तामझामका साथ वृक्षरोपण, मलजल र संरक्षणमा ध्यान नदिंदा मर्दै विरुवा

भञ्ज्याङ समाचारदाता/दमौली

वातावरण दिवस, जन्मोत्सव लगायतका अवसरमा तामझामका साथ वृक्षरोपण गर्ने चलन चलेको छ । यसरी विभिन्न स्थानमा रोपण गरिएका विरुवाले उचित मलजल र संरक्षण नपाउँदा रोपिएको केही दिनमै मर्ने गरेका छन् । २०७५ सालको विश्व वातावरण दिवसको अवसरमा नेप्लिज युथ फर क्लाइमेटिक एक्सन तनहुँले डिभिजन वन कार्यालय र व्यास नगरपालिकाको सहयोगमा व्यास-३ अन्सनचौतारास्थित खुल्ला मैदानमा अशोका, धुपी लगायतका करिव ३० वटा डेकुरेटिभ प्लान्टका विरुवा रोपेको थियो । ती विरुवा अहिले मुस्किलले ५/७ वटा मात्र हुर्किएका छन् ।

वृक्षारोपण गर्दा सबैले संरक्षण गर्ने भनिएपनि पछिल्ला दिनमा त्यसतर्फ कसैको ध्यान नपुगेको एक्सनकी अध्यक्ष सुनिता आचार्य बताउँछिन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वग्ले, व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने, डिभिजन वन कार्यालयका सहायक प्रमुख नारायण कोइराला लगायतका उपस्थितिमा उक्त स्थानमा वृक्षारोपण गरिएको थियो ।

मैदानमा केही संरचनाहरु थप्ने क्रममा रोपिएका विरुवाहरु मासिएको नगरप्रमुख न्यौपानेले बताए । उनले भने, ‘मैदानमा केही संरचनाहरु थप्नुपर्ने भएकाले विरुवा मासिना पुगे । केही विरुवालाई भने तारवार गरी संरक्षण गरिरहेका छौं ।’

वृक्षारोपण गरेरमात्रै नहुने विरुवालाई हुर्कन गोडमेल, मलजल पनि उत्तिकै आवश्यक हुने हुँदा विरुवा हेरालु नै राखि विरुवा संरक्षण गरिएको राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष मदन तिमिल्सिनाले बताए । राष्ट्रिय युवा संघ भिमादले गत वर्ष भिमाद-६ भांगरचौरमा एक सयवटा विरुवा रोपेको थियो । उक्त विरुवाको गोडमेल र मलजल गर्नका लागि संघले हेरालु नै राखेको अध्यक्ष तिमिल्सिनाले बताए ।

‘राम्रो हेरचाह र मलजन नपाउँदा रोपण गरिएका अधिकांश विरुवाहरु मरेका छन्’, उनले भने, ‘विरुवा रोपेर हाम्रो कर्तव्य सक्किएको छैन भन्ने सोची हामीले समयसमयमा गोडमेल गर्ने र मलजल पनि गर्ने गरेका छौं । रोपिएका एक सय विरुवामध्ये ७ वटा विरुवा मरेका रहेछन् । गत असारमा सोही स्थानमा थप ८५ वटा विरुवा रोपण गरेर त्यसको पनि हेरचाह गरेका छौं ।’

डिभिजन वन कार्यालय, तनहुँले गत आर्थिक वर्ष म्याग्दे गाउँपालिकाको दुइ वटा समुदायिक र भानु नगरपालिकाको एउटा समुदायिक वनक्षेत्रमा फलफूलजन्य विरुवा रोपण गरेको थियो । करिव छ हेक्टर क्षेत्रफलमा कटुस, अमला, कटहर, आँप, अम्वा, लिची लगायतका फलफूलका विरुवा लगाइएको डिभिजन प्रमुख कोमलराज काफ्लेले बताए। उनका अनुसार लगाइएका मध्ये ८० प्रतिशत विरुवा हुर्किरहेका छन् ।

कार्यालयले वर्षेनी विरुवा उत्पादन गरी व्यक्ति तथा समुदायमा वितरण गर्ने गर्दछ । प्रमुख काफ्लेका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३ लाख २५ हजार विरुवा र २०७८/०७९ मा २ लाख विरुवा उत्पादन गरी त्यसको ८० प्रतिशत विरुवा समुदायस्तरमा वितरण गरिएको छ । व्यक्ति, समुदाय तथा अन्य संघसंस्थाबाट रोपण गरिएका विरुवामध्ये ५० प्रतिशत विरुवामात्रै हुर्किरहेको उनको अनुमान छ ।

कार्यालयमा विरुवा उत्पादनको लागि मात्र बजेट छुटि्टएको र वृक्षारोपणको लागि बजेट नहुँदा रोपण गर्न इच्छुक समुदायलाई विरुवा हस्तान्तरण गर्ने उनले बताए । प्रमुख काफ्लेले भने, ‘विरुवा त हामी उपलब्ध गराउँछौं तर गोडमेलको खर्च नहुँदा रोपेपछि उहाँहरुले पनि त्यति वास्ता गरेको पाइएन ।’

‘विभिन्न अवसरमा रोपिएका विरुवाहरुले मलजल र गोडमेल नपाउँदा मर्ने गरेका छन्’, उनले भने, ‘विरुवा रोपेदेखि जवान रुख नभइजेलसम्म संरक्षण गर्नुपर्छ तर यहाँ विरुवा रोपेपछि सम्पूर्ण जिम्मेवारी सक्कियो भनेझै पछि हट्दा रोपिएकामध्ये आधै विरुवा मर्ने गर्छन् ।’

संघ संस्था, व्यक्तिहरुले विभिन्न अवसरमा निकै तामझामका साथ वृक्षारोपण गर्ने होडबाजीनै चलाउने गर्दछन् । तर, आफैले रोपेको विरुवा के कस्तो अवस्थामा छ, विरुवाको गोडमेल, मलजल तथा संरक्षणमा ध्यान नदिदा वर्षेनी रोपिएका विरुवा मर्ने गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker