बुद्धसिंह मार्ग : प्रयाप्त बजेट विनियोजन नहुँदा अपेक्षित गति लिन सकेन
बजेट अभाव, खण्डीकृत योजना र ढिलो कार्यान्वयनले दक्षिणी तनहुँका किसान, व्यवसायी र स्थानीयवासी मारमा
तनहुँ : तनहुँको दक्षिणी भेगका ग्रामीण बस्तीलाई सदरमुकाम दमौली, कृषि बजार तथा चितवनसँग जोड्ने रणनीतिक महत्वको बुद्धसिंह मार्ग निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अपेक्षित गति लिन सकेको छैन । संघ, गण्डकी प्रदेश र स्थानीय तहबाट वर्षेनि करोडौँ रुपैयाँ बजेट विनियोजन भइरहे पनि निर्माण कार्य सुस्त हुँदा यस मार्गबाट प्रत्यक्ष लाभ लिनुपर्ने किसान, व्यवसायी र सर्वसाधारण निराश बनेका छन् ।
दक्षिणी तनहुँको आर्थिक, कृषि तथा पर्यटन विकासको मेरुदण्डका रूपमा हेरिएको बुद्धसिंह मार्गलाई तीनै तहका सरकारले प्राथमिकतामा राख्दै आएका छन्। तर पर्याप्त बजेटको अभाव, खण्ड–खण्डमा हुने बजेट विनियोजन, आयोजना व्यवस्थापनको कमजोरी, पटक–पटक थपिने निर्माण अवधि तथा वित्तीय व्यवस्थापनमा देखिएका समस्याले आयोजना वर्षौंदेखि अधुरै छ ।
स्थानीयका अनुसार सडकका केही भागमा ट्र्याक खोल्ने, ग्राभेल गर्ने तथा सीमित स्तरोन्नतिको काम भए पनि अधिकांश खण्डमा कालोपत्र, पुल निर्माण तथा गुणस्तरीय सडक संरचना अझै बन्न सकेको छैन । जसका कारण वर्षायाममा हिलो र पहिरो तथा हिउँदमा धुलोका कारण यात्रा कष्टकर हुने गरेको छ ।
कृषकका लागि जीवनरेखा बनेको सडक
देवघाट गाउँपालिका–२ लङग्रीङका सुन्तला किसान नवराज गुरुङका अनुसार बुद्धसिंह मार्ग ग्रामीण क्षेत्रका कृषकका लागि सडक मात्र नभई जीवनरेखा हो। ‘हामीले उत्पादन गरेको सुन्तला यही बाटो हुँदै बजार जान्छ’, उनले भने, ‘सडक राम्रो नहुँदा ढुवानी खर्च बढेको छ । कतिपय अवस्थामा उत्पादन समयमा बजार पुग्न नसक्दा किसानले उचित मूल्य पनि पाउन सकिरहेका छैनन ।’
देवघाट गाउँपालिका सुन्तला उत्पादनको प्रमुख क्षेत्र हो । यहाँका अधिकांश किसानको मुख्य आम्दानी सुन्तला खेतीबाट हुने गरेको छ । तर कमजोर सडकका कारण उत्पादनको प्रतिस्पर्धात्मक मूल्य प्राप्त गर्न कठिन भइरहेको कृषकको गुनासो छ ।
कृषि विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण परियारका अनुसार देवघाट गाउँपालिकाको ३१८ हेक्टर खेतीयोग्य जमिनमध्ये २६१ हेक्टरमा सुन्तलाखेती गरिएको छ । उक्त क्षेत्रबाट वार्षिक दुई हजार ६७२ मेट्रिकटन सुन्तला उत्पादन हुन्छ ।
उनका अनुसार बुद्धसिंह मार्ग समयमै स्तरोन्नति हुन सके किसानले सहज रूपमा बजार पहुँच पाउने, ढुवानी लागत घट्ने र कृषि उत्पादनको विविधीकरणमा समेत सकारात्मक प्रभाव पर्नेछ ।
‘कृषि मार्ग’को अवधारणा अधुरो
सडक ट्र्याक खोल्ने अभियानका अगुवा तथा व्यास नगरपालिका–१३ बेलबास निवासी यामबहादुर आलेका अनुसार बुद्धसिंह मार्गलाई सुरुमा कृषि मार्गको अवधारणाअनुसार अघि बढाइएको थियो ।
‘त्यतिबेला ग्रामीण उत्पादनलाई बजारसँग जोड्ने लक्ष्यका साथ सडक खोलिएको थियो’, उनले भने, ‘यदि यसलाई त्यही अनुसार प्राथमिकता दिइएको भए आज दक्षिणी तनहुँको अवस्था धेरै फरक हुने थियो ।’
उनका अनुसार देवघाट, ऋषिङ, बन्दीपुर तथा आसपासका क्षेत्रमा उत्पादन हुने सुन्तला, तरकारी, खाद्यान्न र अन्य कृषिउपज बजारसम्म ल्याउन यही मार्ग सबैभन्दा छोटो र उपयोगी विकल्प हो। तर सडकको स्तरोन्नति नहुँदा किसानको उत्पादन लागत बढेको छ भने गाउँबाट बसाइँसराइसमेत बढ्दै गएको उनको भनाइ छ ।
जिल्लाको दोस्रो ठूलो सुन्तला उत्पादन क्षेत्र प्रभावित
कृषि विकास कार्यालयका तथ्याङ्कअनुसार तनहुँमा कुल एक हजार ६७० हेक्टर क्षेत्रफलमध्ये ९७७ हेक्टरमा व्यावसायिक सुन्तला खेती गरिन्छ । जिल्लाबाट वार्षिक ११ हजार ८२२ मेट्रिकटन सुन्तला उत्पादन हुने गरेको छ । देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुरको तल्लो क्षेत्र तथा आँबुखैरेनी आसपासका किसानले उत्पादन गरेको अधिकांश कृषि उपज यही सडकमार्फत बजार पुग्ने भएकाले बुद्धसिंह मार्गको महत्व अझ बढी रहेको सरोकारवालाको भनाइ छ ।
बिरामीदेखि विद्यार्थीसम्म समस्यामा
सडकको दुरावस्थाले कृषक मात्र होइन, सर्वसाधारण पनि प्रभावित भएका छन् । स्थानीयका अनुसार वर्षायाममा सडक हिलाम्मे हुँदा बिरामीलाई समयमै अस्पताल पु¥याउन कठिन हुने गरेको छ। विद्यालय जाने विद्यार्थी, दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने व्यवसायी तथा सार्वजनिक यातायातसमेत नियमित सञ्चालन गर्न समस्या हुने गरेको छ ।
करोडौँ बजेट, तर निर्माणको गति सुस्त
गत आर्थिक वर्ष २०८२/०८३ मा गण्डकी प्रदेश सरकारले बुद्धसिंह मार्ग तथा यससँग सम्बन्धित सडक योजनाका लागि रु. ९ करोड ४० लाख बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारको वार्षिक विकास कार्यक्रमअनुसार समानीकरण अनुदानतर्फ रु. १ करोड ७५ लाख, बहुवर्षीय योजनाअन्तर्गत पहिलो खण्डका लागि रु. ५ करोड, बन्दीपुर–थारुबास–पावे–हल्थुम्का–ढाँडखोला–बुद्धसिंह मार्ग स्तरोन्नतिका लागि रु. ४० लाख, आँबुखैरेनी–भाँगे–छिम्केश्वरी सडकका लागि रु. १ करोड तथा पर्यटन मार्गका लागि रु. १ करोड ५० लाख विनियोजन गरिएको थियो । यद्यपि सरोकारवालाले मुख्य सडक निर्माणका लागि पर्याप्त बजेट नछुट्याइएकाले योजनाले गति लिन नसकेको बताएका छन् ।
३४ करोडको आयोजना, वार्षिक बजेट दुई करोड मात्रै
पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर सुष्मामा पाण्डेका अनुसार बुद्धसिंह मार्गको कालोपत्र तथा स्तरोन्नति कार्यका लागि संघीय र प्रदेश सरकारको समपूरक योजनाअन्तर्गत रु. ३४ करोड २७ लाख ५४ हजार ५६१ लागतमा मैनाचुली–सफल जेभीसँग सम्झौता गरिएको छ ।
उनका अनुसार आयोजनालाई वार्षिक कम्तीमा १८ देखि २० करोड रुपैयाँ आवश्यक पर्ने भए पनि प्रत्येक वर्ष करिब दुई करोड रुपैयाँ मात्र बजेट विनियोजन हुँदा निर्माण कार्यले गति लिन सकेको छैन । ‘अघिल्लो वर्ष करिब ७० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रह्यो’, उनले भनिन्, ‘बजेट अभावका कारण ठेकेदारले पनि आवश्यक गतिमा काम गर्न सकेको छैन ।’ उनका अनुसार आयोजनाको म्याद एकपटक थपिसकिएको छ भने पुनः एक वर्ष म्याद थप्ने तयारी भइरहेको छ ।
घुमाउने पुल नबन्दा अधुरो लाभ
बुद्धसिंह मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । घुमाउनेमा त्रिशूली नदीमाथि पुल निर्माण सम्पन्न भए दमौलीदेखि चितवनसम्मको दूरी करिब २५ किलोमिटर छोटिने अनुमान गरिएको छ । हाल दमौलीदेखि घुमाउनेसम्म साना सवारी सञ्चालन भइरहे पनि पुल नहुँदा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पुल निर्माणमा भएको ढिलाइले मार्गको पूर्ण उपयोग हुन सकेको छैन ।
वित्तीय व्यवस्थापनमा प्रश्न
सरोकारवालाका अनुसार बुद्धसिंह मार्गमा सार्वजनिक वित्तीय व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ। एउटै सडकका विभिन्न खण्ड फरक–फरक शीर्षकमा बजेटमा समावेश हुँदा वास्तविक लगानी, खर्च र प्रगतिको एकीकृत विवरण उपलब्ध हुन सकेको छैन ।
विनियोजित रकम, खर्च र भौतिक प्रगतिका विवरण नियमित सार्वजनिक नहुँदा नागरिकस्तरबाट प्रभावकारी निगरानी हुन नसकेको उनीहरूको भनाइ छ । बहुवर्षीय आयोजना भए पनि सम्पन्न हुने स्पष्ट समयसीमा नहुँदा लागत बढ्ने जोखिमसमेत बढ्दै गएको छ ।
स्थानीयले आयोजना सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्ने, डिजिटल सूचना प्रणाली विकास गर्ने, सामाजिक परीक्षण तथा नियमित सार्वजनिक सुनुवाइ सञ्चालन गर्ने र संघ, प्रदेश तथा स्थानीय तहबीच एकीकृत आयोजना व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग गरेका छन् ।
दक्षिणी तनहुँको विकाससँग जोडिएको आयोजना
स्थानीय व्यवसायी तथा नागरिक अगुवाहरूका अनुसार बुद्धसिंह मार्ग दक्षिणी तनहुँको आर्थिक रूपान्तरणसँग प्रत्यक्ष जोडिएको आयोजना हो । सडक पूर्ण रूपमा सञ्चालनमा आए कृषि उत्पादन सहज रूपमा बजार पुग्ने, ढुवानी लागत घट्ने, पर्यटन विस्तार हुने तथा देवघाट, ऋषिङ, बन्दीपुर, आँबुखैरेनी र व्यास क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।
तर वर्षेनि बजेट विनियोजन भइरहे पनि निर्माण कार्यले अपेक्षित गति नलिँदा स्थानीयमा निराशा बढ्दै गएको छ । उनीहरूले अब बजेट घोषणाभन्दा बढी समयमै कार्यान्वयन, पर्याप्त वित्तीय व्यवस्था, पारदर्शी खर्च प्रणाली र घुमाउने पुलसहित बुद्धसिंह मार्गको शीघ्र निर्माणमा सरकारको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
दक्षिणी तनहुँको कृषि, पर्यटन र समग्र आर्थिक विकासको भविष्यसँग जोडिएको बुद्धसिंह मार्ग अब कागजी प्राथमिकतामात्र नभई व्यवहारिक रूपमा सम्पन्न हुने आयोजना बन्नुपर्नेमा स्थानीयको जोड छ ।










