म्याग्दे गाउँपालिकाले नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलन गर्ने
भञ्ज्याङन्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले आफ्नो क्षेत्रको आर्थिक विकासका लागि नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलनको तयारी गरेको छ । युवा व्यवसायीलाई प्रतिस्पर्धी बनाउएर लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलोपटक गाउँपालिकाले सो सम्मेलन आयोजना गर्न लागेको हो ।
गाउँपालिकाभित्र रहेका, उद्योगी र व्यवसायीको सीपमार्फत व्यवसाय गर्न उत्प्रेरित व्यक्ति तथा लगानी गर्न इच्छुक लक्ष्य गरी फागुनको अन्तिम सातासम्म सम्मेलन आयोजना गर्न गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । नवप्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम अन्तर्गत युवाको चाहना र लक्ष्यलाई पूरा गर्ने मुख्य उद्देश्य सम्मेलनको रहेको उनले बताए ।
सम्मेलनबाट प्रतिस्पर्धी लाभको क्षेत्रको पहिचान स्वयं युवा व्यवसायीले गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘व्यवसाय गर्न इच्छुक व्यक्ति वा समूहले प्रस्ताव पेस गरेपछि पालिकाबाट सहयोग गर्ने र व्यवसायलाई अगाडि बढाउने नयाँ कार्यक्रम हो ।’
गाउँपालिकाको दिगो आर्थिक विकासका लागि स्थानीय स्तरमा हुने उद्यम व्यवसाय, पर्यटन, स्थानीय उत्पादन, पूर्वाधार निर्माण, सीप विकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवर्द्धन, विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरण लगायत विषयमा सम्मेलनमा छलफल हुने नवप्रवर्द्धन कार्यक्रमका स्रोत व्यक्ति एवं गाउँपालिकाका अधिकृत प्रदीप न्यौपानेले बताए ।
उनका अनुसार स्थानीय क्षेत्रको आर्थिक विकास गर्नु, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी र आय आर्जन गर्नु लगायत कार्यक्रमको उद्देश्य रहेको छ ।
नवप्रवर्द्धनमा आधारित कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउन निजी क्षेत्र, स्थानीय शिक्षालय, गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठित व्यक्ति, उद्योग वाणिज्य संघ बजार इकाइ, सहकारी, घरेलु महासंघ, पर्यटन व्यवसायीसँग सहकार्य गरिने गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमबाट गाउँपालिकामा धेरै व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने विश्वास गरिएको छ ।
स्थानीयस्तरमा हाटबजार निर्माण गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने र युवालाई व्यवसायप्रति जागरुप बनाउनेजस्ता कार्य गाउँपालिकाले गर्दै आएको छ ।










