व्यासको बजेट : रु १ अर्ब ८१ करोड ७६ लाख पारित

दमौली : तनहुँको व्यास नगरपालिकाको ४३औं नगरसभा सोमबार नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । नगरसभाले नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु १ अर्ब ८१ करोड ७६ लाख १९ हजार बराबरको आय–व्यय बजेट कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ ।
सभामा न्यायिक समिति, सामाजिक विकास, पूर्वाधार विकास, वार्षिक विकास, विधायन, लेखा, सुशासन तथा वन वातावरण समितिका संयोजकहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै, स्वास्थ्य र प्रशासनिक संगठन संरचना प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले, शिक्षा प्रतिवेदन नगर शिक्षा अधिकृत केदारराज आचार्यले र घर नक्सा तथा जग्गा विकाससम्बन्धी मापदण्ड शाखा प्रमुख अमृत केसीले प्रस्तुत गरेका थिए ।
बजेट तथा विधेयकमाथि विभिन्न वडाबाट प्रतिनिधिहरूले विस्तृत छलफल गर्दै सुझावहरू दिएका थिए । छलफलमा दलबहादुर दुरा, चेतबहादुर दरै, मणी जंग बस्नेत, दधिराज घिमिरे, सरोज भण्डारी, दुर्गा बहादुर आले, हरिश्चन्द्र पन्थ, डालप्रसाद घिमिरे, सुन्दर वाग्ले, रामप्रसाद मिश्र, विज्ञान कैनी, कमला वि.क., हर्कबहादुर कार्की, सरस्वती सुनार, राधा वि.क. तथा गौकुमारी न्यौपानेले भाग लिएका थिए ।
नगरसभाबाट आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, न्यायिक समिति ऐन, कार्यविधि तथा वन ऐन संशोधन २०८२ समेत पारित गरिएको छ ।

यसै सभाबाट लेखा समिति पुनःगठन गरिएको छ । समितिको संयोजकमा गौकुमारी न्यौपाने र सदस्यमा दधिराज घिमिरे तथा हर्कबहादुर कार्की चयन भएका छन्। अनुशासन समितिको संयोजक यज्ञ शर्माको संयोजकत्वमा रफत साना मिया र गोकुल दुरा सदस्य रहने गरी समिति चयन गरिएका छ ।
यस्तै, नगरसभामा दीर्घसेवा पु¥याएका नगरपालिका सवारी चालक तीर्थ बहादुर तामाङ तथा गोरखापत्रका संवाददाता अमराज नहर्कीलाई सम्मान गरिएको छ। साथै, प्रस्ताव समिति संयोजक तथा नगरपालिका प्रवक्ता सुरेश थापाले पेश गरेका प्रस्तावहरू पनि सर्वसम्मत रूपमा पारित गरिएका छन् ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेले आगामी वर्षका कार्यक्रम र बजेटले नगरपालिका विकासलाई थप गती दिने विश्वास व्यक्त गर्दै सबै पक्षको सहकार्यमा योजनाहरू कार्यान्वयन गरिने बताएका छन् ।










