानी पुग्यो आदिकवि भानुभक्त क्याम्पसको टोली
भञ्ज्याङ समाचारदाता/दमौली

पर्यटकीय सम्भावना बोकेका गाउँ मध्येबाट कुनै एक गाउँसंग मितेरी साइनो गाँसेर उक्त गाउँको दिगो विकासमा लाग्ने योजनाका साथ तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस यतिबेला मितेरी गाउँ छनौट गर्न तनहुँका विभिन्न ग्रामीण बस्ति पुग्न थालेको छ ।
व्यास नगरपालिका-१३ को कुलुङ, ऋषिङ गाउँपालिकाक-३ को दुबुङ गाउँमा पुगेर मितेरी गाउँ छनौट र मितेरी गाउँ कार्यक्रमको विषयमा स्थानीयसंग आवश्यक छलफल तथा परामर्श गरेको क्याम्पसको टोलीले शनिबार गण्डकी प्रदेशकै नमुना समुदायिक होमस्टे टुटेपानी पुगेको छ ।

भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुङ्गा स्थित टुटेपानीमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सम्पदा नेपालका अध्यक्ष एवं क्याम्पसको मितेरी गाउँ कार्यक्रमका संयोजक हरिसिं गुरुङ लगायतको टोली पुगेको थियो । आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँ कार्यक्रमबाट पर्यटकीय सम्भावना बोकेका ग्रामीण बस्तिको शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य विकास निर्माणका काममा हातेमालो गरी दिगो विकासमा सहकार्य गर्ने योजना अगाडि ल्याएको छ ।

ग्रामीण क्षेत्र र विशेष गरी न्यून आयस्तर भएका वर्ग र समुदायका विद्यार्थीलाई आफ्नै घरदैलोमा सहज रुपमा उच्च शिक्षा अध्ययन अध्यापन गराउँदै आएको क्याम्पसले ग्रामीण क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि मितेरी गाउँ कार्यक्रम अगाडि ल्याएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।
करिव चार दशक अघिदेखि सदरमुकाम दमौलीमा स्थापना भई उच्च शिक्षा प्रदान गर्दै आएको क्याम्पसले जिल्लाको पर्यटकीय सम्भावनायुक्त कुनै एक गाउँ छनौट गरी मितेरी सम्बन्ध जोड्ने गरी कार्यक्रम अगाडि ल्याएको उनले बताए ।
ग्रामीण भेगको शिक्षा, स्वास्थ्य, वन तथा वातावरणका साथै स्थानीय मौलिक कलासंस्कृति र खाद्यवस्तुहरुको संरक्षण एवं विकासगरी स्थानीय समुदायको सुख, शान्ति र समृद्धिमा हातेमालो गर्दै गाउँलाई एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ क्याम्पसले मितेरी गाउँको अवधारणा ल्याएको क्याम्पस प्रमुख हड्खलेले बताए ।

गाउँको वर्तमान सामाजिक विकासका पूर्वाधारहरु, स्थानीय निकायको संलग्नता, पर्यटन विकास सम्वन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनाको आधारमा जिल्लाको कुनै एक गाउँ छनोट गरिने उनले बताए ।
मुलुकको पर्यटन क्षेत्रमा काम गरिरहेका थुप्रै मानिसहरू प्रत्यक्ष वा परोक्ष जस्तोसुकै रोजगारमा भएपनि उनीहरु मध्ये अधिकांश दीगो पर्यटन विकास तथा संस्कृति संरक्षण सम्वन्धी कम सचेत छन्। तसर्थ, हाम्रा जीवन्त पुर्ख्यौली पेशा र सीपका साथसाथै अतिथि सत्कार तथा खाना बनाउने, पर्यटन व्यवसाय सञ्चालन, उद्धार तथा पथ-प्रदर्शनका सीप, जलविहार गाइड, फोहोर व्यवस्थापन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैंगिक सचेतना, एचआईभी एड्स, गोबरग्याँस तथा सौर्य ऊर्जाजस्ता वैकल्पिक ऊर्जा, महिलाहरूका आधारभूत स्वास्थ्य समस्या लगायतका क्षेत्रमा समन्वय र सहकार्य गर्ने योजना यो कार्यक्रमको रहेको छ ।

यस्तै, यस कार्यक्रम अन्तर्गत पदयात्रा र पर्यार्-पर्यटन, होमस्टे तथा साधारण लज व्यवस्थापन, स्थानीय परिकारहरूको उपयोग तथा प्रवर्द्धन, वातावरणीय सचेतना, साधारण अंग्रेजी बोलचाल, नेतृत्व विकास, मातृ भाषा र प्राथमिक उपचार, सूचना तथा सञ्चार आदि सम्वन्धी अन्तरक्रिया, तालिम, गोष्ठी, शिविर तथा प्रदर्शनीका लागि क्याम्पसले स्थानीय सरकार, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग समन्वय र सहकार्य गरिने कार्यक्रम रहेको सम्पदा नेपालका अध्यक्ष एवं मितेरी गाउँ कार्यक्रमका संयोजक हरिसिं गुरुङले बताए ।
अध्यक्ष गुरुङका अनुसार मितेरी गाउँ कार्यक्रम अन्तर्गत गाउँको विषयगत प्रोफाइल निर्माण, पर्यटन सेवाहरुको विविधीकरण, सम्पदाहरुको संरक्षण, पर्यटकीय पूर्वाधारहरुको विकास र सौन्दर्यीकरण, सुरक्षा प्रबन्ध र कुनै पनि ठाउँमा स्वतन्त्रतापूर्वक निर्धक्क घुमफिर गर्न पाउने वातावरणको प्रत्याभूति, बाह्रै महिना गन्तव्यसम्म पुग्ने सहज व्यवस्था, व्यवस्थित पदमार्गहरु, आफूले छनोट गरेको र तिरेको रकम अनुसारको आवास तथा यातायातको गुणस्तर, आतिथ्यता र सेवाको स्तर, पर्यटकसँग हुने कुराकानीका साथै पर्यटन व्यवसाय खोल्न र सञ्चालन गर्नका लागि सहज प्रक्रिया र आवश्यक सहयोग प्रदान गर्ने उपयुक्त संयन्त्र एवं पद्धतिको विकास गर्नका लागि सम्वन्धित पक्ष समक्ष पैरवीका साथै आवश्यकीय प्राविधिक सहयोग गरिने छ ।










