घिरिङ गाउँपालिकामा स्वास्थ्य सेवा : निःशुल्क स्वास्थ्य शिविरदेखि पोषण प्रोत्साहनसम्म

ग्रामीण स्वास्थ्य सेवामा सुधारको प्रयास, तर विशेषज्ञ जनशक्ति अभाव लगायतका चुनौती : अध्यक्ष थापा

होम बहादुर थापा
अध्यक्ष : घिरिङ गाउँपालिका
सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले विभिन्न लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरदेखि मातृ–शिशु पोषण, एम्बुलेन्स सुविधा र स्वयंसेविका प्रोत्साहनसम्मका कार्यक्रम अघि बढाए पनि विशेषज्ञ सेवा अभाव र संरचनात्मक चुनौती झेल्दै आएको छ ।
गाउँपालिका अध्यक्ष होम बहादुर थापाका अनुसार नागरिकको आधारभूत स्वास्थ्य पहुँच सुनिश्चित गर्न नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । ‘शिविरमा आँखाको जाँच, दन्त सेवा, सामान्य उपचार, महिला–बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा निःशुल्क रूपमा दिइरहेका छौं’, उनले भने, ‘हाडजोर्नी तथा नसासम्बन्धी समस्याका बिरामीलाई पनि सेवा दिइँदै आएको छ ।’
गाउँपालिकाले नेपाल सरकारले तोकेको आधारभूत औषधि अभाव हुन नदिने नीति अवलम्बन गरेको अध्यक्ष थापाले बताए। ‘गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षणमा प्रोत्साहन गर्न एकपटक जाँच गराउँदा ‘एक क्रेट अण्डा’ वितरण गर्ने कार्यक्रम सञ्चालनमा छ’, उनले भने, ‘सुत्केरी महिलालाई अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराइएको छ भने स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई थप २ हजार रुपैयाँ पोषण भत्ता दिइँदै आएको छ ।’
ग्रामीण स्वास्थ्य सेवाको मेरुदण्ड मानिने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक थप २ हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराइएको छ । स्वास्थ्य संस्थामा दरबन्दी कम भए पनि आवश्यकताअनुसार जनशक्ति मिलान गरेर सेवा सञ्चालन भइरहेको अध्यक्ष थापाको भनाइ छ । उनले भने, ‘स्कुल हेल्थ नर्स कार्यक्रम अहिले पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छ, जसले विद्यालयस्तरमै स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुगेको छ ।’
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा उपलब्ध नहुँदा स्थानीय बासिन्दा बाहिर जान बाध्य छन्। अध्यक्ष थापाका अनुसार विशेषज्ञ उपचारका लागि बिरामीहरू प्रायः पोखरा, रामपुर, भिमाद तथा चितवन क्षेत्र पुग्ने गरेका छन् । केही बिरामी जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र समेत जानुपर्ने बाध्यता छ ।
गाउँपालिकाले अस्पताल निर्माणका लागि प्रारम्भिक चरणमै जग्गा अभाव झेलेको थियो। अहिले नयाँ जग्गा व्यवस्थापन गरिए पनि निर्माण कार्यले गति लिन नसकेको अध्यक्ष थापाले बताए। सामुदायिक स्वास्थ्य केन्द्रहरूमा भवनको अभाव नरहेको उल्लेख गर्दै अध्यक्ष थापाले भने, ‘यी केन्द्रमा पर्याप्त लगानी र दरबन्दी व्यवस्थापन आवश्यक छ। कम्तीमा अधिकृत तहको डाक्टर भए सेवा प्रभावकारी हुन्थ्यो।’ हाल घिरिङ स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालनमा छ भने साभुङमा पनि ल्याब सेवा विस्तार गर्ने योजना रहेको छ। एक्स–रे सेवा अभाव हुँदा बिरामीलाई बाहिर जानुपर्ने बाध्यता रहेको उनले बताए।
यस्तै, गाउँपालिकामा नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम सञ्चालनमा रहे पनि ज्येष्ठ नागरिकको सहभागिता कम रहेको पाइएको छ। सञ्चालन गरिएका शिविरहरूमा परीक्षण गरिएका मध्ये केहीमा मधुमेह, उच्च रक्तचापजस्ता समस्या देखिएको अध्यक्ष थापाले जानकारी दिए। ‘शिविरमा आएकाहरुमध्ये कहिलेकाहीँ १२–१५ जनासम्ममा नसर्ने रोग देखिन्छ’, उनले भने, ‘यसले ग्रामीण जीवनशैलीमा परिवर्तनसँगै रोगको जोखिम बढेको संकेत गर्छ ।’
स्वास्थ्य बीमा र विपन्न वर्ग पहिचान प्रणालीमा सुधार आवश्यक रहेको अध्यक्ष थापाको भनाइ छ । उनले भने, ‘वास्तविक विपन्न छुट्न सक्ने र सम्पन्न व्यक्तिहरू लाभ लिने अवस्था देखिएको छ त्यसैले उपचार खर्चमा समान सहुलियत नीति आवश्यक छ ।’
गाउँपालिकामा रहेको नागरिक आरोग्य केन्द्रमा हाल एक जना मात्र आयुर्वेदिक कर्मचारी कार्यरत छन् । सो केन्द्रका लागि नयाँ भवन निर्माणको तयारी भइरहेको छ र थप जनशक्ति व्यवस्थापनका लागि संघीय सरकारसँग अपेक्षा गरिएको अध्यक्ष थापाले बताए ।
घिरिङ गाउँपालिकाले ग्रामीण स्वास्थ्य सेवामा सुधार ल्याउन निःशुल्क शिविर, पोषण प्रोत्साहन, एम्बुलेन्स सुविधा र स्थानीयस्तरमै उपचार विस्तारका प्रयास गरेको देखिन्छ। तर विशेषज्ञ सेवा अभाव, उपकरणको कमी, जनशक्ति व्यवस्थापन र स्वास्थ्य बीमा प्रणाली सुधार जस्ता विषय अझै चुनौतीकै रूपमा रहेका छन् । स्थानीय तहको पहलसँगै संघ र प्रदेश सरकारको समन्वय र दीर्घकालीन लगानी बिना ग्रामीण स्वास्थ्य सेवा सुदृढ बनाउन कठिन हुने देखिन्छ ।
कृष्ण प्रसाद रिमाल : स्वास्थ्य शाखा प्रमुख
घिरिङ गाउँपालिकाले सीमित स्रोतसाधनका बाबजुद स्वास्थ्य सेवा विस्तार र पहुँच अभिवृद्धिमा महत्वपूर्ण प्रगति गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमाल बताउँछन् । गाउँपालिकाभित्र विभिन्न तहका स्वास्थ्य संस्थामार्फत आधारभूतदेखि प्राथमिक स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ ।
गाउँपालिकाभित्र हाल ३ स्वास्थ्य चौकी, २ आधारभूत स्वास्थ्य सेवा केन्द्र, ३ सामुदायिक स्वास्थ्य इकाई, १ आयुर्वेद सेवा केन्द्र, १० गाउँघर क्लिनिक तथा १४ खोप केन्द्र सञ्चालनमा छन्। साथै २७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालित रहेको स्वास्थ्य शाखा रिमालले जानकारी गराए । उनका अनुसार तीनवटा स्वास्थ्य संस्थाबाट २४सैं घण्टा सेवा उपलब्ध गराइँदै आएको छ भने प्रसूति सेवा समेत ती संस्थाबाट नियमित सञ्चालनमा छन् ।
प्रसूति सेवा लिन आउने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई आकस्मिक अवस्थामा निःशुल्क एम्बुलेन्स सुविधा दिइने व्यवस्था रहेपनि गाउँपालिकामा एकमात्र एम्बुलेन्स भएकाले पहुँच विस्तारमा चुनौती देखिन्छ ।
स्वास्थ्य क्षेत्रमा चालु आर्थिक वर्षमा कुल २ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ, जसमा सशर्त अनुदान र आन्तरिक स्रोत दुवै समावेश छन् । यो कुल बजेटको करिब ५ प्रतिशत हाराहारी भए पनि स्वास्थ्य क्षेत्रमा न्यूनतम १० प्रतिशत बजेट आवश्यक पर्ने नीति माग रहेको छ। गाउँपालिकाले राष्ट्रिय स्वास्थ्य नीति २०७६ तथा संविधानअनुसार खोप, मातृ तथा शिशु स्वास्थ्य, पोषण, क्षयरोग नियन्त्रण, नसर्ने रोग व्यवस्थापन, डिजिटल स्वास्थ्य प्रणाली लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको स्वास्थ्य शाखा प्रमुख रिमालले बताए ।
घिरिङमा संस्थागत सुत्केरी दर १७ प्रतिशत मात्र रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। धेरैजसो गर्भवती महिलाहरूले पोखरा, दमौली लगायतका शहरमा गएर सेवा लिने गरेका कारण स्थानीय दरमा कमी आएको बताइएको छ। खोप कार्यक्रमतर्फ गाउँपालिकाले ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका’ घोषणा प्राप्त गरेको छ । यद्यपि केही खोपको कभरेजमा उतारचढाव देखिएको छ। पोषण कार्यक्रमअन्तर्गत बाल भिटा वितरण, आइरन फोलिक एसिड, क्याल्सियम वितरण, स्तनपान प्रवर्द्धन तथा वृद्धि अनुगमन कार्यक्रम सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ७ हजारभन्दा बढी बिरामीले बाह्य उपचार सेवा लिएका छन् । प्रमुख स्वास्थ्य समस्यामा अम्लपित्त, टाउको दुखाइ, श्वासप्रश्वास संक्रमण, खोकी, चोटपटक, ढाड दुखाइ, बाथरोग लगायतका स्वास्थ्य समस्या देखिने गरेको छ। नसर्ने रोग नियन्त्रणका लागि रक्तचाप, मधुमेह परीक्षण, बियमआई मापन तथा वृद्धहरूका लागि विशेष स्क्रिनिङ शिविर सञ्चालन गरिएको छ। मानसिक स्वास्थ्य सेवाअन्तर्गत मनोसामाजिक परामर्श सेवा पनि सुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वीकृत १७ दरबन्दीमध्ये १६ पदपूर्ति भए पनि स्थायी रूपमा कार्यरत जनशक्ति १३ मात्र रहेका छन् । जनशक्ति अभाव पूर्ति गर्न करारमा कर्मचारी राखेर सेवा सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख रिमालले बताए । उनका अनुसार विशेषज्ञ चिकित्सकको स्थायी व्यवस्था नभएकाले जटिल बिरामीलाई पोखरा, दमौली, रामपुर लगायतका स्थानमा रिफर गरिन्छ । समय–समयमा विभिन्न अस्पतालसँग सहकार्य गरी विशेषज्ञ शिविर सञ्चालन गरिँदै आएको छ ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। पूर्ण खोप सुनिश्चित घोषणा, क्षयरोग उपचार सफलता दर १०० प्रतिशत, डिजिटल रिपोर्टिङ प्रणाली कार्यान्वयन, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विपन्न नागरिकलाई मासिक उपचार सहयोग जस्ता पहल उल्लेखनीय रहेको प्रमुख रिमालले दाबी गरे । साथै, पोषण सुधार तथा स्तनपान प्रवद्र्धनमा पनि प्रगति देखिएको उनले बताए ।
उपलब्धिका बाबजुद स्वास्थ्य क्षेत्रमा थुप्रै चुनौतीहरू रहेका छन् । भौतिक पूर्वाधारको अभाव, संस्थागत सुत्केरी दर न्यून हुनु, जनशक्ति अभाव, खोप कभरेजमा असन्तुलन, कुपोषण नियन्त्रणमा कमजोरी, दुर्गम भूगोलका कारण सेवा पहुँचमा कठिनाइ जस्ता समस्या झेल्नुपरेको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै, डिजिटल प्रणाली भए पनि विद्युत् ब्याकअपको अभाव, बसाइँसराइका कारण लक्षित जनसंख्या व्यवस्थापनमा समस्या तथा एम्बुलेन्स सेवा सीमित हुनु पनि चुनौतीका रूपमा रहेका छन् ।
गाउँपालिकाले पोषणमैत्री गाउँपालिका निर्माण, क्षयरोगमुक्त अभियान, खोप कार्यक्रम सुदृढीकरण, औषधि व्यवस्थापन प्रणाली सुधार तथा संस्थागत सुत्केरी दर वृद्धि गर्ने लक्ष्य लिएको छ । संघ र प्रदेश सरकारसँग भौतिक पूर्वाधार विकास, जनशक्ति पूर्ति, उपकरण व्यवस्थापन तथा बजेट वृद्धिको अपेक्षा गरिएको छ ।
घिरिङ गाउँपालिकाले सीमित स्रोतका बाबजुद आधारभूत स्वास्थ्य सेवा विस्तारमा सकारात्मक प्रयास गरेको छ । तर, गुणस्तरीय सेवा सुनिश्चित गर्न पूर्वाधार, जनशक्ति र समन्वयमा अझै सुधार आवश्यक देखिन्छ । स्थानीय तहको सक्रियता, संघ, प्रदेश सरकारको सहयोग र समुदायको सहभागिताबाट मात्र स्वास्थ्य सेवा प्रणालीलाई दीगो र प्रभावकारी बनाउन सकिने देखिन्छ ।
(भञ्ज्याङ प्रकाशनको ४५औं वर्ष प्रवेशका अवसरमा प्रकाशित विशेषाङ्कमा प्रकाशन गरिएको)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker