गर्तौलाको लोक भजन संरक्षण अभियान
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

लोक भजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रुपमा लिईन्छ । र्सवसाधरण जो कोहिले गाउन, बुझन सक्ने भएकाले पनि यसको महत्व अझै बढि झल्किन्छ। तर पछिल्लो समय युवापुस्ताहरु लोकभजनबाटै टाढिदै गएका छन् । केही सिमित उमेर समुहकाले मात्र हालसम्म भजन संस्कृति धान्दै आएका छन् ।
पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक लोक भजनहरु लोपोन्मुख अवस्थामा पुग्न थालेका छन् । मौलिक भजनको संरक्षण गर्ने उद्देश्यले शक्लागण्डकी-३ कवासे निवासी शरण गर्तौलाले भजन संग्रह तिम्रै शरण प्रकाशित गरेका छन् । उक्त भजन संग्रहको शनिबार एक कार्यक्रम गरी बिमोचन गरिएको छ ।
मौलिक कला र संस्कृति झल्कने खालका विषयबस्तु समेटेर गर्तौलाले पहिलो कृति भजन संग्रह प्रकाशन गरेका हुन् । साहित्य क्षेत्रबाट भजनहरु ओझेलमा पर्दै जान थालेपछि आफुले जानी नजानी शब्दमा उतारेको उनको भनाई छ । उनले भजन संग्रहको भजनीय गुणहरुलाई बुझेर गाउँगाउँ टोल टोलमा गुञ्जायमान बनाउन आ आफ्नो ठाँउबाट सहयोग गरिदिन आग्रह समेत गरे ।
कार्यक्रममा भजन संग्रहको समिक्षक दामोदर लम्साल शास्त्रीले समगमा्र भजन संग्रह उत्कृष्ट रहेको बताए । उनले सर्जकको सिर्जना शक्ति र कला अगाडी बढ्दै जाओस् भन्ने कामना समेत गरे ।
सो अवसरमा भजन संग्रहको विमोचन गर्दै संविधान सभा सदस्य रामचन्द्र पोखरेलले साहित्यले मानिसको जीवनलाई पुर्ण बनाउने बताए । उनले साहित्यसँगै धार्मिक बन्नुपर्नेमा जोड दिदै धर्मले अनुशासित समाज निर्माण बनाउन मद्धत पुग्ने बताएका थिए ।
प्याब्सन गण्डकीका प्रमुख माधवशरण उपाध्यायले आजभोली साहित्यलाई अनुत्पादक क्षेत्रको रुपमा लिने गरिएकाले महत्व घट्दै गएको बताए । भजन गाएर के हुन्छ भन्दै समग्र जीवनलाई नाफा र घाटामा हेर्ने परम्पराले गर्दा मानव जीवनका मुल्यहरु घट्दै गईरहेको उनको भनाइ थियो। उनले भने साहित्यबाट प्राप्त हुने आनन्द र सृजनाशक्तिलाई गुमाईरहेका छौ, यसबाट प्रत्यक्ष रुपमा लाभदायी नभएपनि मानवभित्र मानवत्व जागृत गर्नको लागी साहित्यले अत्यन्न महत्वपूर्ण हुने गर्दछ । यो हामीले बुझनुपर्छ ।
बाराही प्रतिष्ठान तनहुँको आयोजनामा भएको भजन संग्रह विमोचन सभामा प्रतिष्ठानकी कोषाध्यक्ष कल्पना गैह्रे सुवेदीले साहित्यकार गर्तौलाको जीवर साहित्यिक पृष्ठभुमिबारे जानकारी गराएकी थिइन् ।
कार्यक्रममा स्थानीय साहित्यकारहरु शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, नारायण प्रसाद उपाध्याय, टुकादेवी आचार्य, पशुपति अर्याल, ममता गुरुङ्ग, बिमर्श खनाल लगायतले साहित्य रचना बाचन गरेका थिए भने श्रीकृष्ण भजन मण्डलीले भजन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दुलेगौंडा आदर्श समाजका अध्यक्ष पदम बहादुर बानियाँ, प्रतिष्ठानका सल्लाहाकार हरि वाग्ले, उपाध्यक्ष अनन्तराज पौडेल, सहसचिव बिबेक खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । साहित्य कला र परम्परालाई संरक्षण गर्न र साहित्यमा लाग्नेहरुलाई उत्प्रेरीत गर्ने उद्धेश्यले स्थापना भएको बाराही साहित्य प्रतिष्ठानले हरेक महिनाको पहिलो शनिबार बृहत साहित्यिक भेला तथा काब्य सृंखला गर्दै आएको छ ।










