तनहुँ कालिकालाई धार्मिक गन्तव्य बनाउनुपर्छ : मन्त्री डोवाटे विक

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोवाटे विकले तनहुँ कालिका शहीद पार्कलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । फूलपातीको अवसरमा तनहुँ कालिका शहीद पार्कले आज आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विकले व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै यस ठाउँलाई पनि धार्मिक पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । धार्मिक पर्यटनबाट समृद्धि सम्भव रहेको उल्लेख गर्दै मन्त्री विकले गण्डकी प्रदेश त्यस हिसाबले धनी रहेको चर्चा गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लगायतले सबैको पहलमा यस ठाउँको विकास सम्भव रहेको बताउनुभयो ।

सो ठाउँमा मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । रु तीन करोड लागतमा निर्माण सम्पन्न भएको मन्दिरको गत वर्ष उद्घाटन गरिएको थियो । तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ । मन्दिर निर्माणका लागि चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५० लाख बजेट विनियोजन भएको थियो ।

पृथ्वीराजमार्गअन्तर्गत दमौली बजारबाट एक किमिको दूरीमा रहेको उक्त पार्कसम्म पुग्नका लागि पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधनका लागि बाटो पक्की बनाइनेछ । अप्ठ्यारो रहेको ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ ।

दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी रहेको छ । ३७ हेक्टर क्षेत्रफलमा काँडे तारवार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुईवटा वनभोज स्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेको छ भने रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ ।

तनहुँको सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्तीहरु, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोट लगायतका पर्यटकीय स्थलहरु अवलोकन गर्न सकिन्छ ।

यसैगरी बडादसैँको सातौँ दिन उक्त मन्दिरमा फूलपाती भित्र्याइएको छ । बाजागाजासहित दमौली बजार परिक्रमा गरी कालिका मन्दिरमा पुगेर फूलपाती भित्र्याइएको हो । चापाघाटस्थित कालीभञ्जन गणका सेना र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले लिएको डोली कालिका मन्दिरमा भित्र्याइएको हो । त्यसअघि बिपी वनवाटिकास्थित बेलको रूखमा पूजाआजा गरिएको हो । कालिका मन्दिरको व्यवस्थापनमा प्रत्येक वर्ष फूलपाती भित्र्याउने परम्परा रहँदै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker