दमौलीको भादगाउँमा मादीनदी लिफ्ट खानेपानी आयोजना निर्माण कार्य ढिलाइ

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा निर्माण हुँदै गरेको मादीनदी लिफ्ट खानेपानी आयोजना एक वर्ष ढिलाइ भएको छ । निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा सम्झौता गरेको एक वर्ष बित्दा पनि आयोजनाको काम पूरा हुनसकेको छैन । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए ।
उनका अनुसार रु २६ करोड २५ लाख आयोजनामा २७ प्रतिशत घटिघटाउ बोलपत्रमा गई रु १९ करोड लागतमा आयोजना निर्माण अघि बढाइएको हो । व्यवस्थापक श्रेष्ठले भने, “आयोजनाको निर्माणकार्य ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भोग्नुपरेको छ, अबको तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”
व्यास नगरपालिका–४ चुरेखोल्सीस्थित मादीनदी किनारबाट करिब पाँच किलोमिटर दूरीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको हो । मादीबाट ल्याइएको पानी व्यास–१ स्थित अमिलीभञ्ज्याङमा चार लाख र सोही वडाको भदु्रडाँडामा ५० हजार गरी चार लाख पचास हजार लिटर क्षमताको गरी दुईवटा ‘रिर्जभ’ ट्याङ्कीमा पानी संकलन गरी वितरण गरिने सो संस्थाले जनाएको छ । संस्थाका सचिव राजेश्वर हड्खलेका अनुसार संस्थाले ट्याङ्की निर्माणका लागि दुई रोपनी जग्गा खरिद र करिब तीन रोपनी सार्वजनिक जग्गा गरी करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याई आवश्यक भौतिक संरचना निर्माण गरिरहेको छ ।
उक्त मादीनदी लिफ्टबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमताको रहने बताइएको छ । पानी संकलनका लागि फिल्टर प्लान्ट र मुख्य प्लान्ट निर्माणकार्य यसअघि नै सम्पन्न भइसकेको छ । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुई हजार छ सय बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।
व्यास नगरपालिका–१३ स्थित करादी खिरखादी मुहानबाट करिब १३ किमी लामो दूरीबाट ल्याएको खानेपानी आपूर्ति हुँदै आएको छ। संस्थाले हाल प्रतिसेकेण्ड १७ लिटर पानी संकलन गरी व्यास–१ का २५ टोल र व्यास–१२ को एक टोलका उपभोक्तालाई वितरण गर्दै आएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए ।
उनका अनुसार यस क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानीको स्रोतले धान्न नसकेपछि वैकल्पिक खानेपानीको रूपमा मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण अघि बढाएको हो । उक्त आयोजनाअन्तर्गत ५२ किमी दूरीमा शाखा पाइप लाइन बिछ्याइने कार्य सकिएको छ । उनले भने, “मुख्य पाइप लाइनका केही स्थानमा पाइप बिछ्याउने कार्य भइरहेको छ, निर्माणकार्यलाई तीव्रता दिइएकाले छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ ।” संस्थाले हाल दुई हजार ६८० घरमा पानी वितरण गर्दा २१ हजार बढी उपभोक्ता लाभान्वित हुँदै आएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker