व्यास नगरपालिकाको वडास्तरीय योजना तर्जुमा भेला
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले वडास्तरीय योजना तर्जुमा कार्यक्रम सुरु गरेको छ । स्थानीय तहले असार १० गते भित्र नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेश गरिसक्नुपर्ने कानूनी व्यवस्था बमोजिम नगरपालिका त्यसको तयारीमा जुटेको हो ।
वडा नं. १ को वडास्तरीय योजना तर्जुमा कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले अधुरा कार्यहरु सम्पादन, सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी नगरवासीका दैनिकी सहजीकरणका लागि यस वर्षको बजेट केन्द्रित गरिने बताए ।
दिगो विकासको अभिभारा र आशा लिएर नगरवासीका साना-साना समस्यदेखि नगरस्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरका योजना कार्यान्वयन प्रकृयामा व्यास नगरपालिका सदैव तत्पर रहने उपप्रमुख इन्दिरा दरैले बताइन् ।
आगामी आव २०७९/८० का लागि विषयगत क्षेत्रहरुमा समावेशी नीति, समावेशी बजे तथा कार्यक्रमहरु संलग्न गर्दै आवधिक, मध्यकालिन र दीर्घकालीन योजना तर्जुमाका प्रकृयामा रणनैतिक योजना समेट्दै साझा विकासका अभियान लिएर अगाडि बढ्ने नगरपालिकाले जनाएको छ ।










