ट्रयाक खनेको ३० वर्षसम्म पनि भानुको चन्द्रावती-पोखरीछाप सडक खण्ड स्तरोन्नती हुन सकेन
नारायण खड्का/तनहुँ
तनहुँको पूर्वीउत्तर क्षेत्रका बासिन्दालाई सडक सञ्जाल्ले जोड्ने लक्ष्यका साथ पृथ्वीराजमार्गको डुम्रेबाट भानु मार्ग विस्तार गरिएको छ । भानु मोटर मार्ग अन्तर्गत चन्द्रावाती-पोखरीछाप सडकको ट्रयाक खनिएको करिब ३० वर्ष बितेपनि यो खण्डको स्तरोन्नती हुनुभन्दा पनि झनझन दयनीय अवस्थामा पुगेको छ ।
चन्द्रावती-पोखरीछाप ठूलोढुंग खण्डको कालोपत्रे गर्ने काम अगाडि बढाइएपनि अहिले अलपत्र अवस्थामा छ । निर्माणपक्षले सडक कालोपत्रे, नाला निर्माण लगायतका पूर्वाधार तयार गर्न जिम्मा लिएको समय सकिएर पुनः छ महिना म्याद थप्दा पनि कुनै प्रगति हुन सकेको छैन् ।
२०७८ माघ १५ गतेभित्र उक्त सडक खण्डको १० किलोमिटर सडक कालोपत्रे, नाला निर्माण तथा ग्याबिङ्ग जाली भर्ने लगायतका कार्य निर्माण सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते शंकरमाली कन्ट्रक्सन काठमाडौंले सम्झौता गरेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार निर्माण कम्पनीले उक्त सडक खण्ड निर्माणका लागि २३ करोड २ लाख ८० हजार रुपैयाँमा सम्झौता गरेको भएपनि हालसम्म भौतिक प्रगति १५ प्रतिशतको हाराहारिमा देखिएको छ ।
यस्तै, निर्माण पक्षले पहिलो चरणमा २ करोड ६८ लाख ६४ हजार १११ रुपैयाँ निकासा लिएको छ । सडक सिमाको कटिङ बाहेक अन्य संरचना निर्माणको करिब २५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।
इन्जिनियर मिश्रले भनिन्, ‘सडक निर्माण कार्य सम्पन्न गर्ने समय अबधिभर भौतिक प्रगति १२ प्रतिशत देखिएको थियो भने ३० प्रतिशत वित्तीय प्रगति देखिन आएको थियो । निर्माण सक्नुपर्ने समयसम्म काम सम्पन्न नभएकाले आगामि असार ३० गतेसम्म म्याद थपिएको छ । सडक कालोपत्रे लगायतका संरचना निर्माणका लागि छ महिना म्याद थपिएपनि निर्माण पक्षले कुनै काम गरेको पाइएको छैन ।’
प्रदेश सरकार अन्तरगत रहेको उक्त सडकका लागि आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएपनि निर्माण पक्षको लापरवाहीका कारण हालसम्म सडक निर्माण कार्यले गतिलिन नसकेको र रकम पनि भुक्तानी नगरिएको पूर्वाधार विकास कार्यालय तनहुँले बताएको छ ।
यता सडक निर्माणको जिम्मा लिएको शंकरमाली कन्ट्रक्सनले भने आफुले कामको जिम्मा लिए लगत्तै कोभिड-१९ संक्रमण फैलिपछि मुलुक लकडाउनको अवस्थामा पुगेको र आवश्यक मजदुर समेत पाउन नसक्दा काम अगाडि बढाउन नसकेको बताउँदै आएको छ ।

उक्त सडक खण्ड कालोपत्रे लगायतका कार्य गर्न शंकरमालीले अहिले दोश्रो निर्माण व्यवसायीलाई जिम्मा दिएको छ । सडक निर्माणको काम निर्माण व्यवसायी संगम खड्कालाई जिम्मा दिएको भानु नगरपालिका वडा नं. १३ ले बताएको छ ।
२०४९ सालमा चन्द्रावतीबाट पोखरीछापसम्म सडक विस्तार गरी यातायातका साधन सञ्चालन हुँदै आएको छ । सडक सञ्चालनमा आइएपछि हालसम्म यो सडकको स्तरोन्नती नहुँदा स्थानीयले सास्ति झेल्दै आएको यसै मार्गमा यात्रु बहाक बस सञ्चालन गर्ने यातायात व्यवसायी जलाल खान बताउँछन् ।
‘बिगत १८ वर्षदेखि डुम्रेबाट पोखरीछापसम्म यात्रु बहाक बस सञ्चालन गर्दै आएको छु, पहिला दैनिक दुइ वटा यात्रु बहाक बस सञ्चालन हुँदै आएको थियो भने बिगत केही महिनादेखि दैनिक एउटा मात्र बस सञ्चालन गर्ने गरेका छौ’, उनले भने, ‘पहिला त यो बाटोमा सवारी चलाउन सहज थियो तर अहिले सडकको स्तारोन्नती हुन नसक्दा निकै सास्ति झेल्नुपरेको छ । चन्द्रवातीबाट पोखरीछाप पुग्न पनि नसकिने गरी अहिले सडक बिग्रिएको छ ।’
‘वर्षायाममा हिलो र हिउँदमा धुलोको नियती त हामीले झेल्दै आएका छौं’, यातायात व्यवसायी खानले भने, ‘गत आइतबार रातीदेखि परेको झरीका कारण अहिले त यो बाटोमा गाइवस्तु समेत हिड्न नमिल्ने गरी भत्किन पुगेको छ । अब यो बाटो कहिले र कस्ले बनाउँछ – यसै भन्न सकिने अवस्था छैन ।’
मनसुन सुरु भएलगत्तै परेको पहिलो दिनकै पानीले सडक कामै नलाग्ने गरी भत्किन पुगेकाले तत्कालै भत्किएको सडक मर्मत सुधार गरी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्माण पक्षले प्रतिवद्धता जनाएको पूर्वाधार विकास कार्यालय तनहुँकी इन्जिनियर मिश्रले बताइन् । उनले भनिन्, ‘निर्माण पक्ष र स्थानीय केही व्यक्तिहरु सोमबार कार्यालयमा आएर बाढीले भत्काएको सडक तत्काल ग्रावेल हालेर मर्मत गर्ने र बाढी कटाउनका लागि ठाउँठाउँमा अस्थायी नालि निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।’
यस्तै, सडक यो अवस्थामा पुग्नु राजनीतिक दलका नेताहरुको पनि कम्जोरी भएको स्थानीय उपभोक्ताहरु बताउँछन् । चुनावका समयमै तत्कालै सडकको स्तरोन्नती गर्र्छौ भन्दै भोट माग्छन तर बाटो किन समयमै बनेन् – ठेकेदारले किन लापरवाही गरेको छ – भन्ने विषयमा कुनै पनि नेताहरुले चासो नदिएको र नगरपालिकाले पनि सडकको कामको अनुगमन नगरेको उपभोक्ताको आरोप छ ।
भानु मार्ग हुँदै गण्डकी प्रदेशकै नमुना समुदायीक होमस्टेका रुपमा विकास भएको टुटेपानी सामुदायिक होमस्टे जाने गरिन्छ । सडकको स्तरोन्नती नहुँदा यस होमस्टेमा सहजै पाहुना पुग्न नसक्ने अवस्था भएकाले हामस्टे सञ्चालकहरुले छिटो सडक निर्माण गरिदिन हारगुहार गर्दै आएपनि अहिलेसम्म कुनै सुनवाइ हुन सकेको छैन ।
यसै मार्ग हुँदा जिल्लाकै दोश्रो अग्लो पहाड मिर्लुङकोट, शहीदको गाउँका रुपमा परिचित पुलिमराङ लगायतका ऐतिहासिक, धार्मिक, प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्न जाने बाटोको अवस्था नाजुक बन्दै गएको छ ।
त्यस्तै, अधुरो सडक खण्डको निर्माणको जिम्मा आफुले लिएको निर्माण व्यवसायी संगम खड्काले गत माघ १२ गते बताएका थिए । पुनः यो समाचार तयार गर्दा उनको मोबाइलमा पटक पटक फोन गरिएपनि उनले फोन भने उठाएनन् ।
कामको जिम्मा लिदा उनले भनेका थिए, ‘सडक खण्ड कालोपत्रे, नाला निर्माण लगायतको काम गर्न सम्झौता गरेको शंकरमाली कन्ट्रक्शनले कोभिड-१९ लगायतका समस्याका कारण समयमै काम अगाडि बढाउन नसकेको बताएकाले अहिले सुरुवाती चरणबाटै निर्माणको काम गर्ने प्रक्रियामा अगाडि बढेको छु ।’
‘सडक कालोपत्रे गर्ने कामको जिम्मा तीब्र गतिमा अगाडि बढाउने तयारीमा छु’, उनले भने, ‘यस अगाडिका निर्माण कम्पनीसंग भएको कारोवारको हिसावकिताब उहाँहरु आफैले मिलाउने गरी वडाअध्यक्ष सहितको रोहवरमा सहमति भएको छ । सडक निर्माण कार्यमा स्थानीयबाट कुनैपनि बाधा अवरोध नगर्ने गरी सहमति भएकाले अबका केही दिनमै कामलाई तीब्रता दिने तयारीमा छु ।’
उक्त खण्डमा उनले भने अनुसार अहिले काम हुन सकेको छैन । सडक सिमालाई चौडा बनाउने काम बाहेक अन्य थप काम नभएको सो मार्गमा यातायात सञ्चालन गर्दै आएका व्यवसायीहरुले बताएका छन् । हिउँदको समयमा जनतेन यो सडकमा सवारीसाधान सञ्चालन भएपनि अब वर्षाको समयमा यातायातका साधान सञ्चालन गर्न नसकिने गरी सडक बिग्रिएको व्यवसायीहरुले बताएका छन् ।










