देउराली नगर वधशाला स्थल परिसरमा वृक्षारोपण
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-३ पुलचोक देउराली नगरस्थित बधशाला स्थल क्षेत्रमा वृक्षारोपण गरिएको छ । व्यास नगरपालिका, डिभिजन बन कार्यालय तनहुँ र पुलचोक टोल विकास संस्थाको संयुक्त आयोजनामा मंगलबार वृक्षारोपण कार्यक्रम गरिएको हो ।
वृक्षारोपण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले नगरपालिकाले नगर भित्र हरियाली कायम गर्न खाली ठाउँमा वृक्षारोपण गरेको जानकारी दिए । वृक्षारोपणलाई अभियानकै रुपमा सञ्चालन गरिएको सिग्देलले बताए । वृक्षारोपणसँगै रोपिएका बिरुवालाई हुर्काउन बढाउन पनि नगरपालिका लागि पर्ने उनको भनाइ थियो ।

बधशाला स्थलको वरपर रहेको खाली स्थानमा विभिन्न प्रजातिका ३५ वटा बिरुवा रोपिएको सहायक वन अधिकृत नारायण कोइरालाले जानकारी थिए । हरियाली प्रवर्द्धन गर्न तथा बधशाला वरपरको वातावरण स्वच्छ राख्न बुल्दी खोलाको छेउमा म्याङगो स्टिक, असारे, गुलमोर लगायत अन्य फुलको बिरुवा रोपिएको कोइरालाले जानकारी दिए ।
सो वृक्षारोपण कार्यक्रममा व्यास नगरपालिका वडा नं ३ का अध्यक्ष अनुप राना, वडा सदस्य दधिराज घिमिरे, व्यास नगरपालिकाका सरसफाई शाखा प्रमुख कृष्णराज घिमिरे, नासु भाग्यशाली ढुंगाना, टोलबिकास संस्थाका पदाधिकारी तथा सदस्यहरु र स्थानीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।











