घुमफिर, इतिहास बुझनेदेखि प्राकृतिक सुन्दरता एकै ठाउँमा पाइने गन्तव्य “तनहुँसुर”
ओमप्रकाश घिमिरे/तनहुँ
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरका के.बि. थापाले सात वर्षअघि गाउँमै पहिलो होमस्टे सुरु गरे । रहरै रहरले सुरु गरेको व्यवसायबाट शुरुमा खासै पाहुनाहरु नआएपछि उनलाई होमस्टे व्यवसायमा त्यति उत्साह आएन ।
तर अहिले भने थापा होमस्टेबाट मात्र महिनाको झण्डै ६० हजारको कारोबार गर्छन् । तनहुँसुरमा पर्यटकहरुको चहलपहल बाक्लिन थालेपछि यसको प्रभाव यहाँको होमस्टे व्यवासयमा समेत परेको थापाको भनाइ छ ।
घुमफिर, रमाइलो, इतिहास बुझनेदेखि प्राकृतिक सुन्दरता एकै ठाउँमा पाइने भएपछि रुचिअनुसारका पर्यटकहरु आउँने जाने क्रम बढेपछि अहिले गाउँका थप सात वटा घरमा समेत व्यवस्थित तरिकाले घरबास सञ्चालन भएका छन् ।
थापा भन्छन्, ‘सन् २०१९ मा विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमसंगको साझेदारीमा उर्जा तथा वातावरण नेपालले होमस्टे सञ्चालनसम्बन्धी यहाँका २५ घरलाई तालिम दियो । यो तालिमबाट धेरै व्यक्तिले होमस्टे संचालनको तरिका सिके । मैले पनि सिके । गाउँमा एउटा समिति पनि बनेको छ । जहाँ होमस्टे व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहन्छ । एकअर्काको साथ र हौसलाले होमस्टे अझै राम्रो गरी संचालन गर्न सकियो ।
यो तालिमसंगै संस्थाले यहाँको पर्यटकीय गतिविधि बढाउने खालका पूर्वाधार विकास तथा सचेतना वृद्धिका कार्यक्रम पनि गर्यो । यसले गर्दा स्थानीयले पर्यटनको महत्व र आफ्नो ठाउँ पर्यटकका लागि धेरै सम्भावना भएको स्थान रहेछ भन्ने पनि बुझे । अहिले स्थानीय व्यक्तिहरु होमस्टे लगायतका पर्यटनसंग जोडिएका कार्यप्रति उत्साहित भएर लागेको थापाको भनाइ छ ।
सहभागीहरुले आ-आफ्नो होमस्टे व्यवस्थापन, लेखा तथा सूचना प्रणाली व्यवस्थापन गर्न आवश्यक ज्ञान तथा सीप सम्वन्धी जानकारी प्राप्त गरेका छन् । अहिले उनिहरु आफ्नो उत्पादन प्रयोग गरी १० विधिबाट १५ स्थानीय परिकार बनाउन सक्षम भएका छन् । गाउँका दर्ता भएका ८ होमस्टेलाई खाट सहित एक सेट विस्तार वितरण गरियो, जसले उनिहरुलाई होमस्टे सञ्चालनका लागि उत्साहित बनाउन सहयोग गर्यो ।
उर्जा तथा वातावरण नेपालले यस स्थानमा जैविक विविधताको संरक्षण, स्थानीय खेतीपाती तथा कृषिको प्रबर्द्धनका लागि समेत तालिम सञ्चालन गरेको थियो । यी सबै कार्यक्रमले कुनै न कुनै रुपमा होमस्टे व्यवसायलाई सहयोग पुगेको स्थानीयको भनाइ छ । तनहुँसुरका अर्का होमस्टे सञ्चालनक मदन आलेको भनाइमा होमस्टे सञ्चालन गरेर आम्दानी मात्र बढेको छैन, गाउँघरमा सामाजिक अन्तरक्रिया र सद्भाव पनि बढेको छ ।
गाउँको विकासको बारेमा वहश, छलफल चलेको छ । गाउँलेहरुले आफ्नो ठाउँको महत्व बुझन थालेका छन् । होमस्टे सञ्चालक पवित्रा थापा त विदेश गएका श्रीमानलाई भविष्यमा नेपालमै बोलाएर यहि कार्यलाई आम्दानीको माध्यम बनाउँन सकिने सम्भावना व्यक्त गर्नुहुन्छ ।
तनहुँसुरको नामसंग झण्डै ४ सय वर्ष लामो इतिहास गाँसिएको छ, जहाँ झण्डै २३० वर्षसम्म सेन राजाले शासन गरे । उनिहरुले शासन व्यवस्था सञ्चालन गरेको यहि ठाउको नामबाट नै तनहुँ जिल्लाको नामाकरण भएको इतिहास छ ।
तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट १५ किमीको दुरीमा रहेको यो ठाउँ सुन्दर र मनमोहक स्थान भएर पनि केही वर्ष अघिसम्म पर्यटकसंग जोडिन सकेको थिएन । विकास निर्माण र पूर्वाधार अभावका कारण गाउँका मानिसहरु बसाइ सरेर बजारतिर र्झन थालेपछि गाउँको संस्कृति र पुरातात्विक सम्पदा संरक्षणमा समेत चुनौति थपिदै थियो ।
यो अवस्थालाई रोकेर यहाँको विकासका लागि सबैलाई जोड्ने र केही आधारभूत काम गर्ने उद्देश्यले परियोजना शुरु गरिएको र यो सफल भएको उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्ण चन्द्र सुवेदी बताउँछन् ।
संस्थाले शुरु गरेका कामको स्वामित्व अहिले स्थानीय सरकारले लिएर थप कामहरु गरिरहेको छ । तनहुँ जिल्लाकै गौरव र आर्थीक उन्नतिसंग समेत जोडिएको स्थलको प्रवर्द्धनका लागि स्थानीय सरकारले तनहुँसुरसम्म पुग्ने सडक पिच गर्नेदेखि आधारभूत पर्यटकीय पूर्वाधारमा लगानी गरिहरको छ ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो-आफ्नो क्षेत्राधिकारमा पर्ने काम गर्न यहाँ साढे १० करोड रुपैयाँ लगानी गरेको छन् । यो क्षेत्रको विकासका लागि सामुदायिक होमस्टेका लागि सामुदायिक भवन निर्माण, सोलर वत्ती जडान, इण्टरनेट जडानका साथै सम्पदा संरक्षणका लागि गण्डकी प्रदेश सरकारले मात्र रु. ४० लाख लगानी गरेको छ ।
त्यसैगरी सुन्तला, एभोकाडो, रैथाने बाली तथा तरकारी खेती र कृषक पाठशाला स्थापनाका लागि कृषि ज्ञान केन्द्र तनहुँको आर्थिक सहयोग करिव ३० लाख रुपैयाँको काम भएको छ । पुरातत्व विभागले यहाँको दरबार क्षेत्रको उत्खनन् तथा पुनःनिर्माणका लागि ८५ लाख रुपैयाँ लगानी गरेको छ ।
अहिले दरबार क्षेत्रमा पर्यटकहरुको आगम बढेको छ । होमस्टे तालिम, इको ट्रेक प्रवर्द्धन, पर्यटन सम्पदा तथा वातावरण मेला, चौतारी निर्माण तथा मर्मत, सम्पदा संरक्षण, खानेपानीका लागि व्यास नगरपालिकाले ५५ लाख रुपैयाँ लगानी गरिसकेको छ भने ल सडक निर्माणका लागि संघीय सरकारको सशर्त अनुदान अन्तर्गत ८ करोड रुपैयाँ लगानीमा झण्डै ११ किलोमिटर सडक व्यास नगरपालिकाले पिच गरिसको छ ।
पछिल्लो समयमा स्थानीयले आफ्नो स्थानको पर्यटकीय महत्व बुझेपछि उनिहरुले समेत स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार समक्ष विभिन्न विकासका आयोजनामा चासो देखाउँन थालेका छन् । यसले गर्दा तनहुँसुरमा तीनै तहका सरकाबाट लगानी बढेर गएको छ । यस सन्दर्भमा उर्जा तथा वातावरण नेपालका अध्यक्ष सुवेदीले भने, ‘हामीले तनहुँसुरमा साना अनुदान कार्यक्रम अन्तर्गत ४० हजार डलर आर्थिक सहयोगमा यो कामको शुरुवात गरेका हौं ।
यो बजेटबाट खासगरी समुदायलाई यहाँका वैभवको महत्व बुझाउने, यहाँको सम्भावनालाई उजागर गर्न सरोकारवाला पक्ष तथा तीनै तहका सरकारलाई जोड्ने काम पनि गरियो । यो ठाउँको महत्व सबैले बुझे पछि अहिले सरकारबाटै धेरै ठूलो लगानी भएको छ । यसले गर्दा तनहुँसुरको विकासमा हाम्रो परियोजना सकिएपछि गतिशीलता झन् बढेको छ । यसले हामीलाई पनि उत्साहित बनाएको छ ।’
तनहुँसुरको पर्यटकीय व्यापकतालाई उजागर गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताउँदै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने भन्छन्, ‘तनहुँसुरको विकासका लागि गुरु योजना बनाएका छौं । यसको कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध छ । यसका लागि नगरपालिकाले पनि आवश्यक बजेट विनियोजन गर्ने र संघ तथा प्रदेशसंग पनि थप बजेटका लागि पहल गर्ने कामलाई निरन्तरता दिनेछौं।’
यो क्षेत्रमा सेनवंशी राजाहरु बस्ने दरबार, मन्दिर, हातहतियार, गढी, ऐतिहासिक चौतारा, पुराना घर तथा संरचना र सँस्कृति यहाँ आउँने पर्यटकका लागि थप आकर्षण हुन् । संस्कृतिका विषयहरु पर्यटन र आयसंग जोड्न सकिने भएपछि गाउँलेहरु त्यसको जगेर्नामा जुटेका छन् । पछिल्लो समय लोप हुने क्रममा रहेका ती सँस्कृतिहरु पर्यटकको रोजाई बनिदिंदा स्थानियले त्यसको महत्व बुझन थालेको स्थानीयको भनाई छ । यहाँका समुदायमा रहेका कौरा, नचरी, लाखे, देवी नाच, बालन, पाउँदुरे जस्ता मौलिक कला संस्कृतिहरुलाई अहिले उनिहरुले आफ्ना बैभवको रुपमा बुझी त्यसको संरक्षणमा लागेको पर्यटनविद् हरिसिंह गुरुङ बताउँछन् ।
यिनै सम्पदा, पहिचान र स्थानीय वैभवमार्फत पर्यटक तान्नका लागि यहाँ ७ वटा दिवस मनाउँन क्यालेण्डर नै तयार गरिएको उनले बताए। गुरुङका अनुसार भगवतीपानी मन्दिरमा तिथि अनुसार हरिबोधिनी एकादशी मेला, विश्व पर्यटन दिवस (सेप्टेम्वर २७), विश्व सम्पदा दिवस (अप्रिल १८), विश्व नारी दिवस (मार्च १८), शहीद दिवस (माघ १६), नव वर्ष (वैशाख १ गते) र चैते दशैं मेला (तिथि अनुसार) का मेला तथा महोत्सव नियमित रुपमा मनाउन थालिएकोले पनि पर्यटकीय चलहपल बढाउँन सहयोग गरेको छ ।










