स्थानीय निर्वाचन : ४४५ पदका लागि तनहुँमा १६३६ जना उम्मेदवार चुनावी मैदानमा, उम्मेदवारहरु मत माग्दै घरदैलोमा

भञ्ज्याङ न्यूज

आसन्न स्थानीय निर्वाचनका लागि तनहुँका १० वटै पालिकामा १ हजार ७५१ जनाको उम्मेदवारी मनोनयन दर्ता भएकोमा ११५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तनहुँमा गत आइतबार र सोमबार भएको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा तनहुँका १० पालिका र ८५ वटा वडाका विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गरेकोमा १ हजार ६३६ उम्मेदवारहरुले पार्टीको चुनाव चिन्ह तथा स्वतन्त्र उम्मेदवारले शनिबार चुनाव चिन्ह पाएसंगै चुनाव प्रचारप्रसारमा जुटेका छन्।

निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लाको चार नगरपालिकाको प्रमुख पद दाबा गर्दै २८, उपप्रमुखमा २१ जनाको उम्मेदवारी कायम भएको छ भने ६ गाउँपालिकाको अध्यक्ष पद ३० र उपाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी कायम रहेको छ ।

यस्तै, तनहुँका ८५ वटा वडाको वडाध्यक्ष पद दाबा गर्दै ४०६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएकोमा ३६२ जना उम्मेदवारी कायम रहेका छन् । वडाका महिला सदस्यमा २९५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएकोमा २८६, दलित महिला सदस्यमा २७७ जनाको मनोनयन दर्ता भएकोमा २७५ र खुल्ला सदस्यमा ६३६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएकोमा ६०३ जनाको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए।

तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीले कैची चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जोशीलाई शनिबार चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एमालेको र्समर्थनमा जोशीले व्यासको मेयरमा उम्मेदवारी दिएका थिए । एमालेबाट बसुन्धरा घर्ती उपमेयरको उम्मेदवार छिन् । उनको चुनाव चिन्ह सूर्य हो । तनहुँमा कांग्रेसका नेता गोविन्दराज जोशी समूह र एमालेबीच तालमेल भएको छ ।

यस्तै, व्यास नगरपालिकाको स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गरेकी पार्वती कार्कीको चुनावी चिन्ह खरायो छ भने धन बहादुर परियारले खानेपानीको धारा चुनाव चिन्ह पाएका छन् ।

शुक्लागण्डकी नगरपालिकाका मेयर उम्मेदवार महेश्वर भट्टराइले ‘पुतली’ चुनाव चिन्ह पाएका छन् । कांग्रेसका नेता भट्टर्राईले स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेस महासमिति सदस्य भट्टराइले पार्टीबाट टिकट नपाएपछि राजिनामा दिँदै स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दर्ता गराएका थिए ।

त्यस्तै, आगामि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका १४ जना स्थानीय तहको प्रमुखका उम्मेद्वारले उम्मेदवारी फिर्ता लिएका छन् भने चार जना उपप्रमुखको उम्मेदवारी फिर्ता भएको छ । ४६ जना वडाध्यक्ष, ३५ जना वडा सदस्य, महिला सदस्य १२ र दलित महिला सदस्य चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका कमल गैरे र जनता समाजवादी पार्टीका पुण्यबहादुर हिराचनको उम्मेदवारी फिर्ता भएको छ । उपमेयरमा एकिकृत समाजवादीकी रेखा थापा बस्यालले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।

व्यासको मेयरमा उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादी पार्टीका शंकरनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेद्वारी दिएका वृषराज श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् । भिमाद नगरपालिकाको मेयरममा कांग्रेसबाट उम्मेदवारी दिएका निरञ्जन खनालले फिर्ता लिएका छन् । उपमेयरमा एकीकृत समाजवादीको तर्फाट उम्मेदवारी दर्ता गराएकी मधुमाया ढकालले पनि फिर्ता लिइन् । भानुको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हरिबहादुर क्षेत्रीको उम्मेद्वारी फिर्ता भएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका तीन जनाले फिर्ता लिएका छन् । माओवादी केन्द्रबाट शुसिला नेपाल, स्वतन्त्रबाट हिमालय पौडेल र सुकलाल गुरुङको उम्मेदवारी फिर्ता भएको छ । बन्दिपुरको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका मानकाजी श्रेष्ठ र केशव अधिकारी, घिरिङको अध्यक्षबाट माओवादी केन्द्रका हरिहर अधिकारी, म्याग्देको अध्यक्षबाट स्वतन्त्र उम्मेदवारी दिएका हिमकुमार मल्ल र आँबुखैरेनीमा स्वतन्त्र उम्मेदवारी दिएका कर्णबहादुर गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् । बन्दिपुरको उपाध्यक्षमा एमालेबाट फुलमती थापा र स्वतन्त्रबाट लक्ष्मी गौतमको उम्मेदवारी फिर्ता भएको छ ।

यस्तै, उम्मेदवारी मनोनयन तथा निर्वाचन अधिकृतिको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणसंगै अहिले राजनीतिक दल तथा स्वतन्त्रबाट उम्मेदवार बनेकाहरु आ-आफ्नो पक्षमा मत माग्दै घरदैलो अभियानमा जुटेका छन् । दल तथा स्वतन्त्र उम्मेदवारहरु अहिले निर्वाचन केन्द्रित भई प्रचारप्रसार तथा मतदाताको घरदैलो एवं खेतबारीमै पुगेर मत माग्न थालेका छन् ।

नेपाली कांग्रेस व्यास समितिले नगरपालिकाका मेयर उम्मेदवार वैकुण्ठ न्यौपानेको चुनावी अभियान शनिबार व्यास-१३ बेलवासबाट सुरु गरेको छ । शनिबार बेलबासमा आयोजित कार्यक्रममा न्यौपानेले यस क्षेत्रको समस्याका बारेमा आफू जानकार रहेको बताउँदै बुद्धसिं मार्ग, बेनीकोट मार्ग, केशवटार मार्गलाई व्यवस्थित गर्ने समस्या रहेको भन्दै उनले प्रदेश र संघीय सरकारको समन्वयमा यी मार्गको समस्या समाधान गर्ने न्यौपानेले आश्वासन दिएका छन् । कार्यक्रममा उपमेयरका उम्मेदवार इन्दिरा दरै, वडाध्यक्षका उम्मेदवार बसन्तबहादुर आले लगायतले आ-आफ्नो कुरा राख्दै मत मागेका थिए ।

तनहुँको भिमाद नगरपालिकामा नेकपा एमालेको घरदैलो अभियान सुरु भएको छ । नगर प्रमुखका उम्मेदवार दधिराज सुवेदी, उपप्रमुखका उम्मेदवार शारदा खनाल सहितको टोलीले घरदैलो अभियान सुरु गरेको हो । अभियान अन्तरगत शनिबार भिमाद नगरपालिका-९ स्थित विभिन्न टोलमा घरदैलो गरिएको छ । वडाको अस्पाङ्दी, कटनछाप, सखेप, पाथर्दी, मोहोरिया, जौबारी लगायतका ठाउँमा घरदैलो गरिएको छ ।

कार्यक्रममा नगरप्रमुखका उम्मेदवार सुवेदी, उपप्रमुखका उम्मेदवार खनाल, निवर्तमान नगर प्रमुख मेखबहादुर थापा, नगर कमिटीका अध्यक्ष इमान थापा लगायतले भिमादमा एमालेको विरासत कायमै राख्न सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए ।

जिल्लाका १० वटै पालिकाका उम्मेदवारहरु अहिले घरदैलो अभियानका साथै प्रचार प्रसारमा जुटेका छन् । दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले आ-आफ्ना चुनावी प्रतिवद्धता पत्र समेत र्सार्वजनिक गरिसकेका छन्। अघिल्लो निर्वाचनमा गरेका प्रतिवद्धता विजयी उम्मेदवारहरुले पुरा नगरेका कारण यो निर्वाचनमा मतदाताले दलका प्रतिवद्धतापत्रलाइै खासै विश्वास गर्न सकेका छैनन् ।

भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिकाका साथै देवघाट, आँवुखैरेनी, बन्दिपुर, म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षका साथै वडाध्यक्ष, सदस्यहरु अहिले आ-आफ्नो चुनाव चिन्ह, प्रतिवद्धता सहित मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै घरदैलो अभियान तथा चुनावी कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker