गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी, ५ असार स् गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य जितप्रकाश आले मगरले बजेट यथार्थपरक नभई बढी नारामा आधारित रहेको बताउनुभयो । बजेट तथा कार्यक्रम कार्यान्वयनमुखी हुनुपर्ने उहाँको भनाइ छ । रोजगारी र आयआर्जनका गतिविधि बढ्ने गरी बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने प्रदेशसभा सदस्य आले मगरले बताउनुभो । प्रदेशको समृद्धिका मुख्य आधारका रुपमा रहेका कृषि, पर्यटन र उद्योगलाई बजेटले प्राथमिकता दिन नसकेको उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य देवका पहाडी त्रिपाठीले बजेट सन्तुलित र विकासमुखी रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले पुँजीगत खर्च क्षमता बढाउनुपर्ने बताउनुभयो । उहाँले बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएपनि सरकारले लगानी प्रवद्र्धन, उद्यमशीलता, रोजजागरी सिर्जना, नवप्रवर्तनलगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको बताउनुभयो ।

प्रदेशसभा सदस्य सुशीला सिम्खडाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाको विदेश पलायनलाई रोक्नुपर्ने बताउनुभयो । प्रदेशलाई समुन्नत र आत्मनिर्भर बनाउन आन्तरिक आय वृद्धिमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य सुधिरकुमार पौडेलले बजेटको सफलता यस कार्यान्वयनमा निर्भर रहने बताउनुभयो । उहाँले युवाहरुलाई कृषि पेशाप्रति आकर्षिक गर्ने गरी ‘रिटर्न टु भिलेज’लगायत कार्यक्रमलाई बजेटमा समेटिनु सकारात्मक पक्ष रहेको बताउनुभयो । नीति तथा कार्यक्रममा समावेश कतिपय योजना बजेट नपरेको उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य गणेशमान गुरुङ, श्यामराजा महत, भोजराज अर्याललगायत बजेटमाथिको छलफलमा भाग लिनुभएको थियो ।

आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य दमयन्ती रुचाल, राजकुमारी भुजेल, सरस्वती गुरुङ, सिताकुमारी सुन्दासलगायत समसामायिक विषयमा आफ्ना धारणा राख्दै प्रदेशसभा र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker