तनहुँमा निर्वाचन सामग्री वितरण सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँले सोमबारदेखि निर्वाचन सामग्री वितरण सुरु गरेको छ । कार्यालयले दश वटा पालिकाका २९७ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई निर्वाचनका लागि आवश्यक पर्ने सामग्री वितरण सुरु गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्र बुझेर आएका कर्मचारीलाई सामग्री वितरण थालिएको कार्यालय प्रमुख हर्रि्रसाद ढकालले बताए ।

नियुक्ति पत्रलाई अनलाइन सफ्टवेयरमा प्रविष्ट गरेपछि आवश्यक सामग्री प्रदान गरिएको छ । ‘निर्वाचनका लागि कार्यालयबाट ६१ प्रकारका सामग्री वितरण गरिएको छ’, उनले भने, ‘मतपेटिका, परिचयपत्र, लाहाछाप, स्ट्याम्प लगायतका सामग्री निर्वाचन कार्यालयबाट र मतपत्र भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइएको छ ।’

तनहुँका चार नगरपालिका, छ गाउँपालिकाका ८५ वटा वडाका ४४५ पदमा विभिन्न राजनीतिक दल, स्वतन्त्र गरी १ हजार ६३७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा १ लाख १७ हजार १३४ पुरुष र १ लाख २७ हजार २०६ महिला गरी २ लाख ४४ हजार ३४० जना मतदाता रहेको प्रमुख ढकालले बताए । तनहुँमा गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार आठ सय ६९ बढी मतदाता थपिएका छन् ।

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए । जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी २ हजार ३७६ जनशक्ति परिचालन गरिने भएको छ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन गरिने भएको छ । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिएको छ ।

यस्तै, मतदान स्थलको सुरक्षा तथा मतदातालाई सुरक्षित, भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाउन जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबारदेखि नै कर्मचारीलाई नियुक्तिपत्र समेत वितरण गरेको छ । निर्वाचनमा खटिने एक हजार ४८५ मध्ये ८९१ कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति र तलबभत्ता उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए ।

यस्तै, निर्वाचन कार्यालयले भौगोलिक दूरीले टाढा रहेका मतदान केन्द्रका कर्मचारीलाई सोमबार सामग्री उपलब्ध गराएको छ । कार्यालयका अनुसार सोमबार घिरिङ, ऋषिङ, देवघाट, बन्दिपुर, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकाका मतदान केन्द्रमा खटिने कर्मचारीलाई सामग्री उपलब्ध गराएका छ । व्यास , भानु, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई मंगलबार सामग्री प्रदान गर्ने भएको छ ।

निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निग्रानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रमा खटिने सबै कर्मचारी वैशाख २७ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्नेछ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माण लगायतका काम गरिने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker