तालिमबाट व्यवसायसम्म : म्याग्देका महिलाले कोर्दैछन् आत्मनिर्भरताको बाटो

म्याग्दे : गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको सीपमूलक उद्यम विकास तालिम प्रभावकारी बन्दै गएको छ। वडा नं. ४ मनहरीमा सञ्चालन भइरहेको तालिममा ३५ जना महिला उद्यमीको उत्साहजनक सहभागिता रहेको छ।
वडा कार्यालयको सहजीकरणमा सञ्चालन गरिएको तालिमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर, स्वरोजगार तथा उद्यमशील बनाउनु रहेको छ। तालिममा हस्तकलाबाट निर्मित धूप–बत्ती उत्पादन तथा विभिन्न प्रकारका भेज र ननभेज अचार बनाउने सीप प्रदान गरिएको छ।
प्रशिक्षणका क्रममा नेपाली कागज प्रयोग गरी पूजा–आराधनामा प्रयोग हुने सुगन्धित धूप, विभिन्न प्रकारका बत्ती तथा अन्य हस्तकलाजन्य सामग्री उत्पादन गर्ने विधि सिकाइएको छ। त्यस्तै, करेला, आँप, कागती, खुर्सानीलगायतका भेज अचार तथा कुखुराको मासु, बफ र बँदेलका परिकारबाट ननभेज अचार बनाउने सीपसमेत प्रदान गरिएको छ। सहभागीहरूले व्यवहारिक अभ्यासमार्फत उत्पादन प्रक्रिया सिक्दै व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान हासिल गरिरहेका छन्।
म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख तथा मेडपा कार्यक्रमका फोकल पर्सन प्रदीप न्यौपानेले तालिमले महिलाहरूलाई सीपसँगै आयआर्जनको अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
“महिलाहरूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरी आत्मनिर्भर बन्न सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “यसले स्थानीय स्रोतसाधनको उपयोग गर्दै उत्पादन र उद्यम विकासका नयाँ सम्भावना सिर्जना गर्नेछ।”
तालिमका प्रमुख प्रशिक्षक पवित्रा लामीछानेले सहभागी महिलाहरूको सिकाइप्रतिको उत्साह प्रशंसनीय रहेको बताउनुभयो। उहाँका अनुसार तालिममा उत्पादनसँगै प्याकेजिङ, गुणस्तर व्यवस्थापन तथा बजारमुखी सोचको विकासमा समेत जोड दिइएको छ।
सहभागी सरस्वती श्रेष्ठले तालिमले आफूहरूलाई नयाँ अवसरको ढोका खोलेको बताउनुभयो।
“हामी यसअघि झोल साबुन उत्पादन गरेर व्यवसाय गरिरहेका थियौँ। अब धूप, बत्ती र विभिन्न अचार उत्पादन गरी बजारमा ल्याउने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “स्थानीय उत्पादनमार्फत म्याग्देको छुट्टै पहिचान स्थापित गर्न सकिन्छ भन्ने विश्वास छ।”
वडा नं. ४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले महिलाहरूको आवश्यकता र मागलाई ध्यानमा राखेर गाउँपालिकासँगको सहकार्यमा तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अधिकांश सहभागी महिलाहरू विभिन्न समूहमा आबद्ध भई उद्यम तथा होटल व्यवसायमा सक्रिय रहेकाले तालिमबाट प्राप्त सीप तत्काल व्यवहारमा उतार्ने सम्भावना उच्च छ।
तालिमको अर्को महत्वपूर्ण पक्ष बजारीकरण रहेको छ। पोखरास्थित साइनो किचन कर्नरसँगको सहकार्यमा सहभागी महिलाहरूलाई आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने तथा उत्पादन भएका धूप, बत्ती र अचारको बजारीकरणका लागि समन्वय प्रक्रिया अघि बढाइएको आर्थिक विकास शाखाले जनाएको छ।
३५ जना महिलाको सहभागिता रहेको तालिममा प्रमुख प्रशिक्षकका रूपमा पवित्रा लामीछाने र सहायक प्रशिक्षकका रूपमा राममाया श्रेष्ठ रहनुभएको छ।
स्थानीय महिलाहरूलाई घरधन्दामा मात्र सीमित नराखी आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको यो तालिमले महिला उद्यमशीलताको क्षेत्रमा सकारात्मक ऊर्जा थपेको छ। सीप, उत्पादन र बजारीकरणलाई एकैसाथ जोड्ने प्रयासले म्याग्दे गाउँपालिकामा महिला उद्यमशीलताको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।










