५३औं विश्व वातावरण दिवसमा व्यासको सिरिडीमा वृक्षारोपण

दमौली : भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले जिल्ला प्रशासन कार्यालय तनहुँको सहजिकरण तथा डिभिजन वन कार्यालय तनहुँको सहयोगमा व्यास नगरपालिका–५ स्थित सिरिडी (दमौली–पोखरा सडक खण्डको पहिरो क्षेत्र)मा वृक्षारोपण गरेको छ ।

५३औं विश्व वातावरण दिवसका अवसरमा विहीबार “प्लाष्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतको सहभागितामा वृक्षारोपण गरिएको थियो ।

समन्वय प्रमुख वाग्लेले प्लाष्टिक प्रयोग न्यूनिकरणका लागि प्रत्येक नागरिक सचेत हुनुपर्ने र वैकल्पिक कपडाका झोलाको प्रयोगमा जोड दिएका थिए । उनले स्थानीय सरकारले आवश्यक नीति निर्माण गरी वृक्षारोपण कार्यक्रमहरूलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउनु सुझाएका थिए ।

प्रजिअ अधिकारीले वातावरणीय प्रदूषण घटाउन प्लाष्टिकको प्रयोग न्यूनतम बनाउनुपर्ने बताउँदै वातावरण संरक्षणका लागि सबैको समन्वय र सहकार्य अपरिहार्य रहेको चर्चा गरेका थिए ।

उक्त अवसरमा राजमार्ग विस्तारका क्रममा सिरिडीको पहिरो क्षेत्रमा बाँस, अम्रिसो, नेपियर, डाले घाँसजन्य किम्बु, राईखन्यु, निमारो, सौन्दर्यमूलक प्रजातिका गोल्डमोहर, कल्कीफूल, कपुर तथा फलफूल प्रजातिका अमला, रूखकटहरसहित करिब १ हजार २०० बिरुवाहरू रोपिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेलले बताए ।

उक्त कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकाय प्रतिनिधिहरू, वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ (हिमाल), सामुदायिक वन उपभोक्ता महासंघ, टोल सुधार समिति, लायन्स क्लब महिला समूहका प्रतिनिधिहरू तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker