पर्यटकको पर्खाइमा भिमादको मगर गाउ “मिछुर्लुङ”
दुर्गा रानामगर/पोखरा

भीममाया मर्साङ्गी मगर (५५) विहानै अगेनाको छेउमा कोदोको रोटी पकाउँदै हुनुहुन्थ्यो । त्यो गाउँमा आएका पर्यटकका लागि विहानी खाजा (ब्रेकफास्ट)को तयारी थियो । मिछुर्लुङ पुग्ने पर्यटकका लागि गाउँमै उत्पादित अर्गानिक खानाले स्वागत गरिन्छ । कोदोको रोटी, गोलभेडाको अचार, मासको बारा, ढिँडो, सिस्नु, गुन्द्रुक, मौसमी तरकारीसँगै लोकल मासु होमस्टेको खाजा/खानाको परिकार हो ।
मिछुर्लुङमा अतिथिका लागि विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत मगर समुदायको कौरा र नचरी नाच पनि प्रदर्शन गरिन्छ । लोप हुने अवस्थामा रहेको कौरा नाचलाई संरक्षण र प्रवर्द्धधन गरिनुपर्ने मिछुर्लुङ सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापा मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कौरा नाचलाई संरक्षण गर्नका लागि नै नयाँ पुस्ताका नानीहरूलाई पनि सिकाएका छौं । मगर जातिको सांस्कृतिक नाँचलाई जगेर्ना गर्नुपर्ने आवश्यकता छ ।’
कहाँ पर्छ मगर गाउँ मिछुर्लुङ
तनहुँ भिमाद नगरपालिका वडा नं ५ मा पर्छ प्रख्यात मगर गाउँ मिछुर्लुङ । तनहुँ खैरेनीटारबाट करिब १२ किमीको दूरीमा भिमाद हुँदै मिछुर्लुङ गाउँ पुग्न सकिन्छ । मिछुर्लुङ गाउँमा ७२ घर रहेका छन् । जसमा ११ घर दलित र बाँकी मगर समुदायको रहेको छ । मिछुर्लुङ गाउँको विशेषता नै यहाँबाट देखिने लोभलाग्दो हिमश्रृंखला र मगर संस्कृति हो । मिछुर्लुङ मगर भाषाबाट आएको शब्द हो । जसको अर्थ चामल र ढुंगा रहेको छ । मिछुर्लुङमा चामल जत्रा ससाना ढुंगाहरू पाइने भएकाले यसलाई पर्ुखाहरुले मिछुर्लुङ नाम दिएका रहेछन्।
पर्यटकको पर्खाइमा सामुदायिक होमस्टे
ग्रामीण पर्यटनको मुख्य आधार सामुदायिक होमस्टे हो । नेपालभर ५ सय भन्दा बढी गाउँमा सामुदायिक होमस्टे सञ्चालित छन् । तिनैमध्येको एक गाउँ हो मिछुर्लुङ । मिछुर्लुङ गाउँको पर्यटन प्रवर्द्धनका लागि यहाँको समुदायले २०७२ सालमा ग्रामीण घरबास कार्यक्रम (होमस्टे) सञ्चालनमा ल्याएका थिए । उक्त सामुदायिक होमस्टेको स्थापनापछि गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको थियो । जुन गाउँलेको लागि आयस्रोतको बाटो पनि बनेको थियो ।
खेतबारीको काम सँगै गाउँले पर्यटकको स्वागत सत्कारमा पनि व्यस्त हुन थालेका थिए तर कोभिड महामारीले गाउँमा पर्यटक आउन सकेनन् । जसको प्रभाव अहिलेसम्म मिछुर्लुङलाई परेको छ । दिनहुँ पर्यटक आइरहने ठाउँमा विगतका दुइ वर्षमा पर्यटक नै आएनन् । अहिले मिछुर्लुङमा फाट्टफुट्ट केही आन्तरिक पर्यटक आउने गर्छन् । हाल १९ घरमा मात्र होमस्टे सञ्चालनमा रहेको छ ।

४९ वर्षीया देउमाया राना मगरलाई गाउँमा पर्यटकलाई स्वागत गर्न पाउँदा खुसी लाग्छ तर अहिले कोभिडले पारेको असरले उहाँलाई दुःखी पनि बनाएको छ । उहाँले भन्नुभयो- ‘कोभिडले गर्दा गाउँमा कोही आउन सकेनन् । अब विस्तारै आउँछन् कि !’ मिछुर्लुङ गाउँमा अधिकांश युवा विदेशिएका छन् । होमस्टेको सञ्चालन आमाबाबाहरूले नै गर्दै आउनुभएको छ । होमस्टे सञ्चालिका जानुका थापा मगरलाई होमस्टेले गाउँको विकास हुन्छ भन्ने लाग्छ ।
उहाँले भन्नुभयो, ‘होमस्टेबाट नुन तेलको पैसा आएको छ । जति पर्यटक गाउँमा आउँछन् त्यसले नै त गाउँको विकास हुने हो ।’ होमस्टेमा अहिले प्याकेजमा खाजा, बेलुकीको खाना, ब्रेकफास्ट र बेड गरेर प्रति व्यक्ति एक हजार रुपैयाँ लिने गरिएको छ । होमस्टेको प्रवर्द्धनका लागि मिछुर्लुङमा रहेको सिर्जना आमा समूह सक्रिय रहेको छ ।
यस्तै मिछुर्लुङ गाउँ घर भई हाल विदेशमा रहेका युवाहरूले आफ्नो गाउँमा पर्यटकलाई लोभ्याउन भ्यू टावर निर्माण गरेका छन् । यसै वर्ष मात्र सम्पन्न भएको टावर निर्माणका लागि ३८ लाख खर्च गरिएको छ । सरकारी निकायको सहयोग बिना नै बनेको टावरले पर्यटकलाई आकर्षित गर्नेमा स्थानीय उत्तिकै विश्वस्त छन् ।
सम्भावना प्रशस्त तर पूर्वाधारको कमी
पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गरिरहनुभएको पर्यटनविद् हरिसिंह गुरुङले गाउँको आर्थिक विकासका लागि पर्यटनको विकास हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले मिछुर्लुङ शान्त र मगर संस्कृतिले भरिपूर्ण रहेको हुँदा अब गाउँमा आवश्यक पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँको विकासको बाटो नै पर्यटन हो ।
पर्यटकीय क्षेत्र भएर फस्टाउँदै गएपछि नै जीवनस्तर सुद्रदै जाने हो । त्यसैले पनि मगर समुदायको बाहुल्यता रहेको तनहुँलाई मगर संस्कृति बुझने पर्यटकीय थलो बनाउनु आवश्यक छ ।’ यसका साथै गुरुङले ग्रामीण पर्यटनको विकासका लागि गाउँ र यसको सेरोफेरोमा पर्यटकीय क्रियाकलाप पनि प्रशस्त हुनुपर्ने बताउनुभयो ।
भिमाद नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदमबहादुर थापा मगरले मिछुर्लुङ गाउँ पर्यटकीय हिसाबले सम्भावना बोकेको गाउँ रहेको भन्दै यसको प्रचारप्रसार अझै गरिनुपर्ने बताउनुभयो । उहाँले मिछुर्लुङ गाउँमा हाल प्रशस्त पानी र पुग्नका लागि बाटोको समस्या रहेको जानकारी दिनुभयो ।
बाटो मर्मत कार्यका कारणले भिमादबाट मिछुर्लुङ पुग्न हाल साँघुरो वैकल्पिक मार्गको प्रयोग गरिएको छ । उहाँले भन्नुभयो, ‘गाउँमा पर्यटक ल्याउनका लागि अहिले बाटोको समस्या भइरहेको छ । यसका लागि सम्बन्धित ठाउँमा कुरा पुर्याइएको भएपनि अझै ध्यान पुगेको छैन ।’
आइएनएस-स्वतन्त्र समाचारबाट










