तनहुँ समाज हङकङद्वारा बाढीपिडीतलाई रु १५ लाख ५५ हजार सहयोग

तनहुँ : भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि तनहुँ समाज हङकङले रु. १५ लाख ५५ हजार सहयोग गरेको छ ।
तनहुँलगायत विभिन्न जिल्लाबाट हङकङ पुगेर कर्मथलो बनाएका नेपालीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको समाजका अध्यक्ष कर्णबहादुर नेपालीले जानकारी दिए ।
बाढीका कारण देशवासीले भोग्नुपरेको विषम परिस्थितिमा सहयोगका लागि हातेमालो गर्ने सम्पूर्ण तनहुँवासी तथा गैरतनहुँवासीप्रति अध्यक्ष नेपालीले धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा समेत विपद्को समयमा एकजुट भएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राहत रकम कोषमा जम्मा गरिएको विषयमा समाजको प्रतिनिधिमण्डलले हङकङस्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयमा समेत जानकारी गराएको छ ।
समाजका निवर्तमान अध्यक्ष तेज गुरुङ, उपाध्यक्ष सुवित गुरुङ, पूर्वसल्लाहकार टेकबहादुर गुरुङ, कोष संयोजक भोज आले, कार्यसमिति सदस्य विष्णु थापा, तनहुँ समाज हङकङ महिला विभागकी उपाध्यक्ष अरुणा आले तथा आजीवन सदस्य रामबहादुर आले र प्रतिक सार्कीको प्रतिनिधिमण्डलले महावाणिज्यदूतावासमा जानकारी गराएको उपाध्यक्ष सुवित गुरुङले बताए ।
समाजले विपद्को समयमा आर्थिक सहयोग जुटाएर मातृभूमिमा रहेका प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम संकलन गरेको जनाएको छ ।










