श्रृंखला, सान्या र व्यासनगर !

देव बस्न्यात

वि.सं. २०७१ साल मार्ग महिनाको कान्तिपुरको कोसेलीमा राजाराम गौतमको “सुन्दरी सहर” लेख हेर्ने सुअबसर मिलेको थियो । सो लेख पढदा सान्या सहर र व्यासनगरको दमौली बारे केही समानताहरु पढने सुअवसर मिल्यो । उक्त लेखमा गौतमजीले चीनको हैनान प्रान्तको चर्चित सान्या सहरको यात्रा संस्मरणको यथार्थ चित्र कोर्नु भएको रहेछ । शान्या र दमौली बीचमा मेल खाने कुराहरुले मनमा खुल्दुली ल्यायो । त्यही खुल्दुलीलाई शब्दमा व्यक्त गर्ने मन भयो । चिनको सान्या सहर र तनहुँको पहिलो नगरपालिका व्यासनगर दमौली सहरमा प्रशस्त समानताहरु भेटियो । त्यही समानता देखिएकै कारण यो लेखले मूर्त रुप पाएको हो ।

शान्या र श्रृंखला

भर्खरै मात्र अर्थात २०७५ मार्ग २२ गतेका दिन सान्या सहरमा विश्व सुन्दरी छनोट कार्य सम्पन्न भइसकेको अवस्था हो । अन्तिम ५ मा छानिएका थाइलैण्ड, युगाण्ड, बेलारुस र जमैकाकी सुन्दरीहरुलाई पछि पार्दै मेक्सीकोकी सुन्दरी भेनेसा देलीओनले विश्व सुन्दरीको ताज पहिरिएकी थिइन् । थाइलैण्डकी सुन्दरी निकोलेन लिम्स्नुकान फस्ट रनर अप हुन सफल भइन ।
मिस नेपाल २०१८ की नेपाल सुन्दरी श्रृंखला खतिवडा पनि उक्त विश्व सुन्दरीमा प्रतिस्पर्धामा भाग लिंइरहेकी थिइन् ।  नेपाल सुन्दरी श्रृंखला भने शीर्ष १२ स्थानसम्म पुग्न सफल भइन । अन्तिम ५ मा पर्नको लागि उनीले मिस वर्ल्ड एसिया एण्ड ओसियन २०१८ को उपाधी जित्नु पर्दथ्यो । उक्त उपाधी थाइलैण्डकी सुन्दरी निकोलेन लिम्स्नुकानले हात पर्दा श्रृंखला शीर्ष ५औं स्थानमा पर्न सकिनन् । विश्वसुन्दरी यात्रामा शीर्ष १२औं को स्थानसम्म पुग्न श्रृंखलाले कठिन यात्रा तय गरेकी थिइन । हालसम्मको विश्व सुन्दरी यात्रामा नेपालको तर्फबाट सन २०१३ मा इशानी श्रेष्ठ शीर्ष सातसम्म पुगेता पनि सुन्दरी प्रतियोगितामा अवार्ड प्राप्त गर्ने इतिहास रच्ने सुअवसर भने श्रृंखलाले प्राप्त गरेकी छन् ।
शीर्ष ३०औ स्थानमा पुग्ने पहिलो चरणको हेड टु हेड राउण्डबाट १३ जना प्रतिस्पर्धी छानिएका थिए । पहिलो चरणको राउण्डमा  उनी दर्ज हुन सकिनन् । यत्तिकैमा शीर्ष ३०औं स्थानमा पुग्ने बाटो समाप्त भइ सकेको थिएन । बाँकी १७औं प्रतिस्पर्धी मध्ये दोश्रो राउण्डमा हेड टु हेड बाट १५ जना र मल्टी मिडिया अवार्डबाट १ जना र ब्यूटि विथ पर्पोजबाट एक जना समेत २ जना छानिने प्रावधान रहेको थियो । दोश्रो राउण्डको हेड टु हेड प्रतिस्पर्धामा पनि श्रृंखला खतिवडा मिस वर्ल्ड सिङ्गापुर भेनिसा पेहरसंग पराजित हुन पुगिन । दोश्रो राउण्डको मल्टिमिडिया र व्युटि विथ अ पर्पोज दुवै विधामा अब्बल दर्ज हुँदै दुवै विधाको उपाधी हात पार्न सफल भएकी थिइन । ११८ प्रतिस्पर्धीहरु मध्ये सबै भन्दा बढी अनलाइन भोट पाएर श्रृंखलाले ३०औ स्थानमा आफनो उपस्थिति कायम गर्न सफल भएकी थिइन् । मल्टिमिडिया र ब्युटि विथ अ पर्पोज हात पारेपछि मिस वर्ल्डको ताज जिते सरह भएको सबै नेपालीले महसुस गरेका थिए होलान । उन्ले त यस्मा आफु गौरान्वित भएको बताएकी थिइन । मिस वर्ल्डमा आफनो प्रभाव छोड्न सफल श्रृंखलालाई हाम्रो तर्फबाट पनि मुरी मुरी बधाइ ।

अति दुर्गम एवं पिछडिएको स्थान

आजभन्दा २१ बर्ष अगाडी सान्या सहरको नाम निसानै थिएन । यो त गाउँ नै गाउँको ठाउँ थियो । अति अत्यन्त दुर्गम थियो । यहाँ यातायात सञ्चारको सुविधाको झन नामनिसानै थिएन भन्दा अनुपयुक्त हुँदैन होला । दिनमा मुस्किलले एउटा मात्र बस यस ठाउँमा आउने जाने गर्दथ्यो । तर अहिले सान्याले कोल्टे फेरेको छ । सार्वजनिक यातायात बस, भाडाका कारदेखि नीजि कार, रेल सेवा र दर्जनौं जहाजहरुको आवागमनको सुविधाले सान्यामा स्थानीय तथा परदेशी पर्यटकहरुको घुइचो लाग्न पुगेको छ ।
वि.सं. १८३९ मा तनहुँ गोरखा राज्यमा गाभिएपछि तनहुँको प्रशासनिक निकाय तनहुँसुरबाट बन्दिपुरमा सर्न पुगेको थियो । शिक्षा क्षेत्रको विकासको पाटो हेर्ने हो भने वि.सं. २०१६ सालमा व्यास-१ भादगाउंँमा एउटा मात्र जलदेवी प्राथमिक विद्यालय स्थापना हुन सकेको थियो। पृथ्वीराजमार्ग खोलिनु पूर्व यातायातको नाममा त्यसमा पनि छिमेकी जिल्ला गोरखाको पालुङ्गटार काठमाडौं जाने आउने एक मात्र हवाई मार्ग थियो । त्यो पनि अहिले बन्द भै सकेको स्थिति हो । वि.सं. २०२५ सालमा तनहुँ जिल्लाको सदरमुकाम बन्दिपुरबाट दमौलीमा सरेपछि मात्र दमौलीको विकासको प्रारम्भिक रेखा कोरिन सम्भव भएको हो । काठमाडौं पोखरा जोड्ने पृथ्वीराजमार्ग बनेर यातायातको सुविधा प्राप्त हुन थाले पछि दमौलीको मुहार चम्किएको हो । जे होस रेल तथा हवाई सेवाबाट बञ्चित भएतापनि हाल व्यास नगर दमौलीमा सार्वजनिक यातायातदेखि नीजि सवारी साधनहरुको सुविधा उपयोग गर्न सकिने भएको छ ।

सञ्जाय दिने स्थल

प्राचीन समयका चीनका राजा महाराजा किन डायनेष्टी तथा टाङ्ग डायनेष्टीको शासन कालमा राष्ट्रदोह, देशद्रोह अर्थात शासक वर्गका बीच संग असहमत हुने विद्रोहीहरुलाई सञ्जाय दिने ठाउँ थियो सान्या । सान्यामा विद्रोहीहरुलाई मृत्युदण्डको सम्म सञ्जाय दिने गरिन्थ्यो । औलकाकारण बदनाम दमौली सेनवंशको शासन कालमा पनि उपेक्षित थियो । राजा मणिमुकुन्द सेन वि.सं. १६३२ देखि पाल्पाको राजा भएका थिए । पाल्पाली राजा मुकुन्दसेनको राज्य पाल्पा, बुटवल, रिसिङ्ग, राजपुर, तनहुँ, मकवानपुर र मोरङ्गमा उहाँकै आफ्ना भाइछोराहरु प्रशासकको रुपमा रहेका थिए । पाल्पामा बाबाको प्रभाव कमजोर हुन साथ अरु भाईहरुको सिको गर्दै तनहुँका प्रशासक भृङ्गसेनले पनि तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । वि.सं. १६१०-१८३९ सम्म तनहुँमा सेनवंशीय राजाहरुको शासन रहेको थियो। सेनवंशीय राजाहरुले देशद्रोह गर्ने सिपाही र शासक वर्गसंग असहमत हुने विद्रोही रैतीहरुलाई मृत्युदण्डको सञ्जाय दिने ठाउँ दमौली थियो रे भन्ने जनश्रुति सुन्नमा पाइन्छ ।

नगरपालिका घोषणा

प्राचीन समयमा याजु भनेर चिनिने सान्याले सन १९१२ देखि याजियान नाम पाएको हो । यही याजियानमा सन १९४१ देखी १९४५ सम्म चीन र जापान युद्ध चली रहदा जापानी सेनाको नेभी व्यारेक राखिएको थियो । आखिर सन १९५० मा जापानी सेनाको शासनबाट मुक्त गराइ याजियानलाई चिनीया जनमुक्ति सेनाले आफुमा समाहित गरेको थियो । सन १९५४ मा चीनले यस दुर्गम याजियानमा याजियान समिति गठन गरेको थियो । याजियान, वाओटिङ, लिङसुइ, जिङ्गलोङ्ग, शनिङ्ग आदि गाउँ मिलाएर सन १९५८ मा सान्या शहरको स्थापना भएको थियो । तर सन १९८७ मा चीनको राज्य परिषदले सान्यालाई “प्रिफेक्टर”को रुपमा घोषणा गरेपछि मात्र सान्याले गाउँबाट  औपचारिक रुपमा सहर बन्ने मौका पाएको हो ।
सन् १९५८मा सान्या सहरको स्थापना भएको थियो भने सन १९८७ (वि.सं. २०४५) मा यसलाई नगरपालिका घोषणा गरिएको हो । वि.सं. २०२५ सालदेखि तनहुँको सदर मुकाम बनेको दमौली, वि.सं. २०३३ सालमा फराकचौर गाउँ पञ्चायतको ३, ४ र ५ नं. वडाका आँसिक भूभाग र ६, ७, ८ र ९ नं वडाको पुरै भूभाग, कर्लुङ्ग गाउँपञ्चायतको ६ नं वडा र साविक गुणादी महेन्द्रपुर गाउँ पञ्चायत तथा जामुने गा.वि.स.को १ र २ नं वडा र स्याम्घा गाउँपञ्चायतको ६ नम्बर वडाका भूभाग मिलाएर दमौली गाउँ पञ्चायत गठन गरिएको थियो ।
वि.सं. २०४९ (सन १९९२) सालको चैत्र ३० गतेको दिनमा  दमौली गाउँ पञ्चायतलाई व्यास नगरपालिका घोषणा गरिएको स्थिति हो । वि.सं. २०७४ साल आइपुग्दा पोखरीभञ्ज्याङ्ग, श्याम्घा र क्यामिन गा.वि.स.का पुरै भूभाग र रिस्ती, तनहुँसुर, घाँसीकुवा र केशवटार गा.वि.स.को आंशिक भूभाग व्यास नगरपालिकामा मिलाइसकेको अवस्था हो । इजरायलको जेरुसेलेम सहर जस्तो बनाउने संकल्पका साथ कार्य सुरुवात गरिएको दमौली भने नगर विकास योजना लागु भएको ४७ वर्ष र व्यास नगरपालिका घोषणा गरेको पनि ३१ वर्षको परिपक्व उमेर पार गरिसकेको छ । २१ वर्षको छोटो अवधीमा सान्या विश्वकै नमुना सहर बन्न सफल भएको अवस्था हो । तर सहर बन्न सक्ने पूर्वाधार भएको भनि नेपाल सरकारले दमौलीलाई व्यास नगरपालिका घोषणा गरेको ३१ वर्ष पुगिसक्दा पनि दमौली  अझै बे-सहारा नै छ ।

१०८ फिट अग्लो मूर्ति

सान्यामा समुन्द्रको बीच भागमा १०८ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । चीनको सान्या शहरको पर्यटनको एक आकर्षक विन्दु १०८ फिट अग्लो बुद्धमूर्ति पनि हो । जस्का कारण अहिले सान्या पर्यटनको नगरी बन्न पुगेको छ । तनहुँको दमौलीमा जन्मिएका सनातन हिन्दु धर्मका प्रणेता तथा ४, वेद, १८ पुराण र १८ उपपुराणहरु, स्मृती ग्रन्थ, श्रीमदभागवत गीताका संग्रहकर्ता तथा महाभारत कथाका रचनाकार महर्षि वेदव्यास (श्रीकृष्ण द्वैपायन), ऋषि पराशर, माता सत्यवती, राजा सुधन्वा र माझी दाशराजको मूर्ति निर्माण गर्न व्यासक्षेत्र विकास कोष गठन गरिसकिएको अवस्था हो । दमौलीमा निर्माण गर्न लागिएको महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण कार्य प्रारम्भ भएतापनि गति लिन नसक्दा दमौलीको पर्यटन व्यवसाय आझेलमा पर्न गएको छ ।

पर्यटकीय शहर

सन् २००३, २००४, २००७, २००९, २०१० र अहिले २०१८ मा विश्व सुन्दरी प्रतियोगिता गर्न पाएको सान्याले आफ्नो मुहार फेर्न सकेको छ । वि.सं. २०३३ मा १२ मिलियन डलरको लागतमा सुन्दरी प्रतियोगिता ग्राम र समुन्द्रको बीचमा १०८ फिट अग्लो बुद्धको मूर्तिकोे निर्माण गरिएपछि सान्या सहरमा पर्यटन विकासको सम्भव भएको हो । समुन्द्री किनारमा रहेको पिछडिएको तथा अति दुर्गम यस सान्या टापुमा आउने जाने मानिसहरुको संख्या नगण्य नै थियो । त्यहाँ जाने व्यक्तिहरु हातको औंलामा गन्न सकिन्थ्यो । तर अहिले सान्या सहर विश्वका पर्यटकहरुको एक चर्चित एवं रमणीय गन्तव्य स्थल बन्न पुगेको छ । अमेरिकाको हवाई टापुको तुलना गर्दै पर्यटकहरु सान्यालाई चीनको हवाई टापु भन्न थालेका छन् । दुइ दशकको छोटो समयावधीमै एउटा पर्यटकीय गन्तव्य स्थान बन्न सफल भएको हो सान्या । आश्चर्य जनक प्रगतिले सान्यका नागरिकहरुको जीवन शैलीमा व्यापक परिवर्तन ल्याइदिएको छ । पर्यटन व्यवसाय मौलाएकै कारण सान्यामा फराकिला मोटर मार्गहरु र आलिशान घरहरु निर्माण भएका छन् ।
विश्व सुन्दरी प्रतियोगिता नगरेतापनि व्यास नगर दमौलीमा मगर सुन्दरीको प्रतियोगिता भने सम्पन्न भएको थियो । यसले दमौलीको पर्यटनका पूर्वाधार तयार गर्न सकेको छैन । दमौलीलाई पर्यटन नगरी बनाउने मामलामा महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति र सेतीमादी नदीमा निर्माण गरिने कृत्रिम तालहरुले जीवन्तता दिन सक्ने विश्वास गरिएको छ । पर्यटन नगरी बनाउने मामलामा दमौली मरुभूमि हो । मरुभूमिमा पानीको कल्पना गर्नु मृगतृष्णा भएको छ । जीवन खोज्नु मूर्खता बनेको छ । यस्तै रहने हो भने कहिले बन्छ त हाम्रो पर्यटकीय सहर-व्यासनगर दमौली ?

श्री गुमेको दमौली

गान्सु प्रान्तबाट चार चार दिन रेलको यात्रा गरेर सान्या पुग्ने क्याण्डी जस्ता पर्यटन व्यवसायीहरु दमौलीमा छिमेकबाट आएका छैनन । सान्या जस्तै दमौलीलाई माया गर्नेहरुको कमि छ यहाँ । दमौलीको कमाई काठमाडौं लगेर महल बनाउनेहरुको ताँती भेटिन्छन् दमौलीमा। पर्यटन विकासको मूलद्वार मानिएको व्यासको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने कार्यले आजसम्म गति पाउन सकिरहेको छैन । येनकेन प्रकारेण बल्ल गुरु योजना निर्माण कार्यक्रमको सुरुवात भएको छ । यहाँका राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरु, समाजसेवीहरु र व्यापार व्यवसायमा संलग्न नेतृत्वहरुमा व्यवसायीक रणकौशलता भेटिदैन । संघीयताले दमौलीको प्रतिष्ठा खस्केको छ । जिल्लाको सदरमुकाम भएतापनि यहाँको चहलपहलमा न्यूनिकरण हुँँदै गइरहेको छ । यसैले त दमौली २०२५ सालमा श्री गुमेको बन्दिपुर जस्तै देखिंदै गएको छ । तर अहिले बन्दिपुर पहाडकी रानी बनेर पर्यटन व्यवसायलाई अंगाल्दै गुमेको श्री पुनः हात पार्दै छ ।

अन्त्यमा

भूपरेवेष्ठित नेपालको तनहुँ जिल्लामा समुन्द्र नभएता पनि मादी सेती, बुल्दी, छाव्दी र सांगे खोलाहरु छन् । यिनै खोला तथा नदीहरुमा बाँध बाधेर दमौलीमा कृत्रिमताल बनाउन सकिन्छ । पर्यटन व्यवसायले जसरी सान्याका नागरिकहरुको जीवनशैलीमा परिवर्तन ल्यायो त्यसरी नै दमौलीवासीहरुको जीवनशैली समृद्ध बनाउने जिम्मेवारी हाम्रो स्थानीय निकामको काँधमा आएको छ । तनहुँको विकास किन भएन ? के गर्दा यस्को उन्नती र प्रगति हुन्छ ? भन्ने कुरामा सबैको ध्यान पुगोस । इजरायलको जेरुसेलम सहर जस्तो होस या चीनको सान्या सहर जस्तो निर्माण गरी दमौलीलाई आधुनिकीकरण गर्न हामी सबैले प्रण गरौं । व्यासनगर दमौलीलाई पनि पर्यटनमुखी सहरमा विकास गर्ने वातावरण सृजित गरौं । हाम्रो पनि यही शुभेच्छा छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker