बन्दिपुरको प्रथम चौमासिक सार्वजानिक सुनुवाइ, सम्पादित विवरण सार्वजनिक
प्रथम चौमासिकमा ५ करोड ६१ लाख निकाशा, ५३ लाख ६७ हजार राजश्व असुली

- शिवकुमार श्रेष्ठ (बन्दिपुर)
तनहुँको बन्दिपुर गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले आइतबार कार्यालयमा सार्वजानिक सुनुवाई कार्यक्रम गरी यस अबधिमा सम्पादन गरिएका कार्यक्रम तथा विवरणहरु सार्वजनिक गरेको हो । कार्यक्रममा सहभागि अधिकांस वक्ताहरुले कार्यालयबाट प्रदान गरिएको सेवाहरूको उच्च मूलयाङ्कन गर्दै समग्र बन्दिपुरको पर्यटन, स्वास्थ्य, शिक्षा, शौचालय निर्माण, फोहोरमैला व्यवस्थापन, वन क्षेत्र संरक्षण, सडकबत्तिको व्यवस्थापन तथा सुकुम्बासी आयोगको काम अगाडि बढ्दा वास्तविक सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गा ब्यवस्थापन गर्नको लागि सुझाव दिएका थिए ।
कार्यक्रममा राप्रपाका गोवर्धन भट्टराइ, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर इकाई सभापति तथा पर्यटन व्यवसायी बैस बहादुर गुरुङ, पर्यटन विकास समिति बन्दीपुरका अध्यक्ष किसन प्रधान, क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधान, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दिपुरका सदस्य सनद कुमार श्रेष्ठ, नेपाली काँग्रेस बन्दिपुरका उपसभापति कुल बहादुर अधिकारी लगायतले विकासका बजेटमा दुरुपयोग रोक्न अनुगमनलाई तिब्रता दिनु पर्ने, विस्तृत गुरु योजना बनाई दीर्घकालिन योजनाहरु बनाउनु पर्ने लगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश सुबेदीले कार्यलयको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । सहभागिले उठाएका जिज्ञासाको अध्यक्ष पूर्णसिंह थापा, उपाध्यक्ष करुणा गुरुङ तथा प्रमुख प्रशासकिय अधिकृत सुबेदीले सहजिकरण गरेका थिए । अध्यक्ष थापाले जनताको गुनासो, सुझाव, सल्लाह अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै गाउँपालिकाको समग्र क्षेत्रको विकास र सबैलाई समान पहुँच अभिवृद्धि गर्न सबैले हातेमालो गरी अगाडि बढ्नुपर्ने बताएका थिए ।
इ नागरिक बडापत्रको सुरुवात
यस्तै, गाउँपालिकाले इ नागरिक बडापत्र (डिजिटल नागरिक बडापत्र)को सुरुवात गरेको छ । गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण विवरणहरु समावेश गरिएको इ नागरिक बडापत्रको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले एक कार्यक्रमका बीच शुभारम्भ गरेका थिए । बन्दिपुर गाउँपालिकाको सम्पूर्ण सेवाहरु, कार्यालयका कर्मचारीहरूको विवरण, वडागत विवरण, सेवा तथा गुनासोहरु लगायत गाउँपालिकाको सम्पूर्ण गुरुयोजनाको विवरणहरु उक्त इ नागरीक वडापत्रमा समावेश गरिएको र सजिलैसँग सबैले हेर्न सक्ने गरी राखिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले वडा तथा कार्यालयको सम्पूर्ण विवरणहरु सहित इ बडापत्रको सेवा यस क्षेत्रमा नैं पहिलोपटक सुरु गरिएको र यसबाट गाउँपालिका बासिन्दालाई गाउँपालिकाले उपलब्ध गराउँने सेवासुविधा, नीति, कार्यक्रम, बजेट तथा महत्वपूर्ण सम्पदाका विषयमा जानकारी लिन सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बन्दिपुर गाउँपालिका का ६ वटै वडाका निर्वाचित वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु, वडा सदयहरु गाउँपालिकामा सम्पूर्ण शाखाका प्रमुख एंव अन्य कर्मचरीहरू, इलाका प्रहरी कार्यालय बन्दिपुरका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
५ करोड ६१ लाख निकाशा, ५३ लाख ६७ हजार राजश्व असुली
यस्तै गाउँपालिकाले चालु आवको चौमासिकमा नेपाल सरकारको शसर्त अनुदान तर्फको प्रथम किस्ता ५ करोड ६१ लाख ९५ हजार ४० रुपैयाँ निकाशा भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी गराएका छन् । जसअन्तरगत विपद व्यवस्थापनमा १६ लाख ४८ हजार ९४८ रुपैयाँ, सामाजिक सुरक्षाको प्रथम किस्ता तर्फ २ करोड ३९ लाख ५७ हजार ७१८ रुपैयाँ निकासा भएको छ ।
गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि चालु आवको चौमासिकमा १५ लाख ६ हजार रुपैयाँ खर्च भएको जनाएको छ । जस अन्तरगत आइसोलेशन सञ्चालन तर्फ ११ लाख २१ हजार, क्वारेन्टार्इनन व्यवस्थापन तथा सञ्चालनमा २ लाख १९ हजार र सञ्चालन तथा व्यवस्थापन तर्फ १ लाख ६४ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । चालु आवको प्रथम चौमासिकमा गाउँपालिकाले चालु खर्च तर्फ ८ करोड ५ लाख ८७ हजार ८२८ रुपैयाँ र पूँजिगत तर्फ ४ करोड ३२ लाख ४३ हजार ७८४ रुपैयाँ खर्च भएको विवरण र्सार्वजनिक गरिएको छ ।
यस्तै, गाउँपालिकाले चालु आवको श्रावणदेखि पुस महिनासम्म ५३ लाख ६७ हजार ९१ रुपैयाँ राजश्व असुली गरेको छ । जसमध्ये वडा नं. १ बाट १७ लाख ८७ हजार २२६ रुपैयाँ, वडा नं. २ बाट ३ लाख ७४ हजा ९७९ रुपैयाँ, वडा नं. ३ बाट २ लाख ९५ हजार ५९४ रुपैयाँ, वडा नं. ४ बाट ७ लाख ८२ हजार१५१ रुपैयाँ, वडा नं. ५ बाज ७ लाख २७ हजार २१३ रुपैयाँ, वडा नं. ६ बाट १ लाख ८३ हजार ९८७ रुपैयाँ र गाउँपालिकाको कार्यालयबाट १२ लाख १५ हजार ९३९ रुपैयाँ बरारबो राजश्व असुली भएको छ।
गाउँपालिकाले सम्पत्ति कर (भूमिकर/मालपोत), घर बहाल कर, वहाल विटौरी कर, दर्ता, फारम, नविकरण तथा अन्य, नक्सा दस्तुर, सिफरिश, व्यक्तिगत घटना दर्ता दस्तुर, नाता प्रमाणित, व्यवसाय रजिष्ट्रेशन, फोहोर मैला व्यवस्थापन लगायतका क्षेत्रबाट राजश्व असुली गर्दै आएको छ।
गाउँपालिकाले प्रथम चौमासिकमा वार्षिक समिक्षा कार्यक्रम, बन्दिपुर अस्पताल फार्मेसी टेण्डर, मनोसामाजिक समस्या बारे महिला स्वास्थ्य सेवीकाहरुलाई तीन दिने आधारभूत तालिम, धरमपानी स्वास्थ्य चौकीमा एक्स-रे तथा इसिजि सेवाको लागि संरचना निर्माण, आधारभूत स्वास्थ्य सेवा केन्द्रको लागि थप बजेट माग तथा निर्माण कार्यक्रम तथा १, २, ३ र ५ नं. वडामा अगाडि बढेको, स्वास्थ्य शाखाबाट ९ जना सर्वसाधारणलाई निःशुल्क औषधि उपचार सहायता कोष मार्फत उपचार हुने गरी सिफारिस गरिएको, सबै स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा जडान, क्षयरोग सम्बन्धी प्रथम चौमासिक गोष्ठी लगायतका कार्यक्रम सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी गराए ।
त्यस्तै, गाउँपालिकाले निःशुल्क औषखि खरिद कार्यक्रम, स्वास्थ्य चौकी सुदृढिकरण कार्यक्रम, वार्षिक कार्यक्रम अनुसारको विभिन्न गोष्ठी र तालिम सञ्चालन, कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि कार्यक्रम सञ्चालन, बन्दिपुर गाउँपालिका अन्तरगत बन्दिपुर अस्पताल र धरमपानी स्वास्थ्य चौकीमा एम्बुलेन्स खरिद लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको उपाध्यक्ष करुणा गुरुङले जानकारी गराइन् ।










