“आफन्तबाटै असुरक्षित बन्दै छोरीहरु”

नारायण खड्का/तनहुँ

आमाकै काँखमा सुतेपनि ११ वर्षकै उमेरमा तनहुँकी एक बालिका पटकपटक आफ्नै बुबाबाट यौनजन्य हिंसामा परिन । आफ्नै बुबाको त्यो घृणित कार्यबाट विक्षिप्त १४ वर्षीया बालिका अहिले आफ्नै बुबालाई देख्दा पनि घृणा लाग्ने बताउँछिन् ।

बालिकाका बुबाले दुइवटा बिवाह गरेका थिए । बालिका २ वर्षको हुँदा बुबाले छोडेर गएका थिए । उनी करिव ११ वर्षको हुँदा उनका बुबा फर्किएर त्यही परिवारसंगै बस्न थाले । आमासंगै सुत्ने बालिकालाई उनका बुबाले यौनजन्य हर्कत गर्न थाले । उनी सानै भएका कारण त्यो हर्कतको प्रतिवाद गर्न पनि सकिनन् र के भइ रहेको छ भन्ने बुझ्न पनि नसकेको सुनाइन् ।

तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा सहभागी ती बालिकाले आफु आफन्तबाटै यौनजन्य हिंसामा परेको सुनाइन् । करिव डेढ महिनासम्म घरपरिवारसंगै बसेका बुबाले चार पटकसम्म आफ्ना यौनअंगहरु चलाएको र यो कार्यले आफुलाई असहज हुनुका साथै मानसिक पीडा समेत झेल्दै आएको सुनाइन् ।

‘म अहिले १४ वर्षकी भए, अझैपनि त्यो घटनाले मलाई सताइ राख्छ र मन डराउछ’, उनले भनिन्, ‘त्यो समयमा बुबाले मेरो गोप्य अंग चलाएको थाहा पाए । डरले म केही बोल्न सकिन र सुतेको नाटक गरे । तर, त्यही घटनाले अझैपनि मलाई झस्काइ राख्छ ।’

‘राती म सुतेजस्तो लागेपछि ३/४ दिनसम्म बुबाले मेरो संवेदनशिल अंगहरुमा आफ्नो हात लग्नुहुन्थ्यो’, उनले भनिन्, ‘के गरेको होला । बुबाले मलाई माया गर्नुभएको होला कि के होला ? मलाई बुबाले छुदा किन नराम्रो लाग्छ ? जस्ता प्रश्नहरु मेरो मनमा खेल्थ्ये । यो कुरा अरुलाई भन्दा मलाई के भन्छन् भन्ने लागेर पनि मैले आमा र अन्य कसैलाई भन्न सकिन । आज तपाईलाई भन्न पाउदा मन हलुङ्गो भएको छ ।’

उनले भनिन्, ‘बुबाले केही समयपछि घर छोडेर जाँदा आमाको अनुहारमा दुःख देखेपनि मलाई भने साह्रै खुसी लागेको थियो । आर्थिक अवस्था कमजोर भएकाले आमाले दैनिक ज्यालामजदुरी गरी हाम्रो पढाइ खर्च र घरव्यवहार चलाउनुहुन्छ ।’

लैङ्गकि हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको समयमा बाहिरिएको यो घटनाले आफन्तबाटै बालिकाहरु असुरक्षित रहेको संकेत गरेको छ । विभिन्न संघसंस्थाहरुले यस अभियानका विषयमा गोष्ठी, सेमिनार, सचेतनामुलक र्‍याली समेत प्रदर्शन गरी लैङ्गकि हिंसाको विरुद्धमा आवाज उठाएका छन् । तर, यस्ता आवाजहरु हाम्रै समाज भित्र पीडित बनेकाहरुसम्म पुग्न सकेका छैनन् ।

घरपरिवार र समाजको डरका कारण पीडितहरु पीडा लुकाउदै बस्न बाँध्य छन् । पीडित १४ वर्षीया बालिका ११ वर्षकै उमेरमा आफ्नै बुबाको यो घृणित कार्यबाट प्रताण्डित हुन पुगिन् । इन्सेक तनहुँले हालै सार्वजनिक गरेको एक तथ्याङ्कमा तनहुँमा बलात्कार, बलात्कार प्रयोस, यौन दुर्व्यवहार तर्फको उजुरी संख्य ३० वटा देखाएको छ । जसमा १३ जना महिला र १७ जना बालिका पीडित भएको संख्या देखाइएको छ । इन्सेकको तथ्याङ्कमा चार वटा बलात्कारको घटना आफ्नतबाटै भएको छ ।

रुम टु रिड (पढ्नका लागि कोठा)ले सञ्चालन गरेको बालिका शिक्षा कार्यक्रममा सहभागी भएपछि उनले आफ्नो पीडा सुनाउन सक्षम भएकी हुन् । विद्यालयमा यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम तथा राम्रो छुवाइ र नराम्रो छुवाइका विषयमा सहजकर्ताहरुले सहजीकरण गरेपछि बालिकाले आफ्नो बुबाले गरेको हर्कत नराम्रो छुवाइ भएको बुझिन् ।

