स्थानीय निर्वाचन : तनहुँमा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना
भञ्ज्याङ न्यूज

आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँको दमौलीमा मुख्य निर्वाचन अधिकृत र १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । व्यास-३ स्थित जिल्ला समन्वय समिति तनहुँको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयले व्यास नगरपालिकाको निर्वाचन अधिकृतको समेत काम गर्ने छ । अन्य ९ स्थानीय तहमा पनि निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।
जिल्ला समन्वय समिति तनहुँको भवनमा निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गर्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले निष्पक्ष, भयरहित निर्वाचन बनाउन सबै लाग्नु पर्ने बताए । उनले भने, ‘निर्वाचन निष्पक्ष, भयरहित, पारदर्शी तथा विश्वसनीय बनाउन आफू सधैं तत्तपर रहेको र यसका लागि सबैले आ-आफ्नो ठाउँबाट साथ सहयोग दिनुपर्दछ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले राजनीतिक दलहरुलाई आचारसंहिताको पूर्णपालना गर्न पनि आग्रह गरेका थिए ।
स्थानीय तहको निर्वाचनका लागि तनहुँको व्यास नगरपालिकाको निर्वाचन अधिकृत सहित मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना, भिमाद नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका न्यायधीवक्ता रामचन्द्र शर्मा, म्याग्दे गाउँपालिकामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका उपसचिव नवराज आचार्य, शुक्लागण्डकी नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव सरिता रायमाझी निर्वाचन अधिकृत तोकिएका छन् ।
यस्तै, भानु नगरपालिकामा तनहुँ अदालतका श्रेस्तेदार मिनबहादुर कुंवर, आँबुखैरेनी गाउँपालिकामा प्रमुख मालपोत अधिकृत चिरञ्जीवि पौडेल, ऋषिङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव राजेन्द्र न्यौपाने, घिरिङ गाउँपालिकामा हुलाक निर्देशनालय पोखराका प्रमुख किर्तनराज पौडेल, देवघाट गाउँपालिकामा जिल्ला समन्वय अधिकारी थमनसिं थापा, बन्दिपुर गाउँपालिकामा राष्ट्रिय सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेल निर्वाचन अधिकृत तोकिएका छन् ।
दुइ हजार ३७६ जनशक्ति खटिने
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुइ हजार ३७६ जनशक्ति परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयले १० वटै स्थानीय तहको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुइ हजार ३७६ जनशक्ति परिचालन गर्न लागेको हो ।
मतदान केन्द्रमा जनशक्ति परिचालनका लागि कर्मचारीको विवरण संकलनको काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी हर्रि्रसाद ढकालले बताए। जिल्लामा वैशाख २७ गतेभित्र मतदान अधिकृत, सहायक मतदान अधिकृत नियुक्त गरेर मतदानस्थलमा खटाइसक्ने तयारी गरिएको छ ।
निर्वाचनका लागि तनहुँमा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछन् ।
आँबुखैरेनी गाउँपालिकामा कूल १३६, ऋषिङ गाउँपालिकामा २००, घिरिङ गाउँपालिकामा १३६, देवघाट गाउँपालिकामा ११९, बन्दिपुर गाउँपालिकामा १६८, भानु नगरपालिकामा ३९२, भिमाद नगरपालिकामा २४८, म्याग्दे गाउँपालिकामा १६०, व्यास नगरपालिकामा ४४७ र शुक्लागण्डकी नगरपालिकामा १८९ जनशक्ति परिचालन गरिनेछ ।
तनहुँका दुइ लाख ४४ हजार ३४० मतदाता रहेका छन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए।
निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा २९७ मतदान केन्द्र कायम गरिएको छ । करिब एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको ढकालले बताए। सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ र सबैभन्दा कम देवघाट गाउँपालिकामा १५ मतदान केन्द्र कायम गरिएको छ।
यसैगरी आँबुखैरेनी गाउँपालिकामा १७, ऋषिङ गाउँपालिकामा २५, घिरिङ गाउँपालिकामा १७, बन्दिपुर गाउँपालिकामा २१, भानु नगरपालिकामा ४९, भिमाद नगरपालिकामा ३१, म्याग्दे गाउँपालिकामा २० र शुक्लागण्डकी नगरपालिकामा ४६ मतदान केन्द्र कायम गरिएको छ ।










