दाताले दिएको पिसिआर मेशिन : आवश्यक पूर्वाधार र जनशक्ति जुट्न नसक्दा थन्कियो
- भञ्ज्याङ समाचारदाता (दमौली)
कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेपनि अहिले अवस्था सामान्य बन्दै गएको छ । कोरोना कहरले थलापरेका तनहुँका सबै क्षेत्र बिस्तारै लयमा फर्काउने प्रयास पनि भइरहेका छन् । भिडभाडजन्य गतिविधि बढ्दै गएपनि आवश्यक स्वास्थ्य सावधानीमा लापरवाही र परीक्षणको दायारालाई समेत खुम्चाउँदै लगिएको छ । यतिमात्र होइन कोरोना परीक्षण तथा उपचारका लागि सहज होस् भनि दाताले उपलब्ध गराएका उपकरणहरु समेत तनहुँका स्थानीय पालिकाले प्रयोगमा ल्याउन सकेका छैनन् ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै तनहुँको व्यास नगरपालिकालाई दाताले उपलब्ध गराएको पिसिआर मेसिन अझै प्रयोगमा ल्याउन सकेको छैन् । रोटरी क्लव अफ नेपालले गत असोज २४ गते नगरपालिकालाई हस्तान्तरण गरेको प्रोटेवल पिसिआर मेसिन आजसम्म पनि नगरपालिकाको गोदाममा थन्किएर बसेको छ ।
कोरोना भाइरस संक्रमणको त्रास कायमै रहेपनि झण्डै ४ महिना बितिसक्दा समेत पिसिआर प्रयोगशालाको टुङ्गो लाग्न सकेको छैन । नगरपालिकाले दमौली अस्पतालसंग समन्वय गरेर पिसिआर मेसिन प्रयोगमा ल्याउने भनिएता पनि यसको काम भने अगाडि बढाइएको छैन ।
पिसिआर प्रयोगशालका लागि आवश्यक पर्ने पुर्वाधार, प्रविधिक जनशक्ति व्यवस्थापनका लागि बजेटको अभावले दाताले दिएको पिसिआर मेसिन प्रयोगमा ल्याउन नसकिएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए । उनले भने, ‘प्रयोगशाला स्थापनाका लागि व्यास एक्लैले खर्चा व्यवस्थापन गर्न समस्य भयो, अन्य पालिकासंग छलफल गर्दा उहाँहरुले त्यति जागरुक्ता देखाउनु भएन ।’
‘क्लवले सहयोग गरेको १२ लाख रुपैयाँ बराबरको पिसिआर मेशिनले कोरोना परीक्षण सकिएपछि अरु परीक्षणका लागि पनि काम गर्छ भन्ने थाहा हुँदाहुँदै पनि पूर्वाधार, जनशक्ति र बजेटको अभावले स्थापना गर्न सकिएको छैन’, उनले भने, ‘पिसिआर मेसिनलाई प्रयोगमा ल्याउनका लागि यससंग सम्बर्द्धन प्राविधिकहरुसंग छलफल गर्दा न्युनतम पनि ४० लाख रुपैयाँ बजेटको व्यवस्था गर्नु पर्ने देखियो । साथै हामीलाई भवन अलगै र दक्ष जनशक्तिको व्यवस्थापन पनि गर्नुपर्ने भएकाले त्यो सहज भएन ।’
यस्तै, परीक्षण लागि जिल्लामा स्वाब संकलन गरी पोखरा पठाउने गरिन्छ, रिपोट आउन करिव १५/१६ दिन लाग्ने गरेको थियो । तर अहिले २४ घण्टाभित्रै रिपोर्ट आउने गर्दा जिल्लामा पिसिआर प्रयोगशाला त्यति अवश्यकता पनि नदेखिएको नगरप्रमुख न्यौपानेले बताए । जिल्लाका १० वटै पालिकाको लागत सहभागितामा शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा करिव ७२ लाख रुपैयाँको लागतमा कोभिड अस्पताल निर्माण गरिएको छ । यही अस्पतालमा दाताले दिएको पिसिआर मेसिन सञ्चालनमा ल्याउने विषयमा छलफल पनि भएको तर आवश्यक पुर्वाधार र जनशक्ति अभावका कारण सफल नभएको नगरप्रमुख न्यौपने बताउँछन् ।
यस्तै, कोरोना कहरको समयमा स्थानीय तहमा परीक्षण सहज गराउने उद्देश्यले सहयोग गरेको पिसिआर मेसिन सञ्चालनमा नआउदा दुःख लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदार भण्डारी बताउँछन् । ‘जिल्लाबासीलाई कोरोना परीक्षण तथा उपचारमा सहज होस् भनी केन्द्रसंग पिसिआर मेसिनको माग गरियो र प्राप्त पनि भयो’, उनले भने, ‘आवश्यक श्रोत साधान जुटाउन नसकिएकाले मेशिन प्रयोगमा ल्याउन नसकिएको हामीलाई जानकारी भएको छ । जुन उद्देश्य र लक्ष्यका साथ मेशिन माग गरिएको थियो त्यो पुरा नहुँदा हामीलाई दुःख लागेको छ ।
जिल्लामा हालसम्म १२ हजार ३९० जनाको स्वाब नमूना संकलन गरी पिसिआर परीक्षण गर्दा एक हजार ४३१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । ‘संक्रमितमध्ये एक हजार ३५२ जना निको भएका छन् भने २४ जनाको मृत्यु भएको र ५५ जना संक्रिया संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन्’, उनले भने, ‘अहिले जिल्लाका संस्थागत क्वारेन्टिन र आइसोलेशन कक्ष खालि भएका छन् । सबै क्षेत्र खुल्ला पनि भैरसकेका छन् र नागरिकहरुमा पनि स्वास्थ्यप्रति सचेतना बृद्धि भएकाले जनजीवन सामान्य बन्दै गएको छ ।’










