स्थानीय निर्वाचन : तनहुँमा ७९५ हतियार दर्ता, ७२ मात्रै फिर्ता

स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजतप्राप्त हतियार फिर्ता गर्न आग्रह गरे पनि सर्वसाधारणले अटेर गरेको पाइएको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बनाउन पछि फिर्ता गर्ने गरी हतियार प्रहरीमा बुझाउन आग्रह गरिए पनि सर्वसाधारणले बेवास्ता गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा इजाजत लिएका ७९५ हतियार रहे पनि हालसम्म ७२ मात्रै फिर्ता भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । प्रशासनले सूचना जारी गरी सर्वसाधारणलाई नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह गरेको थियो । तत्कालीन गाउँ पञ्चायत र अहिलेको गृह मन्त्रालयसँग स्वीकृत लिइएका हतियारको सङ्ख्या जिल्लामा ७९५ रहेको छ । त्यसमध्ये ५६७ भरुवा बन्दुक र २२८ राइफल रहेको प्रशासनले जनाएको छ ।
हतियार सङ्ख्या धेरै रहेपनि सर्वसाधारणले फिर्ता गर्न आनाकानी गरेपछि प्रहरी प्रशासनले पुनः सूचना जारी गरेको छ । न्यून मात्रामा हतियार आएकाले सूचना नपुगेको पनि हुनसक्ने र अटेरी पनि हुनसक्ने प्रहरीको अनुमान छ । हातहतियार खरखजाना ऐन २०१९ अनुसार अवैध हातहतियार राखेको पाइए एक वर्षदेखि तीन वर्षसम्म कैद र रु तीन हजारदेखि ६० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । “चुनावलाई सुरक्षित र भयरहित बनाउनका लागि सबै हतियार बुझाउन आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “चुनावपछि हतियार पुनः फिर्ता गरिने भएकाले जतिसक्दो छिटो नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध छ ।”
निर्वाचनलाई भयरहित बनाउन सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराखिने प्रजिअ अर्यालले बताउनुभयो । “चुनावी सुरक्षा योजना बनाइसकेका छौँ, भयरहित तरिकाले नागरिकले मत हाल्ने व्यवस्था मिलाउँछौँ”, उहाँले भन्नुभयो । प्रशासन कार्यालयले निर्वाचनलाई मध्यनजर गरी मतदान केन्द्रको निरीक्षणसमेत गर्दै आएको छ । अर्यालका शुक्लागण्डकी, भिमाद, व्यास नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिका मतदानस्थलको अनुगमन गरिएको छ ।
जिल्ला सुरक्षा समिति तनहुँले यहाँका पाँच मतदानस्थलाई अति संवेदनशीलमा सूचीकृत गरेको छ । जिल्लाका १० वटै पालिकामा १३६ मतदानस्थल कायम गरिएको छ । त्यसमा २९७ मतदान केन्द्र छन् । उहाँका अनुसार भौगोलिक अवस्था र सुक्ष्म अध्ययनबाट ती मतदानस्थललाई अति संवेदनशीलमा सूचीकृत गरिएको हो । त्यस्तै ३८ मतदानस्थललाई संवेदनशील र ९३ मतदानस्थललाई सामान्यमा सूचीकृत गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।









