व्यासको फोकसिनको वन, वाराही मन्दिर र चुँदेर

देव बस्न्यात

कामले थकित मनहरु आरामको खोजी गर्दछ । भिडमा दोडिएका गोडाहरु एकान्त स्थलको खोजी गर्दछ । यही खोजीको सन्दर्भमा ऐतिहासिक, धार्मिक, प्राकृतिक सौन्दर्यताले परिपूर्ण स्थलहरुको दर्शनका लागि नयाँ नयाँ स्थानहरुका अनुभव लिन मनहरु नयाँ गन्तब्यका स्थानहरु खोज्न पुग्दछ । हामीलाई पनि त्यस्तै बनायो । गलेखामकोटको अध्ययन अनुसन्धानका विषयहरु रोचकमय बन्दै गए। जाडोमा बेसीको र गर्मीमा शिखरको बास हाम्रो समाजको पुरानो शैली र पुरानो परम्परा हो । यसैले नेपालको अधिकाँश स्थानहरु उभौंली र उधौंलीका घटनाहरु प्रत्येक वर्ष दोहोरी रहेका हुन्छन् । यस्तै यस्तै परम्पराले पुराण र इतिहासका कालखण्डहरुका पाठहरु अध्ययन गर्दा फोक्सिनको वन रहस्मय छ भने अनुमान थियो ।

आज भन्दा पाँच हजार वर्ष पहिले पाँच पाण्डवहरुका कुल पुरोहित धौम्य ऋषिको तपोभूमि यही साँगे फाँट स्थितको धुवाउने ढुङ्गा भेटिनु अनौठो संयोग मिलेको छ । यसैगरी श्रीमद्देवी भागवतमा उल्लेख गरिएका चेदी देशका राजा उपरीचरवासुले ऐरा (सिकार-चेदीऐरा) खेल्ने द्वैतवनहरु कतै मादीवारीको सपनकोट, चुँदेर र फोकसिनको संयुक्त वन र मादीपारीको क्यामिनका वनजंगलहरु नै हुन् कि भन्ने छिनोफानो गर्ने ठाउँहरु भेटिन सकिन्छ कि भन्ने उद्देश्यका साथ भ्रमण गर्ने तय गरियो। एकसाथ पुराण र इतिहाँसका विषयमा नयाँ नौला कुराहरु पाउन सकिन्छ भन्ने उत्सुकता नभएको होइन । कथंकदाचित पौराणिक र ऐतिहासिक मेल खायो भने पनि नौलो पन नहुने विश्वासका साथ व्यास-५ कन्टारका डा. विद्युतकेशरी न्यौपानेसंगै दमौली-साँगे मार्ग हुँदै गन्तब्य तर्फलागियो ।

सपनकोटको वन जाने योजना बनाएको भए हामी रानीटारी नजिकको बाह्रबिसे बजार पुगेर बायाँ तर्फो श्याम्घा क्रियापानी जाने बाटो छोडेर शिःसाघाट जाने मोटरबाटो पास गर्ने भञ्ज्याङ हुँदै ठाँटी पुग्नु पर्दथ्यो । त्यही ठाँटी पश्चिमको वनलाई सपनकोटको वन भन्ने गरिन्छ । सपनकोटको चार किल्ला कती हो हाल यसै भन्न सकिंदैन । तथापि बाह्रबिसे दायाँ तर्फो सपनकोट, चुँदेर, फोकसिनदेखि साँगेपत्यानी दरगाउँसम्मको थुम्का सापनकोट वनको चारकिल्ला भित्र पर्दछ भन्ने लाग्यो । तर हामी बाह्रबिसे नपुगी शेराफाँटमा झरियो । व्यास ५ कै साँगेको शेराफाँट निवासी सन्तबहादुर कुमाल र गंगा बहादुर रानासंग भेट भएपछि हामी सँगसँगै फोकसिन वनतर्फयात्रा गर्‍यौं ।

शेराबाट करिब ३० मिनेटको उकालो चढाइ पछि हामी फोकसिन गाउँ नजिकको फोकसिन वाराही मन्दिर पुग्यौं । हरेक वर्षो फागुन महिनाको पञ्चमी तिथिका दिन फोकसिन वाराहीको पूजाआजा हुने परम्परा रहेछ । यहाँको वाराही मन्दिरको पूजा व्यवस्थापनका लागि कुनै स्थानीय निकाय तथा गुठी संथानले पूजा खर्च उपलव्ध नगराउने भएकाले शेरा, रानीटारी, सँगेका मानिसहरु आपसमा मिलीजुली सर्दाम उठाएर पूजाआजा गर्ने प्रचलन रहेछ । आँधीबेहरी तथा आगालागिबाट जोगिन र पूजाको समयमा बस्न र पूजाका प्रसाद तयार गर्नका लागि यहाँ ठाँटी बनाइएको छ । मन्दिरको नजिकै पानीको मूल पनि छ । त्यही पानीलाई अलि तल लगेर जलकुण्ड अर्थात पोखरी बनाइएको हुन पर्दछ ।

हुन त हरेक वाराही मन्दिरको वरपर जलकुण्ड रहने रजबाम तथा कत्ले माछाहरु पौडी रहेको दृष्य देख्न पाइन्छ तर व्यास ५ स्थित घुटुक्दी वाराही मन्दिर र व्यास ५ कै फोकसिन वाराही मन्दिरको प्राङ्गढमा जलकुण्ड र पौडीरहेका माछाहरुको दृष्य देख्न पाईएन । फोकसिनको गाउँ मानव वस्ती रहित भएपछि यहाँको वाराही मन्दिरमा नियमित पूजा हुने अवस्था देखिएन। सायद मन्दिरसँगैको कुवाबाट बगेर गएको पानीबाट बनेको पानीपोखरी पनि कालान्तरमा पुरिंदै गयो । पानीपोखरी पुरिएपछि यहाँ रहेका रजबाम र माछाहरु रहने कुरै भएन। वाराहीमाईको मन्दिरसंगै यहाँ नागको मन्दिर पनि रहेको देखिन्छ । एकपटक वाराही मन्दिरमा वाराहीमाईलाई बलि अर्पणगर्दा भूलबस बलिको रगत नागको शिरमा पर्न जाँदा फोकसिनको गाउँमा अप्रत्यासित ठूलो दुर्घटना घटेको सुन्नमा पाइन्छ ।

सपनकोट र चुंदेर पनि गलेखामकोटको अभिन्न अंग थिए । चुँदेरको चिरे थुम्का गलेखामकोट जस्तै गोलडाँडा थियो । यही चुँदेरको चिरे थुम्कामा रातो कलेजी र पहेंलो फूलफुल्ने एक प्रकारको चुनेरी फूल पाइन्थ्यो । चुनेरी फूल पाइने स्थान भएकाले यहाँकी देवीलाई चिरीमाई भन्ने गरिएको हो । यो चिरी थुम्कामा राजा चक्रधर रानाको हिउँदे दरवार रहेको अनुमान गर्न सकिन्छ । दरवारसंगै चिरेमाइको मन्दिर पनि थियो । कृषि पेशामा संलग्न भूसालथरका मगर र अन्य थरका मानिसहरु संयुक्त मिलेर अन्नबालीमा बाँदर नपल्किउन, झुसिलकिरा नलागुन, असिना पानी र खडेरीले बालीमा क्षती नपुगोस भनेर हरेक वर्षको चैत्रशुक्ल पूर्णिमाको दिन चिरीमाईको सामुहिक पूजा गर्ने प्रचलन छ भने चिरे थुम्काको फेदमा बाजे-बज्यैको पूजा गर्ने प्रचलन पनि भेटिन्छ ।

श्याम्घा निवासी अमाली धनञ्जय न्यौपाने र यहाँको हर्कमणि चुमी बीचको वन मुद्दाको ऐतिहासिक कथा हरेक व्यक्तिका मुखमा मुखाकार भएको भेटिन्छ । तिनै धनञ्जय न्यौपाने अन्यायको विरुद्धको लडाइमा न्याय नमिल्दा १२ वर्ष जेल संजाय भोगेका थिए । श्री ३ चन्द्रशमशेरले गल्तीको माफपाउँ भनि सकार्न लगाउँदा नगरेको गल्तीको माफी माग्ने चलन छैन भनि चन्द्रशमशेरलाई धनञ्जय न्यौपानेले भन्दा आफ्नो अपमान गरेको सम्झेर श्री ३ चन्द्रशमशेरले पुनः २ वर्षथप जेल संजाय दिएको र जेल सँजाय भोग्नु परेको तितो यथार्थ पनि यहीं भेटिन्छ। सुर्केडाँडादेखि, मानेचौतारा, भञ्ज्याङ, फोकसिनको वन, जुगे खोल्सी, रानीपहाड, दमदमे उभिंदा याम्दी खोला मादीमा समाहित हुन पुगेको देखिन्छ । -श्रोत ः चुंदेर-तनहुँको फूलवारी-धर्मराज थापा)

फोकसिन करिव करिव ५०/६० घरधुरी भएको बस्ती थियो । फोकसिन र चुँदेरमा मगरहरुको घना आवादी रहेको ठाउँहरु हुन् । जहाँ ५०/६० घर मगरहरुको र २०/२५ घर क्षेत्री, बाहुन र दलित लगायतका जातजातिहरुको बसोबास रहेको पाउँदछौं । मगरबाहुल्य गाउँ भएकाले समय समयमा यहाँ रोदीका साथसाथै कौरा, सोरठी र घाटुनाच पनि हुन्थ्यो । एकपटक फोकसिनको गाउँमा यहाँका दाजुभाइहरु मिलेर आफ्ना दिदीबहिनीहरुलाई घाँटुनाच नचाइ रहेका थिए । फोकसिन वाराहीलाई चढाएको बलिको बोकाको रगतका छिटाहरु नागदेवताको शिरमा परेका कारण फोकसिनमा ठूलो आँधीबेहरी चल्यो । आँधीबेहरीका साथसाथै मुसलधारे पानी पनि पर्‍यो । नाचीरहेका घाँटुसरीहरु त्यही अलप हुँदा भए । घाँटु नचाउने गुरुआमा फोकसिनको वनमै अलप भइन् रे! अलप भएका तीनवटी घाँटुसरीहरु मध्ये जेठी दिदी र भाई चुँदेरको वनमै थानीको रुपमा औत्तिय भने माहिली बहिनी हर्कपुरमा र कान्छी बहिनी फोकसिनको वनमा थानीको रुपमा प्रकट भएको स्थानीयको भनाइ छ । अझै पनि जेठी दिदी, गुरुआमा र भाइलाई चुँदेरका बासिन्दाले पुज्ने गर्दछने भने माहिली बहिनीलाई हर्कपुर निवासीहरुले पुज्दै आएका छन् ।

फोकसिनको गाउँ खण्डहर बनेको छ । यहाँ नियमित रुपमा थानीमाइको पूजाआजा हुन नसकेपनि सालघारी वनको माझमा रहेको थानीमाईको थानमा साँगे, पत्यानी र शेरावासीहरुले पुनः वर्षो एकचोटी पूजाआजा सञ्चालन गर्दै आएका छन् । मगरका अतिरिक्त फोकसिन गाउँमा वाग्ले र गौली परिवारको समेत बसोबास रहेको थियो । पछि उनीहरु फोकसिनबाट पयेंर र पयेंरबाट साँगे शेरामा बसाइ सरेका हुन् । काशीनाथ वाग्लेका वंशधर रबिलाल वाग्ले नाति कुलप्रसाद वाग्लेका छोराहरु केशवराज वाग्ले र रविचन्द्र वाग्ले वि.सं. १९९१ असार १ गते फोकसिनमा जन्मी २००७ साल तिर पयेंर हुँदै शेरा झरेको बताउने गरिन्छ ।

साविक गलेखाम थुमभित्रै मनबहादुर कुमालका वंशधरहरुको बसोबास रहेको थियो। हाल शरामा ४७ भन्दा बढी कुमालहरुको घरधुरी रहेको छ । गलेखाम थुमका १२ थरी मुखियाहरु मध्ये सेराली कुमालहरुले बडा दशैंमा चामल ५ माना र चैतेदसैंमा हाँडी घैंटो, चिलिम, मक्कल धुपौरो र पालाहरु लैजान पर्दथ्यो भने साँगे पत्यानीका दरैहरुले मादीका माछा लैजाने गर्दथे । २०३०/०३२ सालदेखि नेग लैजाने परम्परा बिस्तारै हराउँदै गएको पाउँछौं । आफ्ना खुसीले पूजा गर्ने परम्परा रहेता पनि अहिले अनिवार्य दस्तुरी लान नपर्ने भएको छ ।

हाम्राटोलीका सदस्य सन्त बहादुर कुमाल यही वंशका हुन। गलेखाम, श्याम्घा, हर्कपुर, चुंदेर, साँगेको कोटको रुपमा गलेखामकोटमा राजाको दरवार रहेको थियो । तनहुँका राजा दिग्विजय सेनले गलेखाम माथि युद्धको संखघोष गरे । ७०० गलेखामवासीहरु रातारात झार गए । एकै रातमा मोदी खोलाका ढुङ्गाहरु बोकेर गलेखामकोट दरवारको चारै तर्फपर्खाल लगाइदिए । त्यो समयमा झारगएका गलेखामवासीहरुले मादी खोलाबाट ढुङ्गा बोक्दा झारालीहरुलाई ढुङ्गाहरु गरुङ्गो नभएको महसुस पुस्तान्तरण हुँदै आएको जनश्रुती सुन्नमा पाइन्छ । यतीलेमात्र गलेखामको राज्य थामिने छाँट भएन । अन्ततः गलेखामकोटका राजा चक्रधर रानाले आफु पलायन भइ पराशर क्षेत्रमा आइ मुनी भइ बसेको र केही समय पश्चात मानहुँकोटको थुम्कीमा दरवार बनाइ बसेका थिए ।

चक्रधर रानाले बनाएको दरवार नजिकै बनाइएको घुमाउने घरमा यही मानुङका शिद्धमहर्षि मनुझ्याडी मगर, कास्कीका युवराज्ञी स्वरुपावती शाह, कास्कीका नवयुवराज राज शाह, महर्षि महाहनुको तपोभूमि र कर्मभूमि पर्दछ । तपश्वी शंखे आलेले तपश्या गरी बसेको स्थानीय दामोदर खनाल र दिलबहादुर श्रेष्ठ बताउँछन् ।

उत्तरमा देखिने माछापुच्छ्रे तथा अन्नपूर्ण हिमश्रृंखला, महाभारत पर्वत श्रृंखला, दमौलीको स्वेत सागर, दमौली बजार र सेतीमादी नदी एवं साँगेखोलाहरुले बनाएका उपत्यकाको रमणीय दृष्यहरु फोकसिनको वनबाट प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । साँगे खोलाको ओडारेदेखि सांगे पत्यानीको फाटसम्म खनिएको करिव ८ किलोमिटर लामो चारहजारफाँटको नहरले साँगेफाँटलाई हराभरा बनाएको छ । साँच्चै भन्ने हो भने यो नहर खन्न प्रेरणा दिन मुस्ताङका कृष्णमान शेरचनका पिता हीतमान शेरचन प्रेरणाको श्रोत हुन् स्थानीय रविचन्द्र आचर्य बताउँछन् । शेरचनले उक्त कुलो रानीटारी भन्दा केही तल हर्रि्रसाद ओझाको घर नजिकसम्म आइ पुगेको थियो रे । उनीहरुले पोख्रेलफाँट सिंचाइको लागि कुलो खनेका हुन् भनिन्छ । पछि काम गर्ने कामदार एवं खर्चका अभावले कुलोको काम अधुरो नै रहेको थियो । भलै उनले सुरु गरेको नहर योजना अधुरो रहेपनि पछि नेपाल सरकारले खनेर पूर्णता प्रदान गरेको छ ।

पण्डित कुनामा ओझा र पण्डित थरका बाहुनहरु, नेपालटारका पण्डित र अधिकारीहरु, पयेंरका खनालहरु, शेराका कुमालहरु साँगेपत्यानीका दरैहरु, चुंदेर र हर्कपुरका मगरहरु श्याम्घाको न्यौपाने, काफ्ले, भण्डारी नेवार र दलित समुदायको बसोबास रहेको सपनकोटको सपनाहरु फुल्दै फल्दै जाउन । व्यासनगरको पर्यटनका नव गन्तव्यहरुको सूचिमा फोकसिन वन पनि सुचिकृत होस । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । पिकनिक स्थलका लागि आवश्यक पर्ने पूर्वाधार, पदमार्ग वा मोटरमार्ग निर्माण जस्ता कार्य हुन सकेमा व्यास ५ स्थित फोकसिन आन्तरिक पर्यटनको आकर्ष गन्तव्यका रुपमा विकास हुने पर्खाइमा रहेको छ । आन्तरिक पर्यटन अभिवृद्धि गर्न सकियो भने खण्डहर बन्दै गएको फोकसिन गाउँ पुनः चलायमान बन्न सक्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker