तनहुँमा निर्वाचन लक्षित सुरक्षा व्यवस्थामा कडाइ
भञ्ज्याङ न्यूज

आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी तनहुँमा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ । निर्वाचनको समयमा मतदान स्थल र मतदातामाथी हुनसक्ने गतिविधिलाई मध्यनजर गर्दै सुरक्षामा कडाइ गरिएको हो । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका गरी १० पालिकाका १३६ वटा मतदानस्थलमा २९७ वटा मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा निकायले जिल्लाका ५ वटा मतदान स्थललाई अति सम्बेदनशिल, ३८ वटा मतदान स्थललाई सम्वेदनशिल र ९३ वटा मतदान स्थललाई सामान्यमा राखेको छ ।
निर्वाचन लक्षित एकीकृत सुरक्षा संयन्त्र तयार गरी मतदान स्थलमा सुरक्षा निकायका समूह गएर अनुमगन गरिसकेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकास अर्यालले बताए । उनले भने, ‘अतिसम्बेदनशिल र सम्बेदनशिल स्थलमा विशेष न्रि्रानी गरिएको छ।’ जिल्लाका ग्रामीण भेगका मतदात स्थालमा पहुँच सहज नहुँदा, मतदाता बढि तर मतदानस्थल साँघुरो, भौगोलिक विकटता, राजनीतिक दलको प्रस्तिस्पर्धा, अन्य जिल्ला हुँदै जानुपर्ने कारणले अति सम्बेदनशिलमा राखिएको अर्यालले बताए । उनका अनुसार देवघाटको लुङ्ग्रिङ, कमला आधारभूत माध्यामिक विद्यालय, बन्दिपुरको धरमपानी, ऋषिङको शंकर आधारभूत विद्यालय रुपटार र बालबिकास केन्द्र अति सम्बेदनशिल मतदान स्थलहरु हुन्।
‘देवघाटको लुङ्लिङ चितवन हुँदै जानुपर्छ भने ऋषिङको रुपटारमा भएको मतदान स्थलमा कालीगण्डकी नदीको छेउछाउ हुँदै जानुपर्छ’, उनले भने, ‘यी मतदान स्थलमा सुरक्षा व्यवस्थालाई कर्डाई गरिएको छ । म्यादी प्रहरी, प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरिएको छ ।
निर्वाचनलाई लक्षित गरी जिल्लामा ७४५ प्रहरी, एक हजार ५५ म्यादी प्रहरी, ३२१ सशस्त्र र ४२५ जना नेपाली सेना परिचालन गरिएको जनाइएको छ । जिल्लामा ९ वटा इलाका प्रहरी कार्यालय, १६ वटा प्रहरी चौकी र ४ वटा अस्थायी प्रहरी पोस्ट छन् ।
यस्तै निर्वाचनका लागि जिल्लामा दुइ हजार ३७६ जना जनशक्ति परिचालन गरिएको छ। १० पालिकाको मतदान केन्द्रमा २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन गरिने भएको छ । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिएको छ । उनीहरुलाई आ-आफ्नो कार्यस्थनमा खटाइसकिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दुर्गा थापाले बताइन् । उनले भनिन्, ‘मतदान अधिकृत र कर्मचारीसंगै निर्वाचनका लागि आवश्यक सम्पुर्ण निर्वाचन सामाग्रीहरु पनि पुगिसकेका छन् ।’
जिल्लामा २ लाख ४४ हजार ३४० जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय अनुसारमा जिल्लाको १० वटै पालिकामा १ लाख २७ हजार २०६ महिला र १ लाख १७ हजार १३४ पुरुष मतदाता रहेका छन् ।










