राष्ट्रिय कविता प्रतियोगितामा ३५ जिल्लाबाट कविता प्राप्त

भञ्ज्याङ समाचारदाता/भानु

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागेको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको हो ।

कविता पठाउने अन्तिम दिन सोमबारसम्म सो कविता प्राप्त भएको समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि ८७ जनाको कविता प्राप्त भएको छ । उक्त कविताहरू असार २८ गते वाचन गरिनेछ । कविता वाचनका लागि प्रतियोगी स्वयं उपस्थित हुनुपर्ने रानाभाटले बताए । विकास समितिले तीन दिनसम्म विविध कार्यक्रम गरी भानुभक्तको जन्मजयन्ती मनाउने तयारी गरेको छ ।

भानुजयन्तीका अवसरमा चुँदीरम्घामा कविता प्रतियोगिता आयोजना गरिएको छ । कविता प्रतियोगिताका लागि नुवाकोट, ओखलढुङ्गा, चितवन, काठमाडौं, कास्की, रुपन्देही, तनहुँ, सुनसरी, बैतडी, मकवानपुर, बारा, रोल्पा, बर्दिया, झापा, कैलाली, नवलपरासी, खोटाङ, स्याङ्जा, पर्वत, कपिलवस्तु, भक्तपुर, लमजुङ, पाल्पा, सिन्धुपाल्चोक, गोरखा, इलाम, सिराहा, धनुषा, नवलपुर, रामेछाप, ताप्लेजुङ, अछाम, ललितपुर, दोलखा र गुल्मीबाट सहभागीले कविता पठाएका छन् ।

प्रतियोगितामा प्रथमलाई रु २० हजार, द्वितीयलाई रु १५ हजार, तृतीयलाई रु १० हजार र सान्त्वना हुने दुइ जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार वितरण गरिनेछ । कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, युनिकोडमा टाइप गरेको हुनुपर्ने, कविता कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनैतिक आक्षेप लगाउने किसिमको हुन नहुने जनाइएको छ ।

भानुजयन्तीका अवसरमा असार २७ गते स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरि, भानुभक्तको सालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

विसं १८७१ असार २९ गते भानु नगरपालिका-४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानुजयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदा दिएको छ । मोतिराम भट्टले भानुभक्तलाई नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker