बेलचौतारामा मिनिट्रकको ठक्करबाट एक महिलाको मृत्यु
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आइतबार साँझ सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।
पृथ्वीराजमार्गमा दुलेगौँडाबाट खैरेनीटारतर्फ आउँदै गरेको ग १ क १८४५ नम्बरको मिनिट्रकले बाटो काट्दै गरेकी ३७ वर्षीया देवी तिवारी पौडेललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी तिवारीलाई तत्काल उपचारका लागि जि.पी. कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटा पठाइएको थियो ।
तर, उपचारका क्रममा करिब साँझ ७ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । दुर्घटनापछि मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।










