व्यासको फोकसिनको वन, वाराही मन्दिर र चुँदेर
देव बस्न्यात

कामले थकित मनहरु आरामको खोजी गर्दछ । भिडमा दोडिएका गोडाहरु एकान्त स्थलको खोजी गर्दछ । यही खोजीको सन्दर्भमा ऐतिहासिक, धार्मिक, प्राकृतिक सौन्दर्यताले परिपूर्ण स्थलहरुको दर्शनका लागि नयाँ नयाँ स्थानहरुका अनुभव लिन मनहरु नयाँ गन्तब्यका स्थानहरु खोज्न पुग्दछ । हामीलाई पनि त्यस्तै बनायो । गलेखामकोटको अध्ययन अनुसन्धानका विषयहरु रोचकमय बन्दै गए। जाडोमा बेसीको र गर्मीमा शिखरको बास हाम्रो समाजको पुरानो शैली र पुरानो परम्परा हो । यसैले नेपालको अधिकाँश स्थानहरु उभौंली र उधौंलीका घटनाहरु प्रत्येक वर्ष दोहोरी रहेका हुन्छन् । यस्तै यस्तै परम्पराले पुराण र इतिहासका कालखण्डहरुका पाठहरु अध्ययन गर्दा फोक्सिनको वन रहस्मय छ भने अनुमान थियो ।
आज भन्दा पाँच हजार वर्ष पहिले पाँच पाण्डवहरुका कुल पुरोहित धौम्य ऋषिको तपोभूमि यही साँगे फाँट स्थितको धुवाउने ढुङ्गा भेटिनु अनौठो संयोग मिलेको छ । यसैगरी श्रीमद्देवी भागवतमा उल्लेख गरिएका चेदी देशका राजा उपरीचरवासुले ऐरा (सिकार-चेदीऐरा) खेल्ने द्वैतवनहरु कतै मादीवारीको सपनकोट, चुँदेर र फोकसिनको संयुक्त वन र मादीपारीको क्यामिनका वनजंगलहरु नै हुन् कि भन्ने छिनोफानो गर्ने ठाउँहरु भेटिन सकिन्छ कि भन्ने उद्देश्यका साथ भ्रमण गर्ने तय गरियो। एकसाथ पुराण र इतिहाँसका विषयमा नयाँ नौला कुराहरु पाउन सकिन्छ भन्ने उत्सुकता नभएको होइन । कथंकदाचित पौराणिक र ऐतिहासिक मेल खायो भने पनि नौलो पन नहुने विश्वासका साथ व्यास-५ कन्टारका डा. विद्युतकेशरी न्यौपानेसंगै दमौली-साँगे मार्ग हुँदै गन्तब्य तर्फलागियो ।
सपनकोटको वन जाने योजना बनाएको भए हामी रानीटारी नजिकको बाह्रबिसे बजार पुगेर बायाँ तर्फो श्याम्घा क्रियापानी जाने बाटो छोडेर शिःसाघाट जाने मोटरबाटो पास गर्ने भञ्ज्याङ हुँदै ठाँटी पुग्नु पर्दथ्यो । त्यही ठाँटी पश्चिमको वनलाई सपनकोटको वन भन्ने गरिन्छ । सपनकोटको चार किल्ला कती हो हाल यसै भन्न सकिंदैन । तथापि बाह्रबिसे दायाँ तर्फो सपनकोट, चुँदेर, फोकसिनदेखि साँगेपत्यानी दरगाउँसम्मको थुम्का सापनकोट वनको चारकिल्ला भित्र पर्दछ भन्ने लाग्यो । तर हामी बाह्रबिसे नपुगी शेराफाँटमा झरियो । व्यास ५ कै साँगेको शेराफाँट निवासी सन्तबहादुर कुमाल र गंगा बहादुर रानासंग भेट भएपछि हामी सँगसँगै फोकसिन वनतर्फयात्रा गर्यौं ।
शेराबाट करिब ३० मिनेटको उकालो चढाइ पछि हामी फोकसिन गाउँ नजिकको फोकसिन वाराही मन्दिर पुग्यौं । हरेक वर्षो फागुन महिनाको पञ्चमी तिथिका दिन फोकसिन वाराहीको पूजाआजा हुने परम्परा रहेछ । यहाँको वाराही मन्दिरको पूजा व्यवस्थापनका लागि कुनै स्थानीय निकाय तथा गुठी संथानले पूजा खर्च उपलव्ध नगराउने भएकाले शेरा, रानीटारी, सँगेका मानिसहरु आपसमा मिलीजुली सर्दाम उठाएर पूजाआजा गर्ने प्रचलन रहेछ । आँधीबेहरी तथा आगालागिबाट जोगिन र पूजाको समयमा बस्न र पूजाका प्रसाद तयार गर्नका लागि यहाँ ठाँटी बनाइएको छ । मन्दिरको नजिकै पानीको मूल पनि छ । त्यही पानीलाई अलि तल लगेर जलकुण्ड अर्थात पोखरी बनाइएको हुन पर्दछ ।
हुन त हरेक वाराही मन्दिरको वरपर जलकुण्ड रहने रजबाम तथा कत्ले माछाहरु पौडी रहेको दृष्य देख्न पाइन्छ तर व्यास ५ स्थित घुटुक्दी वाराही मन्दिर र व्यास ५ कै फोकसिन वाराही मन्दिरको प्राङ्गढमा जलकुण्ड र पौडीरहेका माछाहरुको दृष्य देख्न पाईएन । फोकसिनको गाउँ मानव वस्ती रहित भएपछि यहाँको वाराही मन्दिरमा नियमित पूजा हुने अवस्था देखिएन। सायद मन्दिरसँगैको कुवाबाट बगेर गएको पानीबाट बनेको पानीपोखरी पनि कालान्तरमा पुरिंदै गयो । पानीपोखरी पुरिएपछि यहाँ रहेका रजबाम र माछाहरु रहने कुरै भएन। वाराहीमाईको मन्दिरसंगै यहाँ नागको मन्दिर पनि रहेको देखिन्छ । एकपटक वाराही मन्दिरमा वाराहीमाईलाई बलि अर्पणगर्दा भूलबस बलिको रगत नागको शिरमा पर्न जाँदा फोकसिनको गाउँमा अप्रत्यासित ठूलो दुर्घटना घटेको सुन्नमा पाइन्छ ।
सपनकोट र चुंदेर पनि गलेखामकोटको अभिन्न अंग थिए । चुँदेरको चिरे थुम्का गलेखामकोट जस्तै गोलडाँडा थियो । यही चुँदेरको चिरे थुम्कामा रातो कलेजी र पहेंलो फूलफुल्ने एक प्रकारको चुनेरी फूल पाइन्थ्यो । चुनेरी फूल पाइने स्थान भएकाले यहाँकी देवीलाई चिरीमाई भन्ने गरिएको हो । यो चिरी थुम्कामा राजा चक्रधर रानाको हिउँदे दरवार रहेको अनुमान गर्न सकिन्छ । दरवारसंगै चिरेमाइको मन्दिर पनि थियो । कृषि पेशामा संलग्न भूसालथरका मगर र अन्य थरका मानिसहरु संयुक्त मिलेर अन्नबालीमा बाँदर नपल्किउन, झुसिलकिरा नलागुन, असिना पानी र खडेरीले बालीमा क्षती नपुगोस भनेर हरेक वर्षको चैत्रशुक्ल पूर्णिमाको दिन चिरीमाईको सामुहिक पूजा गर्ने प्रचलन छ भने चिरे थुम्काको फेदमा बाजे-बज्यैको पूजा गर्ने प्रचलन पनि भेटिन्छ ।
श्याम्घा निवासी अमाली धनञ्जय न्यौपाने र यहाँको हर्कमणि चुमी बीचको वन मुद्दाको ऐतिहासिक कथा हरेक व्यक्तिका मुखमा मुखाकार भएको भेटिन्छ । तिनै धनञ्जय न्यौपाने अन्यायको विरुद्धको लडाइमा न्याय नमिल्दा १२ वर्ष जेल संजाय भोगेका थिए । श्री ३ चन्द्रशमशेरले गल्तीको माफपाउँ भनि सकार्न लगाउँदा नगरेको गल्तीको माफी माग्ने चलन छैन भनि चन्द्रशमशेरलाई धनञ्जय न्यौपानेले भन्दा आफ्नो अपमान गरेको सम्झेर श्री ३ चन्द्रशमशेरले पुनः २ वर्षथप जेल संजाय दिएको र जेल सँजाय भोग्नु परेको तितो यथार्थ पनि यहीं भेटिन्छ। सुर्केडाँडादेखि, मानेचौतारा, भञ्ज्याङ, फोकसिनको वन, जुगे खोल्सी, रानीपहाड, दमदमे उभिंदा याम्दी खोला मादीमा समाहित हुन पुगेको देखिन्छ । -श्रोत ः चुंदेर-तनहुँको फूलवारी-धर्मराज थापा)
फोकसिन करिव करिव ५०/६० घरधुरी भएको बस्ती थियो । फोकसिन र चुँदेरमा मगरहरुको घना आवादी रहेको ठाउँहरु हुन् । जहाँ ५०/६० घर मगरहरुको र २०/२५ घर क्षेत्री, बाहुन र दलित लगायतका जातजातिहरुको बसोबास रहेको पाउँदछौं । मगरबाहुल्य गाउँ भएकाले समय समयमा यहाँ रोदीका साथसाथै कौरा, सोरठी र घाटुनाच पनि हुन्थ्यो । एकपटक फोकसिनको गाउँमा यहाँका दाजुभाइहरु मिलेर आफ्ना दिदीबहिनीहरुलाई घाँटुनाच नचाइ रहेका थिए । फोकसिन वाराहीलाई चढाएको बलिको बोकाको रगतका छिटाहरु नागदेवताको शिरमा परेका कारण फोकसिनमा ठूलो आँधीबेहरी चल्यो । आँधीबेहरीका साथसाथै मुसलधारे पानी पनि पर्यो । नाचीरहेका घाँटुसरीहरु त्यही अलप हुँदा भए । घाँटु नचाउने गुरुआमा फोकसिनको वनमै अलप भइन् रे! अलप भएका तीनवटी घाँटुसरीहरु मध्ये जेठी दिदी र भाई चुँदेरको वनमै थानीको रुपमा औत्तिय भने माहिली बहिनी हर्कपुरमा र कान्छी बहिनी फोकसिनको वनमा थानीको रुपमा प्रकट भएको स्थानीयको भनाइ छ । अझै पनि जेठी दिदी, गुरुआमा र भाइलाई चुँदेरका बासिन्दाले पुज्ने गर्दछने भने माहिली बहिनीलाई हर्कपुर निवासीहरुले पुज्दै आएका छन् ।
फोकसिनको गाउँ खण्डहर बनेको छ । यहाँ नियमित रुपमा थानीमाइको पूजाआजा हुन नसकेपनि सालघारी वनको माझमा रहेको थानीमाईको थानमा साँगे, पत्यानी र शेरावासीहरुले पुनः वर्षो एकचोटी पूजाआजा सञ्चालन गर्दै आएका छन् । मगरका अतिरिक्त फोकसिन गाउँमा वाग्ले र गौली परिवारको समेत बसोबास रहेको थियो । पछि उनीहरु फोकसिनबाट पयेंर र पयेंरबाट साँगे शेरामा बसाइ सरेका हुन् । काशीनाथ वाग्लेका वंशधर रबिलाल वाग्ले नाति कुलप्रसाद वाग्लेका छोराहरु केशवराज वाग्ले र रविचन्द्र वाग्ले वि.सं. १९९१ असार १ गते फोकसिनमा जन्मी २००७ साल तिर पयेंर हुँदै शेरा झरेको बताउने गरिन्छ ।
साविक गलेखाम थुमभित्रै मनबहादुर कुमालका वंशधरहरुको बसोबास रहेको थियो। हाल शरामा ४७ भन्दा बढी कुमालहरुको घरधुरी रहेको छ । गलेखाम थुमका १२ थरी मुखियाहरु मध्ये सेराली कुमालहरुले बडा दशैंमा चामल ५ माना र चैतेदसैंमा हाँडी घैंटो, चिलिम, मक्कल धुपौरो र पालाहरु लैजान पर्दथ्यो भने साँगे पत्यानीका दरैहरुले मादीका माछा लैजाने गर्दथे । २०३०/०३२ सालदेखि नेग लैजाने परम्परा बिस्तारै हराउँदै गएको पाउँछौं । आफ्ना खुसीले पूजा गर्ने परम्परा रहेता पनि अहिले अनिवार्य दस्तुरी लान नपर्ने भएको छ ।
हाम्राटोलीका सदस्य सन्त बहादुर कुमाल यही वंशका हुन। गलेखाम, श्याम्घा, हर्कपुर, चुंदेर, साँगेको कोटको रुपमा गलेखामकोटमा राजाको दरवार रहेको थियो । तनहुँका राजा दिग्विजय सेनले गलेखाम माथि युद्धको संखघोष गरे । ७०० गलेखामवासीहरु रातारात झार गए । एकै रातमा मोदी खोलाका ढुङ्गाहरु बोकेर गलेखामकोट दरवारको चारै तर्फपर्खाल लगाइदिए । त्यो समयमा झारगएका गलेखामवासीहरुले मादी खोलाबाट ढुङ्गा बोक्दा झारालीहरुलाई ढुङ्गाहरु गरुङ्गो नभएको महसुस पुस्तान्तरण हुँदै आएको जनश्रुती सुन्नमा पाइन्छ । यतीलेमात्र गलेखामको राज्य थामिने छाँट भएन । अन्ततः गलेखामकोटका राजा चक्रधर रानाले आफु पलायन भइ पराशर क्षेत्रमा आइ मुनी भइ बसेको र केही समय पश्चात मानहुँकोटको थुम्कीमा दरवार बनाइ बसेका थिए ।
चक्रधर रानाले बनाएको दरवार नजिकै बनाइएको घुमाउने घरमा यही मानुङका शिद्धमहर्षि मनुझ्याडी मगर, कास्कीका युवराज्ञी स्वरुपावती शाह, कास्कीका नवयुवराज राज शाह, महर्षि महाहनुको तपोभूमि र कर्मभूमि पर्दछ । तपश्वी शंखे आलेले तपश्या गरी बसेको स्थानीय दामोदर खनाल र दिलबहादुर श्रेष्ठ बताउँछन् ।
उत्तरमा देखिने माछापुच्छ्रे तथा अन्नपूर्ण हिमश्रृंखला, महाभारत पर्वत श्रृंखला, दमौलीको स्वेत सागर, दमौली बजार र सेतीमादी नदी एवं साँगेखोलाहरुले बनाएका उपत्यकाको रमणीय दृष्यहरु फोकसिनको वनबाट प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । साँगे खोलाको ओडारेदेखि सांगे पत्यानीको फाटसम्म खनिएको करिव ८ किलोमिटर लामो चारहजारफाँटको नहरले साँगेफाँटलाई हराभरा बनाएको छ । साँच्चै भन्ने हो भने यो नहर खन्न प्रेरणा दिन मुस्ताङका कृष्णमान शेरचनका पिता हीतमान शेरचन प्रेरणाको श्रोत हुन् स्थानीय रविचन्द्र आचर्य बताउँछन् । शेरचनले उक्त कुलो रानीटारी भन्दा केही तल हर्रि्रसाद ओझाको घर नजिकसम्म आइ पुगेको थियो रे । उनीहरुले पोख्रेलफाँट सिंचाइको लागि कुलो खनेका हुन् भनिन्छ । पछि काम गर्ने कामदार एवं खर्चका अभावले कुलोको काम अधुरो नै रहेको थियो । भलै उनले सुरु गरेको नहर योजना अधुरो रहेपनि पछि नेपाल सरकारले खनेर पूर्णता प्रदान गरेको छ ।
पण्डित कुनामा ओझा र पण्डित थरका बाहुनहरु, नेपालटारका पण्डित र अधिकारीहरु, पयेंरका खनालहरु, शेराका कुमालहरु साँगेपत्यानीका दरैहरु, चुंदेर र हर्कपुरका मगरहरु श्याम्घाको न्यौपाने, काफ्ले, भण्डारी नेवार र दलित समुदायको बसोबास रहेको सपनकोटको सपनाहरु फुल्दै फल्दै जाउन । व्यासनगरको पर्यटनका नव गन्तव्यहरुको सूचिमा फोकसिन वन पनि सुचिकृत होस । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । पिकनिक स्थलका लागि आवश्यक पर्ने पूर्वाधार, पदमार्ग वा मोटरमार्ग निर्माण जस्ता कार्य हुन सकेमा व्यास ५ स्थित फोकसिन आन्तरिक पर्यटनको आकर्ष गन्तव्यका रुपमा विकास हुने पर्खाइमा रहेको छ । आन्तरिक पर्यटन अभिवृद्धि गर्न सकियो भने खण्डहर बन्दै गएको फोकसिन गाउँ पुनः चलायमान बन्न सक्छ ।