रुम टु रिडले करिव पाँच वर्षदेखि जिल्लाका १२ वटा सामुदायिक विद्यालयमा बालिका शिक्षा कार्यक्रममा सञ्चालन गर्दै आएको छ । यस कार्यक्रममा विभिन्न विद्यालयका एक हजार ४५१ जना बालिकाहरु सहभागी छन् । कार्यक्रममा जीवन उपयोगी सीप तालिम, मेनटरिङ, अभिभावक भेला र कार्यक्रम सहयोग गरी ४ वटा कक्षा सञ्चालन गरिन्छ ।

यस्तै, सानैबाट बालबालिकालाई यौजन्य हिंसा र दुर्व्यवहारका विषयमा बुझाउन नसक्दा समाजमा यस्ता घटनाहरु घट्ने तर उजागार नहुँदा पीडितले पीडा झेल्दै जानुपर्ने र पीडकले उन्मुक्ति पाउने गरेको निर्मल माध्यमिक विद्यालयकी छात्रा दिपिका थापाले बताइन् । उनले भनिन्, ‘हामीले समाचारमा अझैपनि कति नावालिगलाई बलात्कार भएको घटनाहरु सुनिरहन्छौ । यस्ता घटना समाजमा हुन नदिनका लागि यौन शिक्षाका बारेमा विद्यालयस्तरमै बालबालिकालाई बुझाउन जरुरी छ ।’

‘कक्षामा साथीभाई बिच होस् या मेला महोत्सवमा जानअन्जानमा बालिका/केटीका संवेदनशिल अंगमा छुने प्रयास गरिन्छ र अधिकांश दिदीबहिनीले यो भोग्दै पनि आउनु भएको छ’, उनले भनिन्, ‘यस्ता गलत क्रियाकलापको तत्कालै प्रतिकार गरी र दोषीलाई सजय दिए समाजमा यौंनजन्य हिंसामा कमि आउने थियो । आमाबुबा शिक्षकशिक्षिकाले पनि यौन शिक्षाका बारेमा सानैबाट आ-आफ्ना बालबालिकालाई सिकाए उनीहरु पनि समयमै सचेत हुने थिए ।’

यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँमा चालु आर्थिक वर्षको कार्त्तिकसम्म दर्ता हुन आएका ९ वटा जबरजस्तीकरणी मुद्दामध्ये १६ वर्ष मुनिका ५ वटा मुद्दा दर्ता भएका छन् । जवरजस्तीकरणी उद्योगमा एउटा मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जबरजस्तीकरणीको ३० वटा मुद्दा दर्ता भएकोमा १६ वर्ष मुनिका १३ वटा मुद्दा, जबरजस्तीकरणी उद्योगको ९ वटा मुद्दा दर्ता भएकोमा १६ वर्ष मुनिका ४ वटा र बालयौन दुरुपयोगको २ बटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भानु शर्माले बताए ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा जबरजस्तीकरणीको २२ वटा मुद्दा दर्ता हुन आएकोमा १६ वर्ष मुनिका १६ वटा मुद्दा, जबरजस्ती करणी उद्योगको ३ र बाल यौन दुरुपयोगको ५ वटा मुद्दा दर्ता भएका छन् । २०७८/०७९ का एउटा मुद्दा बाहेक सबै मुद्दा अदालतीय प्रक्रियमा गइसकेको प्रहरी निरीक्षक शर्माले बताए । उनका अनुसार अरोपित व्यक्ति फरार भएको हुँदा मुद्दा अघि बढ्न सकेको छैन। जवरजस्तीकरणी र बालयौन दुर्व्यवहारको घटना जिल्लामा बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

यस्तै, जिल्ला अदालत तनहुँको तत्थाङ्क अनुसार चालु आर्थिक वर्षमा दर्ता हुन आएका १११ मुद्दामध्ये १२ वटा मुद्दा जबरजस्तीकरणीका छन् । आर्थिक वर्ष ०७८/०७९ मा दर्ता हुन आएका २०३ मुद्दामध्ये ३९ वटा मुद्दा बालयौन दुरुपयोग र जबरजस्तीकरणीका रहेका छन् । जसमध्ये ३ वटा मुद्दाको फैसाला भइसकेको छ । बाल यौन दुरुपयोगको ३ वटा मुद्दा दर्ता भएका छन् ।

जबरजस्तीकरणीमा केही नाबालिगको पनि मुद्दा दर्ता हुन आएको अदातलको तथ्याङ्कमा देखाइएको छ । जबरजस्तीकरणीमा ५ मुद्दा हाडनाता भित्रको परेका छन् । अघिल्लो आर्थिक वर्षमा जबरजबरजस्तीकरणीमा पक्राउ परेका ५ जना बालकलाई बालसुधार केन्द्र पठाइएको छ । मुलुकीय अपराध संहिता २०७४ दफा २२५ को उपदफा ३ अनुसार कसैले बालयौन दुरुप्रयोग गरेमा ३ वर्षम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker